|
कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनाल (बलदेव)सँग कृषक पहाडी चौधरी

बर्दिया : जिल्लाको राजापुर नगरपालिका-७ भिम्मापुरका पहाडी चौधरीलाई त्यो क्षेत्रमा नचिन्ने सायदै होलान्। शिक्षण पेशाबाट राजीनामा दिएर एकाएक आफ्नो परिचय फेर्न सफल किसान हुन्, उनी। उनी अहिले त्यो क्षेत्रकै अब्बल किसान मानिन्छन्। अंग्रेजीमा स्नातक गरेका उनलाई पढाइअनुसारको काम पनि मिलेकै थियो। भेरी मावि ललितापुर बर्दियामा अंग्रेजीका निमावि शिक्षक थिए उनी।

काकाबाट प्रेरणा, आलुखेतीले लोभ्यायो

०६५ मा सुर्खेतमा बसेर पढ्दै गर्दा उनका काका पर्ने सुकराम चौधरीले आलुखेती गर्थे। उनलाई पहाडीले बेलाबेला बारीमा सघाउँथे। त्यसैबेलादेखि आफ्नो मन खेतीकिसानमा  लोभिएको पहाडी बताउँछन्। पढाइ सकेर उनी बर्दिया आएर एक बिघा जमिनमा आलु खेती गर्न थाले। जहाँ दुई सय क्विन्टल आलु  उत्पादन भयो त्यसपछि उनमा थप हौसला मिल्यो। अहिले उनी आफ्नो जमिनसहित नौ बिघा जमिन भाडामा लिएर १६ बिघामा धान र गहुँ खेती गरिरहेका छन्।

सुरुमा उनले सिसा नामक संस्थाको केही आार्थिक र प्राविधिक सहयोगमा गहुँ छर्ने मेसिन भित्र्याए। पछि पहाडीले भारत गएर आवश्यक प्राविधिक तालिम र सीप सिकेर आए। केही मेसिन भारतबाट सँगै लिएर आए भने सिकेको सीप प्रयोग गरेर आफैँ पनि बनाए।

अहिले आफूसँग खेती गर्न चाहिने कुनै पनि मेसिनको अभाव नभएको उनी बताउँछन्। उनी भन्छन्, ' खेतीका लागि अहिले मँसँग दुईवटा ट्रयाक्टर, धान मकै, गहुँ छर्ने, रोप्ने मेसिन, जमिन सम्याउने लेब्लर, आलि लगाउने मड बाइण्डर, ओसाउने पंखा, धान गहुँ मकै थ्रेसर गरी १० वटाभन्दा बढी मेसिन छन्, जुन पर्याप्त छ।'

सरकारले वर्षौंदेखिको परम्परागत कृषि प्रणालीलााई यान्त्रीकीकरणले विस्थापित गर्ने बताइरहेका बेला पहाडी चौधरीले भने सरकारको भनाइलाई व्यवहारमा रूपान्तरण गरेका छन्। पहाडीका अनुसार उनीसँग अहिले एक करोड २० लाखका आधुनिक कृषि औजार छन्। तर कृषकका लागि राम्रो ऋणको व्यवस्था नहुँदा मन खिन्न भएको उनी बताउँछन्। भन्छन्, ‘रिस्क लिएर यो कामको सुरुवात गरेको हुँ तर हामीजस्ता कृषकका लागि बैंकबाट ऋण पाउनै समस्या छ।’

उनले अहिले दुई बिघा जमिनमा चैते धान रोपेका छन्। फाँटैभरी लहलह धानका बाला झुलेका छन्। जसले उनलाई नसोचेको परिणाम दिएको छ। प्रतिबिघा ६० क्विन्टल धान फलेको उनको अनुमान छ। जबकि वर्षे सिजनमा प्रतिबिघा ४० देखि ४५ क्विन्टल मात्र धान फल्ने गरेको थियो। उनले मिहिनेत र परिश्रमबाट प्रभावित भएर अहिले राजापुरमा किसानले दुई सय बिघा खेतमा चैते धान खेती गरेका छन्।

सरकारले २ वर्षमा धानमा आत्मनिर्भर र ५ वर्षमा उत्पादन दोब्बर बनाउने नीति अघि सारेको छ। तर राजापुरमा धान बिक्री नभएर किसानले समस्या झेल्नुपरेको छ। ‘सरकारले धान सुकाउने कारखानाको प्रबन्ध मिलाउन नसकेकोमा यहाँका किसान चिन्तित छन्। 'धान नसुकेको भन्दै काँचो धान किन्दा गह्रौ भई घाटा पर्ने भनेर कसैले धान खरिद गर्न मान्दैनन्', चौधरीले भने, ‘धान बिक्री नहुँदा घरको भकारीमै थन्काउनुपरेको छ।’

केही दिनअघि आफ्नो घरमा पुगेका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनाल (बलदेव)लाई चौधरीले आफूसँग भएका कृषि सामग्री देखाएका थिए। हेर्नुहोस्, कृषक चौधरीसँग भएका कृषक सामग्री :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.