|

पर्वत : म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेको घलेम्दीखोला जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ शेयर निष्कासन गरेको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको जलविद्युत आयोजनाले शुक्रबारदेखि ५ करोड ५० लाख रुपैयाँको आइपिओ शेयर निष्कासन गरेको हो।

गाउँपालिकाको साविकका दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिःतान र राम्चेका बासिन्दालाई लक्षित गरी ५ लाख ५० हजार कित्ता शेयर आइपिओ निष्कासन गरिएको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए। उनका अनुसार आयोजनामा न्यूनतम ५ हजारदेखि २ लाख ७५ हजारसम्मको शेयर आवेदन गर्न पाइनेछ।

गाउँपालिकाभित्रका साविकका बासिन्दाले नागरिकता लिएर गाउँपालिकाको केन्द्र पोखरे बगरमा गरिमा विकास बैंक, बेनीमा गरिमा विकास बैंक, माछापुच्छ्रे, प्रभु बैंक, ग्लोवल आइएमई बैंक र म्याग्दी उद्योग वाणिज्य संघमा रहेको कार्यालयमा समेत सम्पर्क गर्न सक्नेछन्। अन्तिम चरणमा रहेको आयोजनाको झण्डै ९२ प्रतिशत काम सकिएको छ।

आयोजनाका पावरहाउस, पेनःटक पाइप, ‘सर्ज टयाङ्क’को काम तिब्र गतिमा अगाडी बढेको छ। आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिनको काम सकिएको छ। निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङको फिनिसिङ भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.