|

बुटवल : प्रदेश-५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी कर्मचारीहरुको कार्यशैलीप्रति दुःखेसो पोखेका छन्। बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कर्मचारीमा पुरानै सोंच हावी रहेको भन्दै तालिम दिन आवश्यक रहेको औँल्याए।

‘संविधानले अहिले तीनवटा तहका संरचनामात्रै चिन्छ, अरूलाई चिन्दैन, कर्मचारीहरू अनेक वहानामा अल्झाउन खोजिरहेका छन्', उनले भने–'मुख्यसचिवदेखि सचिव, सहसचिव, उपसचिवसम्मका कर्मचारीहरू सकेसम्म प्रदेश सरकारबाट टाढै रहन खोजेका छन्, आफूभन्दा जुनियरलाई पठाएर उम्किन खोजेका छन्।’

उनले दक्ष र अनुभवी कर्मचारीलाई प्रदेश सरकारमा पठाउन संघीय सरकारलाई आग्रह गर्दै भने ‘यी सचिव र उपसचिवहरूले देश खत्तम पारे, आफू आउन नखोज्ने र जो जुनियर छ, जोसँग अनुभव छैन, उसैलाई पठाउने र आफू केन्द्रमै बस्न पाइयोस् भन्ने सोंच हटाउनुपर्छ।’

मन्त्री केसीले प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको उल्लेख गरे। ‘सिद्धार्थ राजमार्गको सिद्धबाबामा हामीले यसै वर्ष पहिरो रोक्ने वा केही गरी सुरक्षित बनाउने काम गर्न खोजेका थियौं, संयन्त्रै छैन, काम गर्ने एजेन्सी नै काम गर्न तयार छैनन्, एकदमै कमजोर रहेछन्, अनि कसरी काम हुन्छ?’ उनले भने।

अर्को एक प्रसंगमा मन्त्री केसीले प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड नै बनाएको बताए। मन्त्री केसीले सरकार गम्भीर ढंगले अघि बढेको भन्दै ‘प्रादेशिक विपद् व्यवस्थापन कोष’ निर्माण गरेको जानकारी दिए। ‘कोषको कार्यविधि बनाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ,कोषमा आगामी वर्ष छ करोड रुपैयाँ थप गरिनेछ,' उनले भने।

प्रदेश-५ भित्र पर्ने सबै सम्भावित जोखिमयुक्त क्षेत्रमा राहत र उद्धारका लागि सरकारले मापदण्ड नै बनाएर ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाइ पत्राचार गरिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.