|
फोटो : शंकर विसीको फेसबुकबाट

काठमाडौं : लोकगीतका भिडियोमा नाच्ने 'डान्सर' र म्युजिक भिडियो निर्देशक हुन् शंकर विसी। लोकगीतका भिडियोमा नृत्य र निर्देशनमा उनले एक दशकदेखि राज गरिरहेका छन्। कानमा मुन्द्रा लगाएका र सधै फेसनेवल लुक्समा देखिने यी डान्सरले अहिलेसम्म १२ सय भन्दा बढी भिडियोमा नृत्य गरेका छन् भने २ हजार बढी भिडियो निर्देशन गरेका छन्।

तीज लागेदेखि तिहारसम्म कलाकारहरुका लागि 'दशैं' हो। अर्थात धेरै व्यस्त हुने र धेरै पैसा कमाउने समय। तीजको एक महिनाअघिदेखि कलाकारहरुको स्वदेश र विदेश यात्रा सुरु हुन्छ - बिभिन्न सांगितिक कार्यक्रमका लागि। जुन तिहारको अन्त्यसम्म जारी रहन्छ। यो समयमा गायक गायिका जत्तिकै व्यस्त 'सेड्युल' हुन्छ, शंकर विसीको। नेपालगञ्ज पुर्ख्यौली थलो भएका उनले नृत्य क्षेत्रबाटै कमाएको पैसाबाट काठमाडौंमा घर जोडिसके। तर, दशैंका बेला भने सकभर नेपालगञ्ज नै जान्छन्। जहाँ उनका हजुरआमा, बाबा-आमा, काका-काकी र मामामाईजू बस्छन्।

यसपालीको दशैं योजना

दशैं आउनुपहिले शंकर नेपालगञ्जमा बुबालाई फोन गर्छन्। बुबासँग दशैंका लागि के-के किनमेल गर्ने भन्ने सल्लाह गर्छन्। किनमेल गरेर घर पुग्छन्। हुन त उनको काठमाडौंमा घर छ-आफ्नै पसिनाले कमाएको, अनि अमेरिकामा पत्नी निशा सुनुवार र छोरी छिन्। उनलाई यतै बसे वा अमेरिका उडेपनि हुन्छ। शंकर भन्छन्, 'यहाँ पनि घर छ, तर यहाँको घरभन्दा जन्मेको घर प्यारो हुन्छ।' उनले भने, 'मलाई दशैं तिहारका बेला घर जान उत्सुकता जाग्छ।'

दशैंको टीकाको दिन सुरुमा हजुरआमा बस्ने घरमा जानेछन् शंकर। उनले यो साल हुने दशैंको दिनको दृश्य उत्सुक हुँदै सुनाए, 'मूलघरमा हजुरआमा बस्नुहुन्छ। त्यहाँ स्वर्गीय हजुरबाको फोटो छ। हजुरआमा हजुरबाको फोटोमा पूजा गर्नुहुन्छ। अनि हामीलाई टीका लाइदिनुहुन्छ। त्यसपछि बा, आमाको हातबाट टीका लगाउछौं, त्यसपछि काका-काकी र मामाघर जान्छौं।'

मासुका परिकारका सौखिन छन् शंकर। तास नखेल्ने उनी अलिअलि मदिरा पिउन मन पराउँछन्। उनले यो सालको दशैं परिवार र साथीहरुसँग रमाइलो गर्दै बिताउने योजना बनाएका छन्।

शंकरको सम्झनामा बालापनको दशैं

शंकरको बाल्यकालका दशैं तिहार नेपालगञ्जमै पिङ खेल्दै र देउसीमा गाउँदै नाच्दै बित्यो। थाहाखबरसँग कुराकानीमा उनी नोस्टाल्जिक भए। 'किशोरावस्थामा गाउँमा पिङ हाल्ने टीमको लिडर मै हुन्थे। हामी घरघरबाट बाबियो उठाएर पिङ बनाउथ्यौं।' त्यस्तै उनी पूजाआजामा पनि विशेष चाख राख्थे रे! उनी साथीहरुसँग मिलेर पूजामा बली दिन कुखुराको भाले किन्थे। उनले ती विगत यसरी बताए, 'पूजा गरेर बली दिन भाले किन्थ्यौ जसका लागि सबैसँग पैसा उठाउथ्यौं।'

साथीसँग पिङ खेल्दा धेरैचोटी लडेका घटना यसरी सुनाए शंकरले, 'बच्चामा पिङ खेल्दा धेरैचोटी लडियो। दुई जना भएर खेल्न खोज्थ्यौं। अनि लड्थ्यौं। तैपनि रमाइलो हुन्थ्यो। राती अबेरसम्म पनि पिङ खेलेर बिताउथ्यौं।'

विदेशको दशैं र आर्मी ड्रेस उपहार

शंकरले पोहोर सालको दशैं पनि नेपालगञ्जमै मनाएका थिए। तर गीत संगीत क्षेत्रमा लागेयता उनका केही दशैं देश बाहिरै बिते। उनले बेलायत, अमेरिका, इजरायल, कतार, भारत लगायतका देशमा रहेका वैदेशिक रोजगारीमा गएका नेपालीमाझ गाउदै नाच्दै दशैं मनाएका छन्।

शंकरले विदेशको दशैंमध्ये २०६९ सालको दशैं विशेष रुपमा सम्झन्छन्। उनी लगायत नेपाली लोकदोहोरी कलाकारलाई ०६९ सालमा ब्रिटीस आर्मीले दशैंको अवसरमा निमन्त्रण गरेको थियो। उनी त्यो दशैं सम्झन्छन्, 'नेपाली मेजरसाप हुनुहु्न्थ्यो उहाँबाट टीका थाप्न लाइन लागयौ। अनि दक्षिणा थाप्यौं।'

'भगवानले नाच्नलाई नै यो धर्तीमा पठाएको हो कि!' लाग्ने गरेको बताउने शंकर भन्छन्- ब्रिटीस आर्मीहरुलाई धेरै नचाइयो। रमाइलो गरियो। मलाई आर्मीको ड्रेस पनि दिनुभयो।' आर्मीको ड्रेसमा नाचेको हुनाले ब्रिटिस आर्मीले विशेष गिफ्ट दिएको रहेछ- आर्मीको ड्रेस। लोकगीत भिडियोमा आर्मीको ड्रेसमा देखिने शंकरले भने 'अहिले जति पनि आर्मीको ड्रेसमा नाच्ने गर्छु सबै उनीहरुले गिफ्ट दिएका हुन्। उनीहरुले मलाई 'तपाई लाहुरेको ड्रेसमा नाच्नुपर्छ' भनेर विशेष मायास्वरुप त्यो गिफ्ट दिएका थिए।' त्यसपछि उनले गायिका मुना थापा मगरका बेलायतमै बसोबास गर्ने दिदी भिनाजुका हातबाट पनि टीका थापेका थिए।

विदेशमा रहेका नेपालीले दशैं तिहार र नयाँ वर्षको बेला कलाकार विदेश जाँदा धेरै माया गर्छन्। उनीहरु आफ्नो विदेश बस्दाको पीडा भुलेर कलाकारको विशेष पर्वमा विदेश जानुपर्दा यसो भन्ने गरेको सुनाए 'कलाकारहरुको जिन्दगी नि यस्तै हो है, चाडबाड भन्न पनि नपाइने!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.