|

प्रदेश ७ को बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका हिमाल, पहाड र तराईको भूगोल मिलेर बनेको छ। महाकाली राजमार्गसँगै जोडिएको दोगडाकेदार गाउँपालिका साविक श्रीकोट, देउलेक, श्रीकेदार, न्वाली, सित्तड, रिम र कटौजपानी गाविस र दशरथचन्द नगरपालिकाको वडा– १३ मिलाएर बनाएको गाउँपालिका हो। 

यस गाउँपालिकामा रहेका दुई धार्मिक स्थल दोगडा र केदारको नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो। कुल १२६.३८ वर्ग किलोमिटर क्षेत्रफल रहेको दोगडाकेदार गाउँपालिकामा आठ वडा छन्।  २४ हजार ६४१ कुल जनसंख्या रहेको यस गाउँपालिकामा चार हजार ५५९ घरधुरी छन्। 

यस गाउँपालिकामा क्षेत्री, ब्राह्मण, दलित समुदायलगायतका जातजातिको बसोबास रहेको छ। दोगडाकेदारमा जमाडीगाड, ढिकगाडलगायतका नदी छन्। दोगडाकेदार गाउँपालिका पर्यटकीय सम्भावना बोकेको गाउँपालिका पनि हो।  यहाँ दोगडाधाम, देउलेक केदार, भिटाकेदार, भूमिराज, मसामी, सूर्यपन्त, चनैराज, सुरपाल, बलैराज, भगवतीलगायतका देवीदेवताका मठमन्दिर रहेका छन्। खोचलेक, सिल्लेगडा, बसाली, खिरेगाउँ, पन्ज्युनयाँ बजारहरू मुख्य व्यापारिक केन्द्र हुन्। 

गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उम्मेदवार बनेका चक्र कार्की अध्यक्ष पदमा विजयी भएका छन्। अध्यक्ष कार्कीले तत्कालीन माओवादी केन्द्रका तारा कुँवर ‘स्टार’लाई पराजित गरेका हुन्। स्थानीय तहको निर्वाचनका बेला तत्कालीन नेकपा एमालेका बैतडी जिल्लाका उपसचिव रहेका अध्यक्ष कार्की सनातन धर्म माविको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै २०४९ सालमा अनेरास्ववियु, २०५२ सालमा युवासंघको जिल्ला कमिटी सदस्य बनेका थिए। 

उनी २०५३ सालमा १० नं. इलाका कमिटी सदस्य भएका थिए। त्यसपश्चात् २०६४ सालमा युवासंघको जिल्ला कमिटीको अध्यक्ष भएका कार्की २०६८ सालमा युवा संघको महाकाली अंचल कमिटी सचिव भएका थिए। 

यसअघि वि. सं. २०५४ सालमा साविकको देउलेक गाविसको अध्यक्षमा समेत निर्वाचित भएका कार्की सोही ठाउँ निवासी हुन्। स्थानीय तहको निर्वाचनमा विजयी भएर एक वर्षको अवधिमा गरेका कार्यहरू तथा भावी योजनाका बारेमा केन्द्रित रहेर बैतडीस्थित थाहाखबरकर्मी विनोदसिंह विष्टले अध्यक्ष चक्र कार्कीसँग गरेको कुराकानी प्रस्तुत छ।

जनप्रतिनिधि भइसकेपछि तपाईंको एक वर्ष कसरी बित्यो र गरेका काम केके हुन्?

पहिलो एक वर्ष कर्मचारीको अभाव तथा आन्तरिक व्यवस्थापनमै बित्यो। यसो भन्दा केही काम भएको छैन होइन, गरेका काममा गुणस्तरमा ध्यान दिएका छौँ, पारदर्शी रूपमा काम गरेका छौँ, आवश्यकताको आधारमा सबैलाई समेट्ने ढंगले योजना बनाएका छौंँ। कर्मचारी अभाव, भवनको अभावमा गरेको यो पहिलो एक वर्षको कामलाई समीक्षा गर्दै अगामी वर्षहरूका नीति तथा कार्यक्रम बनाउँदा यो वर्षभन्दा परिस्कृत हिसाबले बनाउँछौँ। एक वर्षमा के गरेभन्दा पनि खास गरेर जनताको हितको कामको सुरुवाती गरिएको छ। कृषि, भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा, पर्यटनको क्षेत्रमा, विकास निर्माणका काम, महिला हिंसा न्यूनीकरणका कामहरू, आर्थिक विकास, लघुउद्यम, शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यको थालनीलगायतका कामहरू गरिएका छन्। 

जुन चुनावी प्रतिबद्धताहरू थिए, ती चुनावी प्रतिबद्धता कति पूरा भए र कति बाँकी छन्?

चुनावी प्रतिबद्धता भन्दा पनि एक टोल एक सडक, एक वडा एक चक्रपथ बनाउने कार्य जारी छ। दोगडाकेदार गाउँपालिकामा हाल २० वटा सडक निर्माण कार्य जारी रहेको छ। गाउँपालिकाको वडा– १ को केन्द्रबाहेक अन्य वडाहरूमा सडक पुगिसकेको छ।  अगामी वर्षको कात्तिक मंसिरसम्म वडा– १ को केन्द्रसम्म पनि सडक पुग्छ। पिसिसी बाटाहरू, सिँचाइ, खानेपानी, एक घर एक धारा अभियान चलाइरहेका छौँ। चारवटा सोलार पम्पिङ प्रविधिबाट खानेपानी योजना लगाएर ३२ वटा खानेपानी आयोजना निर्माण सम्पन्न हुने क्रममा छन्। धार्मिक पर्यटनका लागि पनि मठमन्दिर जोड्ने बाटोहरू पिसिसी गर्ने कार्य जारी छ। यसका साथै १५ मठमन्दिर संरक्षण र प्रवर्द्धनको कार्य पनि सँगसँगै लगेका छौँ। 

सुशासन, भ्रष्टाचारमुक्त, निष्पक्षताका कुरा, सर्वसुलभताका कुरा, जनताको समस्या समाधानलगायतका कामहरू हुँदै छन्।   चुनावका बेला गरेका गरेका प्रतिबद्धता अहिले नै पूरा हुने भन्दा पनि हामी पूरा गर्ने बाटोमा छौँ। अगामी चार वर्षको अवधिमा ती सबै पूरा हुन्छन्। 

प्रदेश सरकार र संघीय सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?

हामीले खास गरेर प्रदेश सरकार र संघीय सरकारबाट ठूला योजना परियोजना निर्माणका लागि सहयोगको अपेक्षा गरेका छौँ। प्रदेश सरकारको बजेटमा केही गाउँपालिकाभित्रका योजना समेटिएको भए पनि त्यो मात्रै पर्याप्त छैन। गाउँपालिकाको समानीकरण अनुदान पनि बढाउनुपर्छ। हरेक कामहरू गर्दा स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो चाहना हो। यसो गर्दा योजना निर्माण कार्य प्रभावकारी रूपमा अगाडि बढ्छन्।

यो एक वर्षमा गाउँपालिकामा कर्मचारीको अभावमा काम गर्न कठिनाइ कति रह्यो? 

पक्कै पनि कर्मचारी नहुँदा सुरुवाती समयमा काम गर्न निकै कठिनाइ भयो। खास गरेर प्राविधिक कर्मचारी अभाव खड्किएको थियो। जुन गतिमा काम हुनुपर्ने हो, त्यसरी हुन सकेन। हाल आएर त्यो समस्या समाधान हुँदै गएको छ। पहिलो वर्ष कर्मचारीको अनुभवको कामले तथा जनप्रतिनिधिसमेत अलमलमा परेका थिए। कर्मचारी अभावमा भौतिक पूर्वाधार तथा आन्तरिक व्यवस्थापनमा समस्या देखिए पनि हामी निराश छैनौँ। जनताको हितको कामका लागि निरन्तर लागिरहेका छौँ। 

योजना छनोट तथा कार्यान्वयनका कामहरू जनप्रतिनिधि आइसकेपछि कसरी हुँदै छन्?

विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना हुने गरेका थिए। हामीले योजना छनौट तथा कार्यान्वयन गर्दा व्यक्तिकेन्द्रित भन्दा पनि आवश्यकताको आधारमा गरिरहेका छौँ। विगतमा सर्वदलीय संयन्त्रले गर्ने कामभन्दा फरक ढंगले अगाडि बढाइरहेका छौँ। कामको गुणस्तरमा विशेष ध्यान दिएका छौँ। यसका साथै अनुगमनको पाटोलाई कडाइका साथै लागू गरेका छौँ। 

दोगडाकेदार गाउँपालिका अगामी चार वर्षमा कस्तो गाउँपालिका बन्छ?

हामीलाई आधारभूत आवश्यकताका रूपमा खानेपानी र बिजुली देखिएको छ। त्यसैले यसलाई कार्यान्यवन गर्ने पक्षमा छौँ। ऊर्जा वर्ष बनाउने विषयमा दुई मत छैन। सबैभन्दा अगाडि ऊर्जाको कार्यक्रम दोगडाकेदारमा संचालन भएकाले यसको कार्यान्वयन गरी नमुना तथा उज्यालो दोगडाकेदार बनाउँछौँ।

नमुना गाउँपालिका बनाउने हिसाबले काम अगाडि बढाएका छौँ। चार वर्षपछि दोगडाकेदार गाउँपालिकाको प्रत्येक टोलमा सडक पुगेको हुनेछ। प्रत्येक घरमा खानेपानीको धारा हुनेछ। हरेक टोलहरूमा पिसिसी बाटो हुनेछन्। कम्तीमा पनि सिँचाइयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्छौं। 

मासु, अण्डा र फलफूलमा आत्मनिर्भर हुँदै निर्यातसमेत गर्छौं। आयआर्जनको पाटोलाई जोड दिइनेछ। दोगडाकेदार गाउँपालिका हिमाल, पहाड, तराई मिलेर बनेको छ। यस गाउँपालिकामा सबै कुरा सम्भव छ। अलिक मिहिनेत गर्ने बानीको विकास गर्न जरुरी छ। सबैको साथ र सहयोगको खाँचो छ। गाउँपालिकालाई केही नयाँ बनाउने, नमुना बनाउने कुरामा पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीले गरेर मात्रै हुँदैन, यहाँका सबै पालिकाबासीको साथ र सहयोग पाए बैतडीका अन्य स्थानीय तहभन्दा दोगडाकेदार गाउँपालिका पाँच वर्षमा सबैभन्दा अगाडि हुनेछ। 

प्रविधिको क्षेत्रमा गाउँपालिकामा भइरहेका कामहरू केके हुन्?

विभिन्न चुनौतीका बीच प्रविधिलाई पनि हामीले सँगसँगै अगाडि बढाएका छौँ। गाउँपालिका कार्यालयमा सिसिटिभी क्यामेरा जडान, इन्टरनेट जडान तथा वाईफाई,  ई–हाजिरी सुरु गरिसकेका छौँ भने पालिकाभित्र रहेका चार विद्यालयमा इन्टरनेट जडान गरिएको छ। 

यस्तै, अगामी वर्षहरूमा बाँकी रहेका माध्यमिक विद्यालयमा इन्टरनेट जडान गरिन्छ। ई–लाइब्रेरी, ई–पाटी, पोजेक्टरको माध्यमबाट पढाइ गर्ने तयारी छ। कम्तीमा पनि एउटा वडामा रहेको एउटा विद्यालयलाई प्रविधिमैत्री बनाउँछौँ। गाउँपालिकाका सबै आठवटै वडा कार्यालयमा इन्टरनेट जडान गर्ने तयारी छ।

दोगडाकेदार गाउँपालिकाको अगामी आर्थिक वर्षको मुख्य प्राथमिकतामा राख्ने योजना के छन्? 

दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७५/०७६ लाई ऊर्जा वर्षको रूपमा मनाउने तयारी गरेको छ।  गाउँपालिकामा हाल पनि वैकल्पिक ऊर्जाको कार्यक्रम जारी रहेको छ। वैकल्पिक ऊर्जाअन्तर्गत खानेपानी, सौर्य बत्ती, सिँचाइ, वायोग्यास, सुधारिएको चुह्लोलगायतका कार्यक्रम रहेका छन्। यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ७० प्रतिशतसम्म अनुदान दिने गरेको छ। त्यसैले हामीले यस आर्थिक वर्षलाई ऊर्जा वर्ष मनाउने तयारी गरेका छौँ। 

हामीलाई आधारभूत आवश्यकताका रूपमा खानेपानी र बिजुली देखिएको छ। त्यसैले यसलाई कार्यान्यवन गर्ने पक्षमा छौँ। ऊर्जा वर्ष बनाउने विषयमा दुई मत छैन। सबैभन्दा अगाडि ऊर्जाको कार्यक्रम दोगडाकेदारमा संचालन भएकाले यसको कार्यान्वयन गरी नमुना तथा उज्यालो दोगडाकेदार बनाउँछौँ। अगामी वर्षसम्म उज्यालो नभएको टोल हुनेछैन। पाँच वर्षमा उज्यालो नभएको कुनै घर हुनेछैन। यसका साथै सडक सौर्य बत्ती, धार्मिक स्थल, पर्यटकीय स्थल, सार्वजनिक महत्त्व बोकेको स्थानहरूलगायतका क्षेत्रमा पनि सौर्य जडान गरिनेछ। राजमार्ग, बजारमा पनि सौर्य बत्ती जडान गर्ने तयारी छ।

नागरिकका गुनासा कति आउँदै छन्?
नागरिकको गुनासो आउनु स्वाभाविक हो तर गुनासो गरिहाल्ने समय भने भएको छैन। नागरिकको चाहनाबमोजिम नै योजना, नीति नियम बनेका छन्। कर्मचारी, पदाधिकारी, जनप्रतिनिधिको संख्या र क्षमताले भ्याएसम्म काम गरेका छौँ। जनचाहनाभन्दा पनि बढी काम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.