|

काभ्रेपलान्चोक : नमोबुद्ध नगरपालिका १ मा रहेको पुरातात्विक महत्वको मथुरेश्वर महादेवको पुरानो मन्दिर भत्काएर पुनर्निर्माणको काम सुरु भएको छ। वि. सं. १७११ मा निर्माण भएको मथुरेश्वर महादेवको मन्दिरसँगै रहेको मथुरापाटीको पनि पुनर्निर्माण भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष विनोद सत्यालले जानकारी दिए।

मन्दिर र पाटी पूरानै शैलीमा निर्माण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान समितिको छ। मन्दिर पुनर्निर्माणका लागि साविकको मथुरापाटी गाविस सहित हालको नमोवुद्ध नगरपालिकाका स्थानीयसँग सहयोग संकलन भइरहेको स्थानीय युवा समाजसेवी प्रदीप सत्यालले जानकारी दिए।

मन्दिर पुनर्निर्माण लागि नमोबुद्ध नगरपालिकाले चार लाख विनियोजन गरेको र बाँकी रकम चन्दाबाटै उठाइरहेको मन्दिर पुनर्निर्माण चन्दा संकलन समितिका संयोजक प्रकाश सत्यालले जानकारी दिए।

यो मन्दिरमा बालाचर्तुदशीमा मेला लाग्दै आएको छ भने स्थानीयले दैनिक पूजापाठ गर्दै आएका छन्।

२०७२ सालको महाभुकम्पले जीर्ण बनेको मन्दिर निर्माणका लागि पुरातत्व विभागमा बजेट माग भएको थियो। पुरातत्व विभागले मागको सुनुवाई नगरेपछि स्थानीय युवा आफैँ स्रोत जुटाएर मन्दिर निर्माणमा कस्सिएका हुन्। सत्याल वंशावलीमा लेखिएको मथुरेश्वर मन्दिरको इतिहास अनुसार सत्यालका फुलबारीमा बसोबास गर्ने पुर्खा हरिका छोरा तुलसीरामका छ भाइ छोरामध्येमा अपुताली तथा असामयिक निधन भई बाँकी रहेका छोराहरू मध्ये तीन भाइले मात्र अंश लिएका थिए।

तिनमा प्रियपतिकी मथुरा नाम गरेकी एक दिदी बाल बिधुवा भइ माइतमा नै रहेकी थिइन। भाइहरूले दिदीलाई जिविकोपार्जनका लागि  अंश दिएका थिए। तिनै मथुराले १७११ सालमा मथुरेश्वर महादेवको मन्दिर तथा बटुवाहरूको निमित्त एक पाटी बनाएकी सत्याल वंशावलीमा उल्लेख गरिएको छ। मथुराले महादेवको पूजाको निमित्त ५ रोपनी खेत गुठी राखी नित्य पूजा चलाएकोमा हालसम्म पनि त्यो कामलाई स्थानीयले निरन्तरता दिँदै आएका छन्। पुरानै शैलीमा निर्माण हुने मन्दिरको छानो तामाले छाइने तयारी छ भने मन्दिर प्रांगणमा स्टेल ढुङ्गा छापिनेछ।

यस्तै मन्दिरको पूर्व उत्तर पार्क निर्माणको काम पनि भइरहेको निर्माण समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.