|

काठमाडौं : फिफा विश्व कप–२०१८ मा दुई मुलुकका टोलीबीच नै प्रतिस्पर्धा हुँदैछ। तर, त्यहाँ दुई विपक्षी टोलीबाट मैदानमा भिड्नेहरु भने आत्मीय मित्रसमेत छन्। एअर्काको खेल बुझेका साथीहरु छन्। त्यसैले कुनै खेलाडीको क्षमता कसैसँग लुक्न सक्दैन। जसले गर्दा विपक्षी योजना बनाउन पनि सजिलो नै हुन्छ। युरोपेली क्लब फुटबलले सफलताको उचाइँ चढ्दै गर्दा विश्वभरका राम्रा खेलाडी त्यही थुप्रिन थालेका छन्। यसले विश्वभरको फुटबलको शैलीमा नै एकरुपता ल्याइसक्यो। साथै विश्व कपबाट बाहिरिएका टोलीले समेत विपक्षीलाई दह्रै चुनौती दिए।

शुक्रबार राति फ्रान्स र उरुग्वेबीच हुने यस विश्व कप कै पहिलो क्वार्टरफाइनल मित्रहरुको बीचको रोमान्चक भिडन्त बन्ने पक्का भने छ। उरुग्वेका एन्टोनियो ग्रिजम्यान र लुकास हर्नानडेज आफ्नै क्लब एट्लेटिको म्याड्रिडका सहयात्री डियगो गडिन तथा जोस जिमिनेजविरुद्ध भिड्दै छन्। यस्तै पेरिस सेन्ट जर्मेनका एडिसन काभानी तथा केलियन एम्बापे एकाअर्काविरुद्ध खनिने छन्।

यो विश्व कपमा अहिलेसम्म हार नव्यहोरेको तथा प्रतियोगितामा मात्र १ गोल खाएको उरुग्वे थप एक जितसँगै सेमिफाइनलको यात्रा तय गर्न तम्सिएको छ। उता ‘स्टालिस’ तरिकाले अर्जेन्टिनालाई ४–३ ले हराएर आत्मविश्वासी बनेको फ्रान्सको दाउ पनि निर्धारित समयभित्रै उरुग्वेलाई घुँडा टेकाउने हुनेछ। 
नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक विराटकृष्ण श्रेष्ठ भने अर्जेन्टिनालाई हराएकै आधारमा फ्रान्सलाई बलियो मान्न तयार छैनन्। समूह चरणमा गोल स्कोरिङमा कमजोर देखिएको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई हरायो। तर, श्रेष्ठका अनुसार अर्जेन्टिनाको डिफेन्स कमजोर रहेकै कारण फ्रान्स बलियो देखिएको हो। ‘अर्जेन्टिनाको गोलरक्षणदेखि डिफेन्स कमजोर थियो। मिडफिल्ड पनि पाका खेलाडीले सम्हालेका थिए। अर्जेन्टिना त मात्र मेसीको भरमा थियो। फ्रान्सको पावर गेमले नै उनीहरुलाई डुबायो,’ श्रेष्ठ भन्छन्, ‘उमेर पुगेका अर्जेन्टिनी खेलाडीले फ्रान्सका युवा खेलाडीको आक्रमण र गतिलाई निस्तेज गर्न नसकेको कारण नै हार व्यहोर्नु पर्‍यो।’

उनका अनुसार अर्जेन्टिनासँग झैं फ्रान्सको खेलमा एकरुपता आयो भने केही हदसम्म जित फ्रान्सको पक्षमा जाने सम्भावना पनि छ। उरुग्वेको बलियो रक्षापंक्तिलाई भेद्न फ्रान्सलाई केही कठिन हुने देखिन्छ। तर, एम्बापेले पछिल्लो खेल झैं चुस्तता देखाउने हो भने उरुग्वे दबाबमा पर्ने पक्का छ। उरुग्वेको मिडफिल्ड पनि केही कमजोर नै रहेका कारण सो टोलीले पनि खेलमा व्यापक सुधार गर्नु पर्ने तर्क उनको छ। यस आधारमा भन्ने हो भन्ने फ्रान्स बलियो छ तर, जितकै हकदार छ भन्न चाहीँ कठिन नै छ। तर, पनि उपाधिसम्मको यात्रा तय गर्न सन् १९९८ को विजेताले आफ्नो खेलमा व्यापक सुधार भने गर्नैपर्छ। नतिजा जे आएपनि सो खेल प्रतिस्पर्धात्मक भने अवश्य हुनेछ।

के ब्राजिल हावि होला बेल्जियममाथि ?

यस विश्व कपमा अहिलेसम्म कुनै टोलीले मन लोभ्याउने खेल पस्केको छ भने त्यो ब्राजिल नै हो। विश्वभरका फुटबल पंडितहरु अहिले ब्राजिललाई उपाधिको पहिलो दावेदार मान्दैछन्। प्रशिक्षक विराटकृष्ण श्रेष्ठका अनुसार अहिले ब्राजिली टोली एकसेएक खेलाडीबाट सजिएका छन्। कुन खेलाडीको खुट्टा कतिबेला चल्छ भन्न सकिंदैन तथा एउटा खेलाडी कमजोर देखिंदा अर्को फर्ममा आउने गर्छन्। हरेक कोणबाट हेर्दा अहिले ब्राजिलको तुलना गर्न मिल्ने अर्को टोली विश्व कपमा छैन। तर, खेल हो नतिजा जे पनि आउन सक्छ। त्यसमाथि यो विश्व कपले अकल्पनीय नतिजाहरुको ठेली नै तयार त पारिसकेकै छ।
शुक्रबार राति ब्राजिलविरुद्ध मैदानमा उत्रिने पेरिस सेन्ट जर्मेनका डिफेन्डर थोमस मिनियर आफ्ना क्लबका मित्र नेमार कल्पनाभन्दा बाहिरको खेलाडी भएको मान्छन्।  ‘उनलाई कसरी रोक्ने हो भन्ने मलाई थाहा छैन, उनको खेलको बारेमा केही भन्न पनि सकिंदैन। मैले अहिलेसम्म पक्ष वा विपक्षमा खेलेका खेलाडीहरुमा नेमार झैं प्रतिभाशाली अर्को कोही देखेको छैन,’ थोमस भन्छन्, ‘उनलाई मात्र होइन, ब्राजिलका सारा खेलाडीलाई रोक्न कठिन छ। तर, म मेरो उत्कृष्ट खेल खेल्ने प्रयास भने गर्छु।’

नेमार र विलियम्सको जोडीले जुनसुकै बेला अकल्पनीय गोल गर्ने क्षमता प्रमाणित समेत गरिसकेका छन्। बेल्जियमसँग पनि विश्वका एकसेएक खेलाडी छन्। सो टोलीबाट खेल्ने खेलाडीहरु अहिले युरोपका उत्कृष्ट पाँच क्लबमा आबद्ध छन्। तर, राम्रा खेलाडीले भरिएपनि उनीहरुबीच तालमेलको अभाव देखिएको छ। प्रशिक्षक श्रेष्ठ समेत बेल्जियमको त्यही कमजोरी उसको अघिल्लो चरणको यात्रामा बाधक बन्ने निश्कर्ष निकाल्छन्। तर, बेल्जियमले पछिल्ला खेलमा देखाएको कमजोरीलाई हटाउन सक्ने हो भने खेल आफ्नो पक्षमा पार्न सक्छन्। ‘हरेक टोलीबाट खेल्ने खेलाडीहरु युरोपका राम्राभन्दा राम्रा क्लबमा आबद्ध छन्। छरिएर क्लबमा व्यस्त रहेका कारण राष्ट्रिय टोलीमा तालमेल बनाउन उनीहरुले समय पाएका छैनन्। हरेक खेलसँग उनीहरु सेट हुँदै जान्छन्। बेल्जियमका खेलाडीलाई सेट हुन निकै समय लागेको देखियो, त्यसको फाइदा ब्राजिललाई हुनेछ,’ श्रेष्ठको विचार छ।

हुनत बेल्जियमका रोमेलु लुकाकु अहिले ४ गोलसहित शिर्ष गोलकर्ताको दोस्रो स्थानमा छ। उनको खेलमा बेल्जियम निकै निर्भर पनि छ। साथै यो विश्व कपमा अहिलेसम्म सर्वाधिक १२ गोल हानिसकेको टोली समेत बेल्जियम नै हो। त्यसैले ब्राजिलले बेल्जियमलाई कमजोर आँक्न सक्दैन। तर, समग्रमा दुई टोलीको अहिलेसम्मको खेल हेर्दा शुक्रबार राति बेल्जियममाथि ब्राजिल हावी हुने सम्भावना केही बढी नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.