|

बारा : महिला हिंसाका घटना बढ्न थालेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण अभियान सुरु गरेको छ। राखेपले महिलाहिंसाको घटनाबाट जोगिन जस्तोसुकै परिस्थितिको डटेर सामना गर्न बाराबाट आधारभूत सिकाइसम्बन्धी तीन दिने प्रशिक्षण सुरु गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालित राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा किशोरीलाई आत्मरक्षा सेल्फडिफेन्स मार्सल आर्ट तालिम प्रदान गरिनेछ। प्रशिक्षणमा स्थानीय सामुदायिक विद्यालयका कक्षा ९ र १० का छात्रा सहभागि छन्। सहभागिलाई कुरुदय सेल्फडिफेन्स मार्सल आर्टका प्रशिक्षक प्रविण श्रेष्ठ र रण बहादुर तामाङले प्रशिक्षण दिनेछन्।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेले महिलाहिंसाका घटनामा आफूलाई रक्षा गर्न महिलाहरू सक्षम हुनुपर्ने बताइन्। निजगढको उद्योग वाणिज्य सभाहलमा सुरु कार्यक्रमको गमलामा जलशेरचन गरेर उद्घाटन गर्दै उपमेयर लामिछानेले भनिन्–‘खेलकुदको क्षेत्रमा लागेका महिलाहरूलाई कसैले हेप्न सक्दैनन्। त्यसैले महिलाको खेल क्षेत्रमा सहभागिता बढाउन आवश्यक छ।’

मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराले महिलाहरूको जिम्मेवारीको महत्त्वलाई बुझेर सबै क्षेत्रमा महिला सहभागितामा जोड दिइएको बताए। राष्ट्रिय खेलकुद परिषद्का अनुगमन शाखाकी मैया कार्की बस्नेतले महिलाहिंसा न्यूनीकरणका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरिन्। ‘यसले स्वस्थ र अनुशासित नागरिक बनाउन पनि मद्दत पुग्छ’, उनले भनिन्।

बारा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामाले राष्ट्रलाई चिनाउन खेल क्षेत्रमा मेहेनत गरेर लक्ष्यमा पुग्न सकिने बताए। कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य जगतकुमारी अधिकारी, वडा-२ का अध्यक्ष केशव प्रसाद ढोडारी, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार शर्मा दाहाल, कुरुदय सेल्फडिफेन्स मार्सल आर्टका प्रशिक्षक प्रविण श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.