|

तनहुँ : स्वास्थ्यको पहुँच नागरिकसम्म पुर्‍याउन सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम तनहुँमा प्रभावकारी बन्दै गएको छ। जिल्लामा ३६ हजार ३६८ जना सर्वसाधारणले स्वास्थ्य बिमा गरेका छन्। उक्त संख्या आठ हजार ९४५ परिवारको भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश ४ शाखा कार्यालय दमौली तनहुँका प्रमुख नवराज भट्टराईले जानकारी दिए। 

स्वास्थ्य बिमा गरेका सात हजार २२५ परिवारले सेवा लिने गरेको कार्यालयको तथ्याङ्कमा छ। जिल्लाको शुक्लागण्डकी नगरपालिकामा सबैभन्दा बढी जनसङ्ख्या र घरपरिवारले स्वास्थ्य बिमा गरेका छन्। यस नगरपालिकाका दुई हजार २७३ घरपरिवारका नौ हजार ६७२ जनाले स्वास्थ्य बिमा गरेका छन्। 

भिमाद नगरपालिकाको एक हजार ७९४ घरपरिवारका छ हजार ८३३ जनाले स्वास्थ्य बिमा गरी सेवा लिइरहेका छन्। व्यास नगरपालिकाका एक हजार ६२४ घरपरिवारका छ हजार ४३० जनाले बिमा गरेका छन्। सबैभन्दा कम ऋषिङ्ग गाउँपालिकाको २९१ परिवारका एक हजार १४९ जनाले बिमा गरी सेवा लिइरहेको कार्यालयले जनाएको छ। देवघाट गाउँपालिका र भिमाद नगरपालिकाले दलित घरपरिवारको दुई हजार ५०० रुपैयाँ बराबरको बिमा रकम व्यवहोरेको छ।

स्वास्थ्य बिमा गरेको नागरिकले तोकिएका अस्पतालहरुबाट एक हजार ११८ प्रकारका औषधि निःशुल्क उपभोग गरिरहेको बिमा कार्यालयले जनाएकोे छ। बिमा दर्ताका लागि जिल्लामा ९८ जना अभिकर्ता खटाइएको कार्यालयले जनाएको छ। असार महिनाभित्र सबै बिमित सेवाग्राहीले नवीकरण गर्नुपर्ने र बैशाख, जेठ र असारमा बिमा गरेका व्यक्तिहरूले आगामी भदौदेखि स्वास्थ्य सेवा लिन पाउने कार्यालयले जनाएको छ।

स्वास्थ्य बिमा गरेका सर्वसाधरणले दमौली अस्पताल, जीपी कोइराला स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल र लमजुङको सुन्दरबजार अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन्। पाँच जनाको परिवारले दुई हजार ५०० रुपैयाँमा बिमा गर्न सक्छन् भने त्योभन्दा बढी भएमा प्रतिव्यक्ति ४२५ रुपैयाँ थप गर्नुपर्ने प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.