|

'दोलखाको शैलुङ डाँडादेखि राजधानीका गल्लीको यात्रा गर्नुको मुख्य ध्येय  जिन्दगीलाई आममान्छेको सपना जस्तै रंगीन र रहरलाग्दो बनाउने नै थियो', कुराको सुरुवातमै विश्व साइकल यात्री पुष्कर शाहले कुरोको पोयो फुकाए। शाह अतिसामान्य परिवारमा हुर्केका मान्छे हुन्। उनका सपना पनि सामान्य नै थिए, जसलाई आमा र भाइको जिन्दगीको सारथि बन्ने सौभाग्य र जिम्मेवारी थपिएको थियो।

उनलाई एक दिन अनौठो सपना र रहरले कुत्कुत्यायो। पढाइमा सामान्य उनलाई संसार पढ्ने रहर जाग्यो, त्यो  पनि साइकल चढेर। आफ्नै रहर देखेर आफैँ पनि कहिलेकाहीँ गम खान्थे शाह। गरिबीको कारण कतै आफ्नो सपना तुहिने त होइन? भन्ने लागिरह्यो उनलाई। तर संसार घुम्नलाई पैसा होइन, इच्छाशक्ति हुनुपर्छ भन्ने मानासिकताले घच्घच्याउँदै अगाडि बढ्न प्रेरित गर्‍यो। संसार घुम्ने  रहरलाई मूर्त रूप दिन आमाको स्वीकृति आवश्यक थियो। हरेक छोराछोरीले गर्न चाहने कामका लागि आमाबाबुको आशीर्वाद सफलताको पहिलो खुड्किलो हुन्छ भनेर शाह आमासँग स्वीकृति माग्न घर पुगे। जसलाई आमाले राजधानीदेखि घर आउँदा 'बाटो भुल्लास्' भनेर सम्झाइरहन्थिन्। आमाले दिएको सय रूपैयाँ र आशीर्वादका आडमा पुष्कर शाहले-

एघार वर्ष

चार हजार पन्ध्र दिन

दुई लाख एक्काइस हजार किलोमिटर

तीनवटा साइकल

दुई सय सत्तरीवटा टायर

एक सय पन्चानब्बेवटा ट्युब

सत्र सय असी पटक टायर पञ्चर

एक सय चालीसवटा चेन

छब्बीस जोडी प्याडल

चौधवटा हेल्मेट

त्रिपन्न जोडी पन्जा

एक सय चौध जोर साइक्लिङ ड्रेस

एकासीवटा चस्मा

असंख्य जुत्ता, मोजा, घडी, क्यापहरू (उनको पुस्तकमा आधारित)का मद्दतले साइकलमा चढेर अमेरिकाको रक्की माउन्टेनदेखि सहारा मरुभूमिको उखरमाउलो गर्मीको अनुभव गरे। फुटपाथको जिन्दगीदेखि फाइभ स्टार होटलको जिन्दगी बाँच्ने अवसर पाए। संसारका सातै आश्चर्यलाई नजिकबाट नियाल्ने अवसर मिल्यो उनलाई। समग्रमा विश्वका फरक फरक भौगोलिक स्थानको समाज, धर्म, संस्कृति र माटोलाई नजिकबाट बुझ्न र छुनसमेत भ्याए शाहले। आफू घुमेका देशहरूको झण्डा र नेपालको झण्डा बोकेर शाह नेपाल फर्किएलगत्तै संसारको सबैभन्दा अग्लो शिखर सगरमाथालाई केही छिन होचो बनाएर आफ्नो रहर पूरा गरे। उनी भन्छन्, 'म एकदमै भाग्यमानी मान्छे रहेछु, जसले संसार देख्यो र आफ्नो देश सकुशल फर्कियो।'

उनको पुस्तक मोह

विश्वका हरेक देशको झण्डा सिलिङमा सजाइएको छ। किताबका र्‍याकमा किताबहरू शान्त भएर बसेका छन्। नेपाली झण्डाले कोठाको शोभा बढाएको छ। यत्रतत्र साइकल यात्रा गर्दा प्रयोग भएका सामग्रीहरू छन् भने विश्व भ्रमणमा पिएका बियरका एक हजार ८३० थरीका बियरका बिर्काहरू अटेसमटेस भएर बसेका छन्।केही दिनअघि उनको निवास नक्साल पुग्दा देखिएको दृश्य हो यो। उनी त्यसबेला डा. विकासानन्दको सफल जीवन पुस्तक पढ्दै थिए।

जिन्दगी सफलता र असफलताको संगम थलो हो भन्दै उनले मुस्कुराउँदै भने, 'अचेल मेरा साथी यिनै पुस्तक हुन्। पुस्तकले कहिले हाँस्न सिकाउँछन्, कहिले रुन त कहिले संयमित हुन सिकाउँदारहेछन्।' पछिल्लो क्रममा सफल तथा असफल जीवन बाँचेका प्रशस्त मान्छेको किताब पढेका छन् उनले। सफल व्यक्तिका किताबले सकारात्मक ऊर्जा दिने र असफल मान्छेको किताबले  जीवनमा नयाँ पाठ सिकाउने उनको बुझाइ छ।

पछिल्लो क्रममा नेपाली साहित्यलाई पनि नजिकबाट नियाल्दै आएको उनले बताए। सरल भाषा र उत्कृष्ट कलाले भरिएका पुस्तक उनको रोजाइमा पर्नेसमेत उनको तर्क छ। भन्छन्, 'गहिरा तथा क्लिस्ट भाषाका पुस्तकले मेरो मन त्यति तान्दैनन्। सायद मेरो बौद्धिकताले नभेटेर पनि हुन सक्छ।' चर्चा र समालोचनाका आधारमा मात्र किताब किन्ने गरेको भन्दै उनले थपे , 'नेपाली साहित्यमा मलाई पुरानो कृति नयाँ क्षितिजको खोज एकदमै  मनपर्ने पुस्तक हो। यस्तै, कर्णाली ब्लुज, सेतो धरतीका कारण पनि नेपाली साहित्यतर्फ म आकर्षित छु।'

विश्वले चिन्यो, देशले चिन्न बाँकी  

१५० भन्दा धेरै देश घुमेर आएपछि उनको रक्तसंचारमा ऊर्जा थपियो। उनी सोच्थे, 'ओहो, संसारलाई जितियो। हिसाब गर्दा संसारलाई साढे पाँच फन्को लगाइयो। संसारका सबै महादेश गुमियो। दुई लाख एकाइस हजार किलोमिटरको दूरी साइकलको मद्दतले नापियो। नेपालको राष्ट्रिय झण्डा सबैभन्दा लामो समयसम्म साइकलमा फहराउँदै विश्वको कुनाकुनासम्म पुगियो। विश्व विजेता बनियो।' राज्यले उनको यो महान् कार्यलाई सम्मान गर्छ भन्ने सोचेका थिए उनले। उनी भन्छन्, 'दिनभर साहुको खेतमा काम गरेको एउटा गोरुले घाँस खान पाउने आशा राख्छ, हो, त्यस्तै आशा थियो मलाई।'

तर त्यस्तो केही भएन। आर्थिक रूपमा सबल हुने सपना देखेको भए उनी  लन्डन, टोकियो, वासिंगटन डिसी, सिड्नी, हङकङ  पलायन हुनसक्थे। कति जनाले  उनलाई आफ्नै देशमा बस्न आग्रह पनि नगरेका होइनन्, तर उनी देश भनेर फर्किए। उनी भन्छन्, 'म त मेरो आमाको हात समातेर उठ्न हिँड्न सिकेको मान्छे, म त यही देशको माटोमा लडिबुडी खेल्दै हुर्केको मान्छे, मलाई नेपाल जस्तो प्रिय कतै लागेन।' धन सम्पत्ति नै मान्छेको सफलताको उचाइ होइन।' उनी एकछिन मौन बस्छन् अनि थोरै मुस्कुराउँदै भन्छन्, 'मलाई मेरी आमाको ओठको मुस्कान, नेपाली जनताले दिएको सम्मान नै जीवनको उच्चतम सफलता हो भन्ने लाग्छ।'

देशको झण्डा बोकेर विश्वको कुनाकुना पुगेका उनलाई राज्यले सम्मान गर्न सकेन, जसको फलस्वरूप उनी आममान्छे जसरी आफ्ना दैनिकीहरू बिताइरहेका छन्। जब मान्छे केही केही कुरामा जानकार छ भने उसले त्यो ज्ञान उपभोग गर्न चाहन्छ।

एउटा मानिस डाक्टर पढेको छ भने उसले अस्पतालमा काम पाउनुपर्ने व्यवस्था सरकारले गरिदिनुपर्छ। यदि राज्यले त्यस्तो व्यवस्था गरिदिएन भने डाक्टरको सर्टिफिकेटको अर्थ र महत्त्व रहँदैन। जो मान्छे जुन कुरामा विज्ञ छ, त्यस पेसा र व्यवसायमा लाग्न सक्ने वातावरण सरकारले गरिदिनुपर्थ्यो। शाहले संसार देखे, विकासका चरम उचाइ देखे। भोक अभाव लडाइँले अस्तव्यस्त देश देखे। मान्छेले मान्छे मारेर मान्छेको मासु खाने देश देखे। जहाँ युद्धले तहसनहस भएका देश देखे। देश कसरी नस्ट हुन्छ र देश कसरी समृद्ध बन्दोरहेछ, त्यसको पनि थोरबहुत अनुभव लिएर शाह नेपाल आए।

उनले संसारका सात आश्चर्यदेखि लिएर विश्वको होचो स्थान र अग्लो स्थान देखेका छन्। उनी यही आफ्नो अनुभव यो देशलाई दिन चाहन्थे। उनलाई सरकारले तक्मा नदिएकामा कुनै गुनासो छैन, न त भत्ता नदिएकोमा नै कुनै गुनासो छ। न त महल नबनाइदिएको गुनासो गर्छन् उनी। तर उनको अनुभवलाई राज्यले कहीँ कतै उपभोग गर्न सक्नुपर्थ्यो। 'मलाई यो देशले नागरिकता दियो। नेपाली हुनुको गौरव दियो। म पनि यो देशलाई आफ्ना अनुभवहरू दिन चाहन्थेँ तर यसप्रति राज्य मौन भयो।' साँच्चै उनको चार हजार पन्ध्र दिनको अनुभव राज्यले उपभोग गर्न सके कति धेरै फाइदा हुन सक्थ्यो होला! 

उनको अन्तिम इच्छा छ- 'यो राज्यले मलाई प्रयोग गरेर पर्यटन प्रवर्द्धन गरोस्। पर्यटन क्षेत्र फराकिलो बनाओस्।' जनसम्पर्कको हिसाबले फुटपाथदेखि पाँच तारे होटलसम्मको अनुभव गरेका छन् उनले। उनले माग्नेदेखि विभिन्न देशका उच्च ओहोदामा रहेका विशिष्ट मान्छेसँग चिनजान गरेका छन्। उनका ती सम्बन्धहरूको आडमा उनी यो देशमा पर्यटनको विकास गर्न चाहन्छन्।

'बाटो हराइँदैन? कसरी गाउँ फर्किन्छस्?

शैलुङको डाँडो र घरको चुह्लो-चौकोमा जिन्दगी बिताएकी शाहकी आमाले सायद संसार शैलुङको डाँडो जस्तै होला भन्ने सोच्थिन्। सानो पनि होइन, ठुलो पनि हैन। जब उनले साइकलमा विश्व भ्रमण गर्ने योजना आफ्नी आमालाई सुनाए। आमाको पतिक्रिया थियो ,'बाटो हराइँदैन? कसरी गाउँ फर्किन्छस्?'

आमाको यही प्रश्नको उत्तर एघार वर्ष लगाएर शाहले दिए- 'यो संसारको कुनै बाटोमा तपाईंको छोरो हराएन। ऊ सकुशल घर फर्क्यो। हिँड्दै जाँदा बाटो आफैँ बन्दै जाँदारहेछन् आमा!'

एउटा आमाको भारी प्रश्नको जवाफ एउटा छोराले एघार वर्षपछि दिँदा आमाको अनुहारमा पोतिएको खुसीको रङ देख्दा स्वयम् इन्द्रेणीले समेत आफूलाई अपूर्ण सम्झ्यो कि!

संसारका सबै आमाहरूको एउटै सपना हुन्छ कि उनीहरूका छोराछोरी असल बनून्। सबैको हाईहाई बनून्। थोरै आमाले मात्र कल्पना गर्न सक्छन् कि आफ्नो छोरो संसार देखेर फर्केला। शाहकी आमा भाग्यमानी रहिछन्, जसले संसारलाई साढे पाँच फन्को लगाएर देशको नाम सगरमाथा जस्तै उच्च राख्न सक्ने आँटिलो छोरो जन्माइन्।

पुस्तकमा मदिरा, युवती यौन

उनको 'संसारलाई साढे पाँच फन्को' पुस्तक २०७१ भदौमा बजारमा यो। यो पुस्तक शाहको १५० देश घुम्दा गरेका अनुभवको संकलित अंश थियो। यस कारण पनि आमनेपालीका लागि उनी र उनको पुस्तकबारे चासोको विषय रहने भइहाल्यो। प्रकाशन भएको एक महिनामा नै उक्त पुस्तकको अर्को संस्करण निस्कियो। शाह भन्छन्, 'यो मेरो पुस्तक होइन, जिन्दगीको महत्त्वपूर्ण दस्तावेज हो भने अबको पिँढीका लागि मार्गदर्शक पनि हो।'

उनको यस पुस्तकभित्र विभिन्न देशका रमाइला, पीडायुक्त, खुसीका क्षणलगायतका अनिगिन्ती किस्साहरू छन्। यस पुस्तकभित्र यौन, मदिरा र युवतीका कुराहरू अत्यधिक धेरै रहेको आरोप उनीमाथि लाग्दै आएको छ। तर यो कुरालाई अलिक फरक तरिकाले बुझ्न उनी सुझाउँछन्। 'मैले यात्राका बारेमा लेखेका एकएक कुरा सत्य हुन्। मैले जे गरेँ, जे भोगेँ र जे देखेँ, त्यही लेखेको छु। म आदर्शको कुरा गर्दिनँ। यात्राका क्रममा नयाँनयाँ अनुभवहरू भए। मैले तिनै अनुभव लेखिदिएको हुँ', उनी भन्छन्, 'मेरा व्यक्तिगत अनुभवमा पीडा छन्, खुसीका क्षण छन्। फाइभ स्टार होटलमा निदाउन नसकेका पल छन्। हो, म व्यावसायिक रूपमा लेखक होइन, मेरो भाषामा कहीँ कतै त्रुटिहरू छैनन् भन्न सक्दिनँ तर मदिरा, युवती र यौन नै प्राथमिकतामा राखेर पुस्तक लेख्यो भन्ने कुरा मिथ्या हो।'

एघार वर्षसम्म संसार घुमेका उनका अनिगिन्ती अनुभवहरूमध्ये केही अनुभव उनको पहिलो पुस्तकमा आइसकेका छन्। उनका कयौँ अनुभव र रोचक प्रसंगहरूको सँगालो निकट भविष्यमै आउने सम्भावना रहेको बताए। उनी भन्छन्, 'लेख्नुपर्ने, सुनाउनुपर्ने र भन्नुपर्ने अनगिन्ती कुराहरू छन्, पहिलो पुस्तकमा जेजे कुरा अटाएनन्, ती कुराहरू म छिट्टै अर्को पुस्तकमा लिएर आउनेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.