विषादीमुक्त समाज

|

काठमाडौं : राजनीतिक दलका नेता, मन्त्री, तथा उच्च पदस्थ अधिकारीले समृद्ध नेपालका लागि धेरै योजना पस्किसकेका छन्। भलै ती योजना पूरा हुन नसकेका कारण सर्वसाधारणले पत्याउन छाडिसकेका छन्।

समृद्ध नेपालका लागि मुख्यत: कृषि, पर्यटन र जलविद्युतलाई आधारका रूपमा हेरिएको छ। हाम्रा नेताहरूले भन्ने गरेको तर व्यावसायीकरण र आधुनिकीकरणमा ध्यान नदिएको विषय पनि यही हो।

सधैँ कृषि, पर्यटन र जलविद्युतबाट समृद्धिका सपना देखाउने दलका नेताहरू कोही आफू कार्यान्वयन गर्ने स्थानमा नपुगेको बताउँछन् त कोही आफ्नो एक्लो प्रयासबाट सम्भव नभएको तर्क गर्छन्। यद्यपि, सरकारको दिगो नीति र दीर्घकालीन वातावरणबाट नै समृद्ध देशको परिकल्पना हुने हो।

समृद्ध देश स्वस्थ नागरिक सबैको चाहना हो। यस अभियानमा संसारका सबै राष्ट्रहरू लागिरहेका छन् तर नागरिक तहबाट अभियानमा कस्तो सहयोग पुर्‍याउन सकिन्छ भन्ने विषयमा महसुस हुन सकेको देखिँदैन।

आफ्नो आर्थिक अवस्था र जीवनस्तर सुधारका लागि व्यवसाय गर्ने व्यवसायीहरूको योजना सुन्दा पनि कहिलेकाहीँ आश्‍चर्य लाग्न सक्छ। एउटा सामान्य व्यक्ति, जसले आफ्नो मुख्य कर्म पर्यटन व्यवसाय ठान्छ, उसको लक्ष्य देशभर विषादीमुक्त समाज, खाद्य उत्पादन, पाँच वर्षभित्र हरेक जिल्लामा कृषि अर्ग्यानिक फार्मको स्थापना, अर्बौं लगानीको विस्तार, सयौँलाई रोजगारीको सिर्जना छ।

सरकारले अाफ्नाे अभियानमा साथ दिएकाेसमेत संगमकाे दाबी छ। गत अार्थिक वर्षकाे बजेटबाट नै हेरक पालिकामा प्रांगारिक कृषि पर्यटनकाे अभियान याेजना अघि बढेकाेले यसले मुर्तरुप पाउँदा हरेक पालिकामा प्रांगारिक कृषि पर्यटन फर्म हुनेछ।

मैले यो क्षेत्रमा हात हाल्नुअघि मैले भनेका कुरा पूरा हुने हुन् कि होइनन् भनेर विश्‍वास गर्ने आधार थिएन। करिब सात वर्ष अर्ग्यानिक कृषि फर्म नेपालमै नमुनासिद्ध गरेको अवस्थामा मेरा योजना कोरा सपना मात्रै होइनन्

त्यसो त विभागीय मन्त्रीहरू हरेकजसो कार्यक्रममा यस्ता योजना सुनाइरहेका हुन्छन् तर यस्तो सपना बोक्‍ने व्यवसायी हुन्- काठमाडौंको कपनमा २५ रोपनी क्षेत्रफलको डाँडो लिजमा लिएर अर्ग्यानिक कृषि फर्म खोलेर बसेका युवा कृषक पेम्बा शेर्पा (संगम)।

'मैले यो क्षेत्रमा हात हाल्नुअघि मैले भनेका कुरा पूरा हुने हुन् कि होइनन् भनेर विश्‍वास गर्ने आधार थिएन। करिब सात वर्ष अर्ग्यानिक कृषि फर्म नेपालमै नमुनासिद्ध गरेको अवस्थामा मेरा योजना कोरा सपना मात्रै होइनन्', संगमले थाहाखबरसँग भने।

हामी बुधबार कपनमा रहेको उनको फर्ममा पुग्दा उनले आफ्नो टिसर्ट बिछ्याएर मसिना गोलभेँडा टिपिरहेका थिए। 'बजारमा तपाईँहरू ७०/८० रुपैयाँ किलोको टमाटर खानुहुन्छ होला, यी टमाटर मैले २०० रुपैयाँ किलो बेचेको छु', उनले मकै देखाउँदै भने, 'एक घोगा मकै २५ रुपैयाँमा लैजान्छन्।' अर्ग्यानिक सामग्रीको बजार हेरेर अहिले करिब पाँच सय युवा यस्तै काममा लागेको दाबी संगमको छ।

आफूले दिएको प्रोत्साहन र देखासिकीबाट युवाले गरेको प्रयासले नै आफ्नो योजना सम्भव हुने दाबी गर्छन् उनी। पाँच वर्षमा सबै जिल्लामा आधुनिक अर्ग्यानिक कृषि फर्म निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्‍वास यही कारण जागेको उनको भनाइ छ। यो अभियानका लागि उनले नेपाल चेम्बर अफ कमर्सको नेटवर्क समाउने बताउँछन्। उनी चेम्बर अफ कमर्समा कृषि समिति सदस्यसमेत रहेका छन्।

'थप मिहिनेत गर्छु'

त्यहाँ आवद्ध व्यवसायीलाई प्राविधिक र बौद्धिक सहयोग गरेर प्रोत्साहन दिने लक्ष्य राखेका छन् उनले। यसका लागि काम आरम्भ गरिसकेको उनको दाबी छ। 'मैले ७७ जिल्लामै लगानी विस्तार गर्ने होइन, त्यहाँ आवद्ध किसानहरूलाई प्राविधिक र बौद्धिक सहयोग उपलब्‍ध गराउँछु', उनले भने, '६७ जिल्लामा चेम्बर कार्यसमति छ, त्यहाँ हामी अनिवार्य जस्तो गराउँछौँ, थप १० वटाका लागि मैले थप मिहिनेत गर्छु।'

हिमाल, पहाड, तराई गरी करिब पाँच क्षेत्रमा १०० देखि ५०० विगाह जग्गा लिएर फर्म संचालन गर्ने अभियानमा उनी छन्।

आफैँ पनि हिमाल, पहाड, तराई गरी करिब पाँच क्षेत्रमा १०० देखि ५०० विगाह जग्गा लिएर फर्म संचालन गर्ने अभियानमा उनी छन्। यसका लागि सरकारको तर्फबाट नीतिगत सहयोग आवश्‍यक रहेको छ। 'हामीले कृषि गर्नका लागि सहज रूपमा जग्गा पाउनुपर्‍यो, एक दुई वर्षका लागि मात्रै जग्गा लिजमा दिएर भएन १५ वर्षसम्मको यस्तो व्यवस्था सरकारको तर्फबाट हुनुपर्छ', संगमले भने।

उनले राखेका यी योजना सुन्दा अचम्म लाग्न सक्छ तर विगतलाई फर्किएर हेर्ने हो भने केही हदसम्म पूरा गर्ने अपेक्षा लिन सकिन्छ। उनी २३ वर्षदेखि पर्यटन क्षेत्रमा छन्। अहिले उनको परिचय अर्ग्यानिक कृषक अभियन्ताको रूपमा रहेको छ। कुनै समयमा नेपाल घुम्‍न आउने पर्यटकका झोला बोकेर हिमाल चढ्ने उनी पर्यटन व्यवसायी हुँदै अर्ग्यानिक कृषि पर्यटनका अभियन्तासमेत बनेका छन्।

सुन्दा अचम्म लाग्न सक्छ कि काठमाडौंभित्रको एउटा त्यस्तो क्षेत्र, जहाँ अर्ग्यानिक खाने कुरा जुनसुकै स्थानमा उत्पादन भइरहेको छ। धान, मकै, गहुँ, आलु, भटमास तरकारीलगायत।

कपनको सिंगो डाँडो लिएर अर्ग्यानिक खेती गर्छु र होटल चलाएर मेरोमा आउने जो कोहीलाई अर्ग्यानिक खाना मात्रै खुवाउँछु भन्दा उनलाई खिसिटिउरी गर्ने थुप्रै थिए। अर्ग्यानिक कृषि फर्मका लागि जम्मा २५ लाख रुपैयाँ लगानी विस्तार गरेका उनले अहिले आफ्नामा आउने दैनिक २० जनालई करिब १० देखि १५ थरीका सागसब्जीसहितको अर्ग्यानिक खाना खुवाउन सक्छन्। सबै आफैँले उत्पादन गरेका अर्ग्यानिक कृषि सामग्री उनले पाहुनालाई पस्कन्छन् भने आफूकहाँ उत्पादन नहुने फलफूलहरू भने आफू जस्तै अर्ग्यानिक कृषि गर्ने कृषकबाट लिने गरेका छन्।

आफ्नो फर्ममा उत्पादन भएको काक्रो टिप्दै संगम अर्ग्यानिक सानो जातको टमाटर टिप्दै संगमकी आमा धानको बिउ गोड्दै महिला। बिना बिषादी मलको प्रयोग। आफ्नै उत्पादनबाट तयार पारिएको अर्ग्यानिक खाना

सागको सलाद नेपालमा आफैँ सुरु गरेको दाबी गर्ने संगमले आफ्नोमा एक पटक आउने विदेशी अर्को पटक नेपाल आउँदा नबसी नजाने दाबी गर्छन्। आन्तरिक पर्यटक वृद्धिभन्दा एक पटक आउने पर्यटकले कम्तीमा एक महिना/दुई महिना बिराएर पुन: आउने प्रयास गरेका बताउँछन् उनी।

वार्षिक २० मुरी धान

२०७२ सालको भूकम्पअघि आफ्नो अर्ग्यानिक फर्म हाउसमा घुम्न आउनेहरूबाट शुल्कसमेत उठाउने गरेका उनले अहिले भने त्यो शुल्क उठाएका छैनन्। 'घुमाउने र चिनाउने क्रममा आफ्नो पनि समय जाने भएका कारण कम्तीमा केही शुल्क लिनुपर्छ भनेर शुल्क उठाउने गरेको थिएँ, भूकम्पपछि शुल्क उठाउन छोडेँ, अब फेरि शुल्क लगाउने सोचमा छु', संगमले भने।

उनको दाबी छ, 'मेरो फर्ममा डिएपी, युरिया मात्रै होइन, विषादीयुक्त सामग्री लेखेको कागजसमेत देख्न पाउनुहुन्न।' स्याउला र गाई-भैँसीको गहुँत र गोबरबाट उनले आफ्ना कृषि उपजलाई मल पुर्‍याएका छन्।

वार्षिक २० मुरी धान उत्पादन गर्छन्। त्यो धान चामले भने उनले नबेचेर आफ्नो परिवार र त्यहाँ आउने ग्राहकलाई मात्रै खुवाउने गरेका छन्। साथै दैनिक ६० केजी अर्ग्यानिक तरकारी भाटभेटेनीमा बेच्छन् भने साताको तीन दिन आफ्नै फर्म हाउसबाट स्थानीयलाई अर्ग्यानिक तरकारी बेच्छन्। अहिले विश्वकप फुटवल चल्दै गर्दा साझ अबेरसम्म नेपाली अर्ग्यानिक खानासँगै फुटवल हेर्न अाउनेकाे संख्या पनि बढेकाे छ।

उनले अहिले दुईवटा दुहुना गाई, ४०० लोकल कुखुरा, दुई दर्जन बाख्रा पालेका छन्। यी सबै आफ्नो फर्म हाउसमा आउने पर्यटकलाई खुवाउन प्रयोग हुने उनी बताउँछन्। अहिले १२ जनालाई रोजगारी दिएका संगमको योजना आगामी पाँच वर्षमा ३०० जनालाई रोजगारी दिनु रहेको छ।

अत्याधुनिक प्रविधिको प्रयोग गर्ने भएका कारण जनशक्ति कम लागे पनि लगानी भने बढी लग्ने अनुमानले अबको पाँच वर्षमा ५० करोड रुपैयाँको लगानी विस्तार गर्ने उनको सोच रहेको छ। अहिलेको मासिक आम्दानी चार लाख रुपैयाँ रहेकामा पाँच वर्षमा मासिक आम्दानी एक करोड रुपैयाँ पुर्‍याउने सपना उनको छ।

केही महिनामै काठमाडौंको टोखामा अत्याधुनिक अर्ग्यानिक कृषि फर्म खोल्ने गरी तयारी गरेका संगम आफ्नै वा संयुक्त लगानीमा हिमाल, पहाड, तराई गरी पाँचवटा क्षेत्रमा सय बिघा बढी जग्गा लिजमा लिएर अर्ग्यानिक कृषि फर्म चलाउने लक्ष्य रहेको बताउँछन्। यसका लागि उनले केही स्थानसमेत पहिचान गरेका छन्।

दैनिक एक हजार जनालाई खाना खुवाउने लक्ष्य

प्रदेश १ का झापा र मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ४ को पोखरा र प्रदेश ५ को दाङमा उनले आधुनिक अर्ग्यानिक कृषि फर्म चलाउने योजना बनाएका छन्। आफूले सञ्चालन गरेको कृषि फर्ममा अर्ग्यानिक भोजन गराउने र त्यो भोजनका लागि पाँच वर्षमा दैनिक एक हजार जनालाई खाना खुवाउने लक्ष्य उनले बोकेका छन्।

कपनमा रहेको आफ्नो फर्म हाउसमा अमेरिका र युरोपको मल्टिपल भिसाको फोटोकपी र त्यसमाथि 'नेपालमै पौरख गरौँ' लेखेर फ्रेमभित्र सजाएका छन् संगमले।  विदेशमा सिप सिकेर आउनेलाई नेपालमा कृषिका लागि प्रोत्साहन मात्रै नभई आफ्नो फर्ममा आउनेलाई विदेश जान रोक्ने उनको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.