|

वीरगन्ज : आठ लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित पर्सा प्रहरी कार्यालय मातहतको प्रहरी टोलीले एक भारतीयलाई नियन्त्रणमा लिएको छ। मोटर साइकलको तेल ट्याँकीको आधा भागमा सो अवैध परिणामको भारतीय रुपैयाँ लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको अवस्था प्रहरीले भारतको मोतिहारी जिल्ला ग्राम सुगौली वडा नम्बर ११ का अभिजित सर्राफलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिक सर्राफले बी.आर. ०५ के. ६४४४ नम्बरको पल्सर मोटरसाइकलको तेल ट्याँकीको आधाभागमा रकम लुकाइछिपाई लिएर नेपाल भित्रिसकेपछि चेकजाँचको क्रममा अवैध भारतीय रुपैयाँसहित उनलाई पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए। प्रहरीले मानिससहित नियन्त्रणमा लिएको अवैध भारतीय रुपैयाँमा ५०० दरका एक हजार ४३८ थान, दुर्इ हाजर दरको ११ थान, २०० दरका ३०१ थान गरी कुल आठ लाख एक हजार २०० रुपैयाँ रहेको उनको भनाइ छ।

भारतबाट नेपालतर्फ ठूलो परिणामको अवैध रुपैयाँ लिएर कुनै मानिस आइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले निरन्तर चेकजाँच गर्दा सो परिणामको अवैध भारतीय रुपैयाँसहित भारतीय नागरिकसमेत फेला परेका हुन्। थप अनुसन्धानको लागि अवैध भारतीय रुपैयाँ र सर्राफलाई काठमाडौंस्थित हरिहर भवन पठाइएको पर्साका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरिक्षक ढकालले बताए।

हुण्डी कारबारी पक्राउ

यता पर्सा प्रहरीले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ रानीघाट स्थित राहुल केशरीको घरमा छापा मारी एक करोडभन्दा बढी अवैध रकमसहित केशरीलाई नियन्त्रणमा लिएका पर्सा प्रहरीले जनाएको छ। यस विषयमा भने पर्सा प्रहरीले स्थानीय संचारकर्मीलाई केही समयपछि पत्रकार सम्मेलन गरेरै विस्तृत जानकारी दिने बताएको छ। स्थानीयका अनुसार केशरी हुण्डी कारोवारी रहेको खुलासा भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.