|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरू व्यवसायीक बेमौसमी टमाटर खेतीतर्फ आकर्षित भएका छन्। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएपछि टमाटर खेतीतर्फ यहाँका किसानहरू आकर्षित भएका हुन्।

सिन्धुलीको कमलामाई नगरपालिका-८ माइस्थानका कलम भट्टराईले दुर्इ वर्षदेखि व्यावसायिक बेमौसमी टमाटर खेती गर्दै आएका छन्। भट्टराईले करिव १० विघा जमिनमा टमाटर खेती गरेका छन्।

माइस्थानमा भट्टराईले टमाटर खेती सुरु गरेसँगै सिको गर्दै अरु किसानले पनि बेमौसमी टमाटर खेती सुरु गरेका छन्। कमलामाई नगरपालिका-८ माइस्थानका नवराज श्रेष्ठ टमाटर खेतीबाट वार्षिक पाँच लाख बराबरको आम्दानी गर्छन्। 

गणेशप्रसाद घिमिरेले सिन्धुलीको कमलामाई नगरपालिका-५ मघुटारमा व्यावसायीक टमाटर खेती गरेका छन् र उनले पनि वर्षमा दुर्इ लाख बराबरको आमदानी गर्दै आइरहेका थिए।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकाभित्रका सयभन्दा धेरै किसान व्यावसायिक टमाटर खेतीमा लागेका छन्। टमाटर खेतीमा आकर्षित गर्दै उत्पादनमा बृद्धि गर्न र किसानको आयआर्जन बढाउन बिउविजनको व्यवस्थापन, उचित बजार, शीतभण्डार, प्राविधिक सेवा, तालिम, विषादीमा सरकारले अनुदान दिनुपर्ने माग किसानको छ।

बेमौसमी टमाटर खेतीका लागि सिन्धुलीको हावापानी उपयुक्त र बजारमा लैजान सजिलो भएपछि टमाटर खेती फस्टाउँदै आएको छ। जिल्लामा बर्सेनी तीन करोड रुपैयाँ बराबरको टमाटर फल्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.