खाली लेटरप्याडमा हस्ताक्षर

|

जाजरकोट : एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्न सक्ला  एक, दुई, तीन अथवा चारवटा वडासम्मको तर, जाजरकोटको कुशे गाउँपालिकाका एकजना वडा सचिवले नौवटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन्। स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ। तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आएका छन्। लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो।

उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहेका छन्। स्थानीय सरकार सञ्‍चालन कार्यविधि २०७४ मा वडासचिवलाई पञ्किाधिकारी तोकेको छ। वडा सचिवको हस्ताक्षरविना जन्म दर्ता, मृत्यु दर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन। तर, वडा सचिव खनाल सदरमुकाममै भए पनि गाँउपालिकाको पञ्किरणको काम भने रोकिएको छैन।

खाली लेटरप्याडमा हस्ताक्षर

वडा सचिव खनालले नागरिकता लगायतका सिफारिसमा सदरमुकामबाट अग्रिम  (ब्ल्याङ्क ) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन्। त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ। जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाताप्रमाणित, लक्षित वर्गको सिफारिस पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र

त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, समाजजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए। उनले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताए। ‘के गर्ने काम चलाउनै पर्‍यो।

सचिव एकजना मात्र छन्। गाउँमा बसे पनि कुन वडामा गएर काम गर भन्ने। भौगोलिक विकटताले एक वडाबाट अर्को वडा पुग्न एकदिन पैदल हिँड्नुको विकल्प छैन। साह्रै समस्‍या भएपछि यस्तो उपाय निकालेका हौँ।’ उनले भने,‘दरबन्दीअनुसारका कर्मचारी सरकारले उपलब्ध नगराउँदासम्म यो समस्या रहिरहन्छ।

सेवाग्राहीलाई दुःख दिनुभन्दा केही समय यसरी चलाऔँ भनेर जनताको काममा बाधा नपुग्ने गरि सदरमुकामबाटै काम गरिरहेका छौँ।’ प्रत्येक वडामा आवश्यक काजगातमा २० वटा जतिमा वडा सचिवले पहिले नै सहिछाप गरेर गाउँ पठाउने गरिएको र सकिनेबित्तिकै पुनः पठाउने गरेको उनले बताए।

गाउँमा वडा सचिव नहुँदा तत्काल गर्नुपर्ने विभिन्न सिफारिसहरू, जन्म, विवाह, बसाइँसराइ र मृत्यु दर्ताको काम प्रभावकारी रूपमा हुन सकेको छैन। 'सचिव सदरमुकाममा वडाध्यक्ष कहिले कहाँ कहिले कहाँ भेटाउनै मुस्किल पर्ने।' कुशे–५ का निर्मला थापाले गुनासो गरिन्। उनले पहिलेभन्दा नागरिकलाई अहिले सास्ती भएको सुनाइन्। ‘सिंहदरबारको अधिकार गाउँमा आउने भनेर खुबै नारा लगाइए पनि एक वर्षको अवधिमा जनताले स्‍थानीय सरकारको कुनै अनुभूति गर्न पाएनन्।’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.