|

जाजरकोट : विद्यालय नपढाउने शिक्षकको पेस गरी कारवाहीका लागि माग गर्ने शिक्षा तथा खेलकुद शाखाका स्रोत व्यक्ति कमलराज बस्नेतमाथि गाउँपालिका अध्यक्षबाट हातपात भएको छ।

कुशेगाउँपालिकाका विभिन्न वडामा रहेका विद्यालयमा काम नगर्ने शिक्षकको विवरण संकलन गरी गाउँपालिकामा बुझाउँदा आफूमाथि गाउँपालिका अध्यक्षबाट हातपात भएको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति बस्नेतले बताए। 

अनियमितता, कृत्य हाजिर गरेर तलवभत्ता खाएको, छात्रवृत्ति वितरण नगरेकोलगायतका विवरण रहेको प्रतिवेदन स्रोत व्यक्ति बस्नेतले कुशेगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमार्फत गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतलाई बझाएका थिए। उक्त विवरणका कारण अध्यक्षका आफन्त नै कारवाही हुन डरले आफूमाथि हातपात भएको उनले बताए।

स्रोत व्यक्ति बस्नेतले बुझाएको प्रतिवेदनमा मान्नेढुगा माध्यमिक विद्यालयका शिक्षक बाल्मिकिप्रसाद सिंह २०७४ साल माघ ५ देखि २०७५ जेठ मसान्तसम्म विद्यालयमा उपस्थित नभएको भनी उल्लेख छ। त्यस्तै भगवती मावि भेटुखानाका शिक्षक खड्कवहादुर पुन २०७४ भदौ २१ देखि २०७४ पुस ३० गतेसम्म उपस्थित नभए पनि प्रधानाध्यापक देवबहादुर बस्नेतले २०७४ कातिकसम्मको तलव भुक्तानी लिएको उल्लेख छ। २०७४ पुस र माघ दुई महिनाको तलव भत्ता स्रोत व्यक्तिले रोक्का गरेको उल्लेख छ। 

सोही विद्यालयका शिक्षक हेमन्तबहादुर सिंह माघ र फागुन महिनामा गयल भएको भनी स्रोत व्यक्तिले रातो चिन्ह लगाएकोमा टिपेक्स लगाई हाजिरी गरेको र २०७५ बैशाख १ देखि असार १५ सम्म विद्युतिय हाजिरीमासमेत हाजिरी नगरेको पाइएको उल्लेख छ। त्यस्तै आव २०७३/७४ देखि २०७४/७५ सम्मको विद्यालयमा गएको कुनै पनि छात्रवृत्ति वितरण नगरेको उल्लेख छ।

गाउँपालिकाले गाभेका र पढनपाठन बन्द भएका सबै विद्यालयमा छात्रवृत्ति रकम वितरण नगरेको भनी उक्त प्रतिवेदनमा उल्लेख छ। हिमालय भानुभक्त प्रावि तागचौरका प्रधानाध्यापक रणबहादुर शाही २०७५ वैशाख १ देखि जेठ समान्तसम्म विद्यालयमा उपस्थित नभएको र छात्रवृत्तिको रकम वितरण नगरेको उल्लेख गरिएको छ। रमला प्रावि दतीचौरका शिक्षक लक्ष्मी बस्नेत २०७५ बैशाख १५ देखि वैशाख ३० गतेसम्म विद्यालयमा उपस्थित नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

विद्यालय नपढाई तलव खाने शिक्षकको कारवाहीको माग गर्दा गाउँपालिकाका अध्यक्षले नै आफूमाथि आक्रमण गरेको स्रोत व्यक्ति बस्नेतको आरोप छ। अध्यक्ष बस्नेतका नजिकका व्यक्तिले नै वढी अनियमितता गरेको यो प्रतिवेदनमा देखिएकाले आफूमाथि हातपात भएको उनको दाबी छ।

यत्ता गाउँपालिकाका अध्यक्ष बस्नेतले स्रोत व्यक्तिले तयार पारेको प्रतिवेदन पूर्वग्रही भएको बताए। उनले भने ‘कमल सरका आफन्त पर्ने रमेश बस्नेतलगायतका व्यक्तिले महिना दिन नपढाएको जानकारी आएको छ तर त्यो कुरा प्रतिवेदनमा उल्लेख नगरेका कारण हप्काएको हुँ। प्रतिवेदन सही तरिकाले आउँनुपर्‍यो, मेरा आफन्तको मात्र खोजीखोजी ल्याउने तर आफ्ना आफन्तको देखेर पनि नदखे झैँ गरेपछि रिस उठेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.