|

टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरूसमेत रहेका बताइएको छ। सरकारले आइतबार आकस्मिक रूपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार जना प्रहरी मात्र रहेका बताइएको छ।

बर्खास्त प्रहरीमा अधिकृति स्तरका कर्मचारी धेरै रहेका छन्। आतंककारी समूह या संगठनहरूसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो।

बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिक अधिकारी पनि रहेका छन्। ती सैनिकमा एक हजार ९४९ जना हवाई सैनिक र एक हजार १२६ जना जलसैनिक रहेका सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यसरी बर्खास्त गरिएकामा एक हजार ५२ जना निजामति कर्मचारी अधिकृत छन्। विश्वविद्यालय र विद्यालयका २०० जना प्राध्यापक र शिक्षक पनि सो सरकारी आदेशअनुसार बर्खास्त हुनेमा परेका बताइएको छ।

सन् २०१६ को जुलाई महिनामा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानका विरुद्धमा यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो। त्यसपछि भने राष्ट्रपति एर्दोगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरूलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरू विविध खालको कारबाही गरेका थिए।

त्यस समयदेखि आजसम्म अर्थात दुर्इ वर्षसम्म यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ। यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ। अहिले पनि यहाँ संकटकालीन अवस्था नै छ। यहाँ जारी रहेको संकटकालीन अवस्थाको यही जुलाई १९ मा अन्त्य हुने तालिका छ।

तर त्यस अगावै यहाँको संकटकालीन अवस्थाको फाइला उठाउँदै सरकारले यति ठूलो संख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेको समाचार आएको छ। राष्ट्रपति एर्दोगानले आफ्नाविरुद्ध गरिएको यो असफल प्रयासको फाइदा उठाउँदै देशभित्र आफ्ना सबै विरोधीहरुलाई सक्ने अभियान नै चलाएको भन्दै उनको कदमको व्यापक विरोध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.