|

सल्यान : दार्मा गाउँपालिकाभित्र करिब ४०० बालबालिका जोखिममा रहेको एक तथ्यांकले देखाएको छ। जिल्लामा क्रियाशील एक संस्थाले संकलन गरेको तथ्यांकका आधारमा दार्मा गाउँपालिका भित्र ३६४ बालबालिका जोखिममा रहेको पाइएको हो। 

जोखिममा रहेका बालबालिकामध्ये अपांगता भएका ६५ जना, बुवाको मृत्यु भएका ९१, आमाको मृत्यु भएका २६, आमा बुवा दुवै गुमाएका २०, बुवा बेपत्ता भएका चार जना, बुवा आमा दुवैले छोडेका ४९, बुवाले छोडेका तीन, आमाले छोडेका एक जना, कुपोषित २०, बेवास्तामा परेका चार  र अति गरिब परिवारका ८१ बालबालिका रहेको सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारीमा सञ्चालित एकीकृत परियोजनाका कार्यक्रम संयोजक गुमानसिं नेपालीले बताए। 

जोखिममा रहेका यस्ता बालबालिका लाई दार्मा गाउँपालिका, दलित विकास समाज, सेभ द चिल्ड्रेन को सहयोगमा ६ महिनामा १७२ जना बाल बालबालिकालाई सहयोग पुर्‍याएको गाँउपालिकाले जनाएको छ। स्थानीय स्तरमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहकार्यमा बालबालिकालाई सहयोग गरेको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए।

‘हामीले जोखिममा रहेका बालबालिका पहिचान गरी आवश्यक सहयोग गर्ने प्रयास गरेका छौँ', उनले भने’, 'जोखिममा रहेका बालबालिकालाई आवश्यकताअनुसार औषधी उपचार, खाद्यान्न, लत्ताकपडा र कानुनी उपचारका लागि सहयोग प्राप्त गरी उनीहरूलाई वितरण गरेका छौँ।'

जोखिममा रहेका बालबालिकालाई जोगाउन र आपतकालीन अवस्थाका बालबालिकालाई सहयोग पुर्‍याउनका लागि गाउँपालिका भित्रका ६ वटै वडा र गाउँपालिका स्तरीय आपतकालिन बाल उद्धार कोषको स्थापना समेत गरिएको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले बताए।

गाउँपालिकाले बाल संरक्षण नीति र बाल विवाह न्यूनीकरण रणनीति योजना २०७४ गाउँ सभाबाट पारित गरी कार्यान्वयनमा ल्याएको र बाल सहभागिता कार्यविधि, बाल क्लब गठन र सहजीकरण निर्देशिका र आपतकालीन बाल उद्धार कोष सञ्चालन कार्यविधिको मस्यौदा तयार गरी छलफलको क्रममा रहेको दार्मा गाउँपालिका उपाध्यक्ष तथा मस्यौदा समितिका संयोजक टिका शर्मा वलीले जनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.