|

जाजरकोट : सामान्य अक्षरसमेत नचिन्ने जनएकता आधारभूत विद्यालय छेडागाड झाप्रामा ३ कक्षामा पढ्ने सरस्वती चदारा नियमित विद्यालय जान थालेपछि खर्रर पाठ पढ्ने भएकी छिन्। उनको सिकाइमा आएको यो परिवर्तनले अभिभावकसमेत दंग छन्।

उनकी आमा गौरी चदारा पनि अहिले छोरीको पढाइमा चासो दिन थालेको छन्। सिकाइ उपलब्धि सुधार्न विद्यालयले कार्ड प्रणाली लागू गरेपछि उनी जस्तै धेरै विद्यार्थीको सिकाइ क्षमतामा सुधार आएको हो।

नियमित उपस्थित हुने तथा सिकाइ उपलब्धि राम्रो भएका विद्यार्थीलाई धन्यवादसहित हरियो कार्ड, मध्यम उपस्थिति तथा सिकाइ उपलब्धि पनि सुधार गर्नु पर्ने विद्यार्थीको घरमा सुधारका लागि आग्रह गदै हरियो कार्ड र विद्यालयमा न्यून उपस्थिति तथा सिकाइ उपलब्धि निकै कमजोर रहेका विद्यार्थीको घरमा नियमित विद्यालय पठाउन र पढनपाठनमा सुधार गर्न आग्रह गदै रातो कार्ड दिएर विद्यालयले पठाउने गरेको छ।

कुन विद्यार्थीले कुन रंगको कार्ड पायो त्यो गाउँभरी चर्चा हुने गरेको छ। हरियो पाए गर्व गर्ने र अन्य रंगको कार्ड पाए हिनताबोध हुन थालेपछि अभिभावकले समेत आफ्ना विद्यार्थीलाई नियमित विद्यालय पठाउन र पढाइमा चासो दिन थालेका हुन्।

‘हरेक अभिभावकले आफ्नो घरमा हरियो कार्ड आओस भन्ने चाहन्छन्। त्यसैले गर्दा कार्ड प्रणालीले सिकाई उपलब्धी सुधार्न निकै सहयोग गरेको छ’, जनएकता आधारभुत विद्यालयका प्रधानाध्यापक रुपा गिरीले भनिन्, ‘अक्षर नचिन्ने विद्यार्थी अहिले खर्रर पढ्ने भएका छन् ।’

पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित एकीकृत परियोजनाअन्तर्गत प्रारम्भिक तह पढाइ कार्यक्रम लागू भएपछि छेडागाडका ६४ ओटा विद्यालयमा शैक्षिक सुधार हुन थालेको हो। नगरपालिकाका-३ देखि ११ नम्बर वडाभित्रका विभिन्न ६४ ओटा आधारभूत विद्यालयमा शैक्षिक सुधारका लागि यो कार्यक्रम लागू गरिएको सेभ द चिल्ड्रनका जिल्ला संयोजक मनोज सुनुवारले बताए। उनले नियमित उपस्थिति नभए विद्यार्थीले सिक्न नसक्ने भएकाले नियमित उपस्थित गराउने र भाषा विषय नजाने अन्य कुरा सिक्न सक्दैन भनेर नै भाषिक पठन सीपको विकासका लागि प्रारम्भिक तहमा नै विशेष जोड दिइएको बताए।

परियोजनाले बालविकास र १ देखि ३ कक्षा प्रारम्भिक तहको शिक्षण प्रभावकारी बनाउन शिक्षकहरूलाई तालिम, शैक्षिक सामग्रीमा सहयोग, बसाइँ व्यवस्थापन, नियमित उपस्थिति, भाषिक विकासलगायतका कुरामा आवश्यक सहयोग गरिएपछि सिकाइ उपलब्धिमा सुधार आएको पाँचतारा युवा संरक्षक मञ्चका शिक्षा कार्यक्रमका जिल्ला संयोजक पुष्प खतिवडाले बताए।

‘कार्यक्रमले साढे दुई वर्षअघि परियोजना लागू भएका विद्यालयमा गरेको सर्वेक्षणबाट सिकाइ उपलब्धि २३ प्रतिशत देखिएकोमा यस अवधिमा १५ प्रतिशतले बढेको छ’, संयोजक खतिवडाले भने ‘तीन वर्षको अवधीमा १० प्रतिशत सिकाइ उपलब्धि बढाउने हाम्रो लक्ष्य थियो तर परिणाम त्योभन्दा बढी देखिएको छ। हामी एकदमै उत्साही छौँ।’

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले प्रारम्भिक तह पढाइ कार्यक्रमले सिकाइ उपलब्धि सुधार गर्न निकै सहयोग गरेको बताए। विद्यार्थीको जग भनेकै प्रारम्भिक तह भएकोले तल्लो तहमा नै राम्रो सिकाइ गर्नुपर्छ। शैक्षिक सुधारका लागि नगरले समेत आवश्यक सहयोग गर्ने नगरप्रमुख महताराको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.