|

काठमाडौं : कवि, गजलकार अस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजलकृति ‘प्रयास’ र एल्बम ‘प्रयास’ विमोचन गरिएको छ। 

शनिबार संवाद डबलीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए। गजलकार रावलले अन्य साहित्य जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरूले आफूअनुकूल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे। 

रावलले नेपाली शब्द हुँदाहँुदै विदेशी शब्द साहित्यकारले आफ्ना रचनामा प्रयोग गरेकोप्रति टिप्पणी पनि गरे। विदेशी  शब्द प्रयोग गर्दा नेपाली भाषा र साहात्यिमाथि अन्याय हुने हुँदा त्यस्ता शब्दहरू प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै साहित्यकारले समाजमा भएका तमाम विकृति–बेथिविरुद्ध लेख्नुपर्ने बताए। उनले गजल साहित्यको गम्भीर विधा भएकाले गजलका आधारभूत मान्यताअनुसार रचना गरिनुपर्नेमा जोड दिए। 

‘प्रयास’का स्रष्टा प्रदीप थापाले आफू लेखन विधामा एकदम कलिलो भएको र लेखनमा निरन्तर लागिरहने बताए। लेखक थापाले पहिले र अहिलेका पठकहरू माया प्रेमसम्बन्धी विषयमा रुचि राख्ने नै बढी भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिने गरेको बताए।  

विमोचित ‘उज्यालोको खोजी’ गजलसंग्रहकी गजलकार आस्था केसीले आफू १५–१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यही समयबाट नै गीत, कविता, गजल पढ्न र लेख्न थालेको बताइन्। हिजोको जनयुद्धकालीन मुक्तियात्राले साहित्यमा लाग्नसमेत प्रेरित गरेको उल्लेख गर्दै केसीले आफूहरूले जनयुद्ध तथा मुक्तियात्रामा हुँदा देखेका सपना नेतृत्वले चकनाचुर परेकोप्रति पीडा व्यक्त गरिन्। उनले भनिन्, ‘शान्ति प्रक्रियापछि नेतृत्वले कार्यकर्तालाई जुम्राले लास छाडेजस्तै हाम्रो जीवन अस्तव्यस्त बनाइदिए।’

उनले हिजो आफूहरू वर्गीय मुक्तिको यात्रामा लागेको र आज साहित्यमा पनि त्यही वर्गीय मुक्तिको लागि साहित्यिक सिर्जना गरिरहेको बताइन्।

१० कक्षा पढ्दै गर्दा भूमिगत हुँदादेखि नै साहित्य पढ्न र लेख्न थालेको र प्रचण्ड नचिनी आफूहरूले प्रचण्डपथ अँगालेको बताउने केसीले त्यस समयमा लेखिएका जनपक्षीय साहित्य आज हेर्दा अचम्म लाग्ने गरेको बताइन्। उनले आफूहरू जुन सपना बोकेर जनयुद्धमा इमान्दारीपूर्वक लडियो, त्यो पूरा नभएको बताउँदै केही आंशिक परिवर्तनमै चित्त बुझाउनुपरेको धारणा राखिन्।  

विमोचित पुस्तक तथा एल्बममाथि समालोचकहरू प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारीले टिप्पणी गरेका थिए। केसीको गजलकृति उज्यालोको खोजीमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले आस्थाको राजनीतिक पृष्ठभूमि, भूमिगत जीवन र प्रगतिशील चेतना उनका गजलमा आएको बताए। अधिकारीले भने, ‘आस्थाका गजलमा सवाल्टर्नका पीडा, अपेक्षा र आक्रोश अभिव्यक्त छन्।’

प्रदीप थापाको एल्बम प्रयासबारे बोल्दै समालोचक ज्ञानु विद्रोहीले थापाका गीत अत्यन्तै सुललित, सरल र प्रेमिल भएको टिप्पणी गरे। उनले शब्दलाई न्याय गर्ने संगीत र स्वर एल्बममा रहेको बताए।

थापाको कृति प्रयासमाथि बोल्दै समालोचक प्रभाती किरणले प्रदीपका गीत सरल र प्रणयपरक भएका र रुवाई तथा गजलमा पनि प्रेम विषय नै प्रधान भएको बताए। उनले थापालाई गजल र गीतका पनि छुट्टाछुट्टै कृति प्रकाशनका लागि सुझाव पनि दिए।

कार्यक्रममा साहित्यकारहरू डा. भोजराज घिमिरे, नरेन्द्रजंग पिटर, बाबु त्रिपाठी, राधा कणेललगायतले लेखकद्वयलाई शुभकामना दिएका थिए।

अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष घनेन्द्र ओझाले स्रष्टाद्वयमा रहेको लेखनको ऊर्जा नसेलाओस् भन्ने कामना गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउने, प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्का, समालोचक डा. नेत्र एटम, डा. विन्दु शर्मा, देशभक्त गणतान्त्रिक मोर्चाकी अध्यक्ष बाबा बस्नेतलगायतको उपस्थिति थियो।

अन्तर्राष्ट्रिय नेपाली गजल मंचका नेपाल च्याप्टर संयोजक भरत पौडेलको सभापतित्वमा कार्यक्रम संपन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.