|

काठमाडौं : फिफा विश्वकप–२०१८ जति आयोजनाको उत्तराद्र्धमा आइरहेको छ, फुटबलका पारखीको ज्वरो पनि त्यति नै बढ्दो छ। अब सम्भावित विजेताको घेरा साँघुरिएको छ। विश्वकप ट्रफी चुम्ने अर्जेन्टिना–जर्मनी जस्ता टोलीको आशामा तुषारापात भइसकेको छ। अनि बेल्जियम–क्रोेयसिया जस्ता टोली पहिलो पटक विश्वकपलाई अँगालो मार्ने सपनालाई यथार्थ बनाउन तम्सिरहेकै छन्। 

विश्व विजेता बने पनि त्यसको सुगन्ध बिर्सिसकेका उरुग्वे र इंग्ल्यान्ड पनि मैदानमा डटिरहेकै छन्। आयोजक रुस फुटबलका पंडितहरूलाई अचम्ममा पार्दै क्वार्टरफाइनलसम्म पुगिसकेको छ।

नेपाली फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ तथा पूर्वकप्तान राजुकाजी शाक्य घरेलु मैदानको फाइदा उठाउँदै रुसले अन्तिम ८ मा क्रोयसियालाई स्तब्ध पार्‍यो भने पनि अब अचम्म मान्न नपर्ने बताउँछन्। पूर्वफुटबलर कोमल पाण्डेसमेत यसपालीको विश्वकपमा सहभागी टोलीहरूमा त्यति ठूलो अन्तर नदेखिएकाले जस्तो सुकै नतिजा आउन सक्ने पर्खाइमा छन्। तर, उनको विचारमा उपाधिको पहिलो दावेदार भने ब्राजिल नै हो। जसमा प्रशिक्षक श्रेष्ठ र पूर्वकप्तान शाक्यको सतप्रतिशत सहमति छ।

‘अन्तिम ८ मा ४ टोली त पूर्वविजेता नै छन्, अब अर्को नयाँ टोलीले विश्वकप जित्छ भन्न गाह्रै छ’ ,पाण्डे भन्छन्। उनको भनाइमा फ्रान्सका खेलाडीहरूले विचित्रको प्रदर्शन गरिरहेका छन्। उनीहरू पनि उपाधिको हकदार नै हुन्। साथै उनी पहिलो सेमिफाइनलमा ब्राजिल र फ्रान्सबीच भिडन्त हुने तथा सो खेलमा जसले जित्छ उसैले ट्रफी जित्ने सम्भावना देख्छन्।

शाक्यको धारणा पनि पाण्डेसँग मिल्दो छ। तर, प्रशिक्षक श्रेष्ठ अहिले नै फ्रान्सलाई बलियो मान्न तयार छैनन्। समूह चरणमा गोल स्कोरिङमा कमजोर देखिएको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई हरायो तर श्रेष्ठका अनुसार अर्जेन्टिनाको डिफेन्स कमजोर रहेकै कारण फ्रान्स बलियो देखिएको हो। ‘अर्जेन्टिनाको गोलरक्षकदेखि डिफेन्स कमजोर थियो।

मिडफिल्ड पनि पाका खेलाडीले सम्हालेका थिए। अर्जेन्टिना त मात्र मेसीको भरमा थियो। फ्रान्सको पावर गेमले नै उनीहरूलाई डुबायो’, श्रेष्ठ भन्छन्, ‘उमेर पुगेका अर्जेन्टिनी खेलाडीले फ्रान्सका युवा खेलाडीको आक्रमण र गतिलाई निस्तेज गर्न नसकेको कारण नै हार व्यहोर्नु पर्‍यो।’ उनी अहिले ब्राजिललाई प्राविधिक रूपमा बलियो टोली मान्छन्। ‘ब्राजिललाई हराउन कठिन नै होला जस्तो छ,’ उनी भन्छन्, ‘समूह चरणको खेल हेरेर हुँदैन। समूह चरणमा विभिन्न क्लबबाट खेलेका खेलाडीहरू समयाभावले सेट समेत हुन पाएका हुँदैनन्। हुन त आखिर सबै टोलीमा राम्रा खेलाडी छन् नै। कुन टोली पहिले सेट हुन्छ भन्ने कुरा प्राथमिकतामा पर्छ। जुन अहिले ब्राजिलमा देखिएको छ।’

साथै शाक्य समेत ब्राजिलको ‘सेट’ टोली हनुका साथै हरेक खेलाडीसमेत क्षमतावान भएको कारण उपाधि जित्ने बढी सम्भावना ब्राजिलकै देख्छन्। ‘ब्राजिली खेलाडीहरू अलि बढी आत्मविश्वासका साथ खेल्छन्। डिफेन्समा समेत आत्मविश्वासी छन्। डि बक्समा समेत पास खेल्छन्। फ्रान्स र बेल्जियम जस्ता टोलीका खेलाडीहरूको तेज गतिले उनीहरूको त्यही अतिआत्मविश्वासलाई कमजोरी बनाएर जित्न भने सक्छन्’, शाक्यको विचार छ, ‘डर, त्यही छ।’

उता प्रशिक्षक श्रेष्ठ भने अहिले सबै टोलीमा एकसेएक खेलाडी रहेका कारण कुन खेलाडी कति बेला ‘क्लिक’ हुन्छ भन्न नसकिने बताउँछन्। त्यस्ता खेलाडी नै खेलमा जित–हारको आधार बनाउने छन्।  ‘अहिले ब्राजिल वास्तवमा अति राम्रो देखिएको छ। अहिले अन्तिम ८ मा पुगेका टोलीहरूको तुलना ब्राजिलसँग गर्न सकिँदैन । तर, फुटबल हो भोलि कुन टोली सेट भएर आउँछ, जित उसकै हुन्छ। सम्भावान बढी चाहिँ ब्राजिलकै छ।’

साथै उनी बेल्जियमसँग विश्वकप जित्नसक्ने क्षमता देख्छन् तर सो टोलीमा एकसेएक राम्रा खेलाडी भए पनि टोली सेट हुन नसकेको धारणा राख्छन्। अबको खेलमा सेट हुने हो भने ब्राजिललाई समेत उनीहरूको अगाडि गाह्रो पर्ने धारणा उनको छ। उरुग्वेसँग पनि केही सम्भावना रहेको देख्ने श्रेष्ठ सो टोलीलाई अनुभवहिन मिडफिल्डले डुबाउने तर्क राख्छन् भने क्रोयसियाको मिडफिल्डमा विश्वास गर्छन्। उनी स्विडेन, क्रोयसिया र इंग्ल्यान्डको खेलसँग भने अहिलेसम्म प्रभावित हुन सकेका छैनन्। यद्यपि, रुसको खेलले उनको मन जितेको छ। ‘रुसले डिफेन्सिभ खेल खेलिरहेको छ। यो उनीहरूको रणनीति हुनसक्छ। डिफेन्सलाई बलियो बनाउने अनि मौकामा गोल हानेर जित्ने।’

उनी त अन्तिम ८ मै रुसले क्रोयसियाको शिकार गर्नसक्ने सम्भावनलाई समेत इन्कार गर्दैनन्।  उता पाका खेलाडी कोमल पाण्डे दक्षिणमा अमेरिकी फुटबल शैलीमा परिवर्तन आउन थालेको र त्यसले पनि उनीहरूलाई कमजोर नबनाएको धारणा राख्छन्। ‘मैले त सन् १९७० को ब्राजिली टोली जस्तो ससक्त टोली इतिहासमा अर्को कुनै देखेको छैन। कार्लोस अल्बर्टोको कप्तानीमा रहेको सो टोलीको दाँजोमा अहिलेसम्म कुनै मुलुकको टोली बन्न सकेको छैन। तर, अहिले त्यो उचाइँको नभएपनि उपाधि जित्ने प्रचुर सम्भावना बोकेको टोली छ’, उनले भने।

उता प्रशिक्षक श्रेष्ठ इंग्ल्यान्ड हेरी केनको मात्र भरोसामा खेलिरहेको हुँदा फाइनलसम्म पुगे पनि उपाधिको चुचुरो टेक्न सक्दैन कि भन्ने धारणामा छन्। साथै उनी खेलमा केही सुधार गर्नसके इंग्ल्यान्डले पनि सन् १९६६ पछि पहिलो पटक उपाधिमा हक जमाउनसक्ने कुरालाई इन्कार भने गर्दैनन्। फ्रान्सले अर्जेन्टिनासँग झैं तेज गतिमा त्यही खेल खेलिरहे जितको सम्भावना देख्छन् । तर, उनको भनाइमा अहिले कुनै पनि टोलीको खेलमा एकरुपता छैन, हिजो खेलेको खेल आज खेल्न नसक्ने अवस्था छ।

त्यस्तो खेलले सम्भावनाका ढोकालाई बन्द पनि गर्छ। उनी फ्रान्स र उरुग्वेलाई त्यही श्रेणीमा राख्छन्। उनी कुरोमा बिट मार्दै भन्छन्, ‘अब जसले ११ डिफेन्स र ११ अफेन्सको शैली अपनाएर सहीढंगमा मैदानमा खेल प्रस्तुत गर्न सक्छ, जित उसकै हुन्छ। मेरो विचारमा ब्राजिल अलि बलियो देखिए पनि तोकेरै जित्छ भन्न सकिँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.