|

रौतहट : प्रदेश-२ को 'बेटी बचाऔँ, बेटी पढाऔँ ,बेटीलार्इ स्वाभलम्वि बनाऔँ’ अभियानअन्तर्गत रौतहटका अधिकांश स्थानीय तहले साइकल वितरणलार्इ उच्च प्राथमिकता दिएको छ। छोरीलाई शिक्षित बनाउने लक्ष्यका साथ यस वर्ष धेरै स्थानीय तहले विद्यालय तहका कक्षा ८, ९, १०, ११ र १२ का छात्राहरूलार्इ साइकल वितरण गदै आएका छन्।

यसैक्रमा गडीमार्इ नगरपालिकाले पनि आफनो नगर क्षेत्रका १४२ छात्राहरूलार्इ साइकल वितरण गरेको छ। छोरीलार्इ विद्यालय नपठाउने गलत परिपाटीलाई चिर्दै आफूले यो अभियानलाई साथ दिएको गडीमाइ नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले बताउँछन्। आफनो  नगर क्षेत्रको शंकर गुदर उच्च मावि र बरियारपुर उच्च माविका कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई विद्यालय जान हौसला बढाउने उद्देश्यले साइकल वितरण गरेको नगर प्रमुख यादवले बताए।

यसैगरी कटहरिया नगरपालिकाले पनि यसै वर्ष नगरपालिकाबाट २२५ वटा साइकल वितरण गरेको छ। कटहरिया उच्च मावि, कनकपुर मावि, जंगलसहिया माविमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको सो नगरपालिकाकी उप प्रमुख नुरजहा खातुनले बताइन्। करिब १४ लाख ६२ हजार ५०० रुपैयाँ मूल्य बराबरको साइकल वितरण गरेको उनले जानकारी दिइन्। कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूको अध्ययनलाई निरन्तरता दिनको लागि साइकल विरतण गरेको उप प्रमुख खातुनले बताइन्।

यस्तै गरुडा नगरपालिकाले पनि वडा- ४ का छात्राहरूलाई साइकल वितरण गरेको छ। सो वडाको गरुडा नमुना उच्च माविमा अध्ययनरत कक्षा ८ र ९ का छात्राहरूलाई ९० वटा साइकल वितरण गरेको सो वडाका वडा अध्यक्ष चुनचुन साहले जानकारी दिए। विपन्न, गरिब तथा जेहन्दार छात्राहरूलाई करिब चार लाख मूल्य बराबरको साइकल वितरण गरेको उनले बताए।

यता देवाही गुनाही नगरपालिकाले पनि केही दिन मै करिब २२५ वटा साइकल वितरण गर्ने जनाएको छ। सो नगर क्षेत्रमा अध्ययनरत कक्षा ८ र ९ का छात्राहरूलाई साइकल वितरण गर्ने लक्ष्य रहेको नगर प्रमुख धमेन्द्र कुमार पटेलले जानकारी दिए। उक्त नगरको जय किसान उच्च मावि धरहरी, मावि प्रेमपुर गुनाहीलगायतका विद्यालयका छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गर्न लागेको नगर प्रमुख पटेलले बताए। मधेशमा छोरीलाई विद्यालय नपठाउने जुन किसिमको रबैया छ त्यसको अन्त्य गर्न र छोरीलाई पनि सक्षम बनाउन यस्तो अभियानको ठूलो भूमिका हुने उनको भनाइ थियो।

यस अघि पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद प्रभु साहले गुजरा नगरपालिकाअन्तर्गत जनप्रिय उच्च मावि परिसरमा ६७ जना छत्रालाई साइकल वितरण गरेका थिए। उक्त माविमा कक्षा ८, ९ र १० मा अध्यनरत छत्राहरूलाई संसद साहले साइकल वितरण गरेका हुन्। यस्तै गुजरा नगरपालिकाअन्तर्गत सिम्राभवानीपुरमा पनि १५४ जना छात्रालाई साइकल वितरण गरीएको थियो।

यस्तै विभिन्न गैर सरकारी संस्थाहरूले पनि छात्राहरूलाई विद्यालयसम्म जोडनको लागी साइकल वितरण कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै आएका छन। राजदेबी मिडिया प्रालिले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला भरीका ३० जना उत्कृष्ठ छात्राहरूलाई साइकल दौड मार्फत साइकल वितरण गदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.