|

वीरगन्ज : श्रोत खुल्न नसकेको झण्डै सवाकरोड नगदसहित पर्साको वीरगन्ज महानगरपालिका-९ का राहुल केशरी पक्राउ परेका छन्। अवैध रूपमा रानीघाटस्थित एक घरमा वित्तीय कारोवार हुन्छ भन्ने प्रहरीलाई प्राप्त सूचनाको आधारमा प्रहरीले आइतबार छापामारी गर्दा श्रोत खुल्न नसकेको एक करोड १५ लाख पाँच हजार १५० नगदसहित केशरी पक्राउ परेका हुन्।

२० वर्षीय केशरीलाई महेश केशरीको घरमा अवैध रूपमा वित्तीय कारोवार गरिरहेको समयमा रंगेहात पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले पत्रकार सम्मेलन गरी संचारकर्मीलार्इ बताए। 'यति कम उमेरको मानिसले यत्रो कारोवार आफैँ गरेका हुन् कि थप मानिसहरू पनि संलग्न छन् भन्ने अनुसन्धान भइरहेको छ' उनले भने।

केशरीसँगै प्रहरीले नेपाली एक हजार दरका सात हजार १५२ थान अर्थात ७१ लाख ५२ हजार, पाँच सय दरका आठ हजार ६३७ थान अर्थात ४३ लाख १८ हजार ५००, सय दरका २६१ थान अर्थात २६ हजार १००र ५० रुपैयाँ दरका १७१ थान गरी आठ हजार ५०० पचास रुपैयाँ गरी एक करोड १५ लाख पाँच हजार १५० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख गरिएको छ।

रानीघाटस्थित सो ठाउँमा हुण्डी कारोवार हुने गरेको प्रहरीलाई प्राप्त सूचना अनुसार प्रहरीले छापा मारेको पर्साका प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताए। पर्सा प्रहरीले पहिलेको पक्राउ गरेका कारोवारीहरूको इसारालाई निरन्तर निगरानी राखी रहँदा थप हुण्डी कारोवार हुने ठाउँहरू र कारोवारी पनि पत्ता लाग्दै गएको उनले दाबी गरे। पक्राउ परेका केशरीसहित नगदबारे थप अनुसन्धानका लागि आइतबार नै काठमाडौं हरिहर भवन पठाउने तयारी भइरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए।

गएको माघ २८ गते पनि पर्सा प्रहरीका तत्कालीन प्रहरी उपरीक्षक गणेश रेग्मीको नेतृत्वमा गएको प्रहरी टोली वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट एक भारतीय नागरिकसहित ४ अभियुक्तलाई अवैध हुण्डी कारोवारमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

पक्राउ परेका अवैध हुण्डी कारोबारमा संलग्न मध्ये रक्सौल भारतका रितेश गुप्तासहित स्थानीय राजेश रौनियार, विनित अग्रवाल र मनोज पटेल थिए। उनीहरूको साथबाट ५५ लाख ६४ हजार २०९ रुपैयाँ नगद र विभिन्न बैंकका एक दर्जन जति चेक प्रहरीले फेला पारेको थियो। यो पटक फेला पारेको नगद भने सोभन्दा अझ ठूलो परिणामको भएको पर्सा प्रहरीको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.