थाहा संवाद : स्थानीय सरकार

सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे हुनेछन् : खाँदबारी नगरपालिका प्रमुख खतिवडा
SHARES

असार २७, २०७५

    प्रदेश १ मा पर्ने संखुवासभा जिल्लामा रहेको खाँदबारी नगरपालिका सदरमुकाममा पर्छ। यो यस जिल्लाको सबैभन्दा पुरानो  नगरपालिका पनि हो। नयाँ संरचनाअनुसार यस नगरपालिकामा ११ वटा वडा छन्। 

    नेपालको संविधानअनुसार संघीय शासन प्रणलीले व्यवस्था गरेअनुसार स्थानीय तह पुन:संरचनाअन्तर्गत साविक खाँदबारी नगरपालिकाका १३ वटा वडा र शीतलपाटी गाविस पूरै क्षेत्र समेटेर नेपाल सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर खाँदबारी नगरपालिका बनाएको हो। पुन:संरचनापछि कायम यस नगरपालिकाको क्षेत्रफल १२२.७८ वर्ग किलोमिटर छ। 

    यस नगरपालिकाको पूर्वमा सभा खोला, पाँचखपन नगरपालिका तथा सभापोखरी गाउँपालिका, दक्षिणमा सभा खोला, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका, पश्चिममा अरुण नदी, भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका तथा उत्तरमा चिचिला गाउँपालिका रहेका छन्। यस नगरपालिकामा महिलाको संख्या ५२.६२ प्रतिशत रहेको छ भने पुरुषको प्रतिशत ४७.३८ छ। विश्वकै होचो उपत्यका भनेर चिनिने अरुण उपत्यकाभित्र रहेको विमानस्थल तुम्लिङटारमा उभिएर विश्वको पाँचौँ उच्च हिमशृंखला मकालुको दृश्यावलोकन गर्न सकिन्छ। जोगवनी किमाथांका सडक यही नगरपालिकाको मध्यभाग भएर गएको छ। यहाँ विभिन्न जाति, जनजातिहरूको मिश्रित बसोबास छ। 

    समुन्द्री सतहदेखि ४५७ मिटरको उचाइमा तुम्लिङटार रहेको छ भने नगरपालिकाको सबैभन्दा उच्च ठाउँ लहरी गुफाथानको उचाइ दुई हजार ३३५ मिटरको उचाइमा रहेको छ। नगरपालिकाभित्र विविध किसिमको मौसम, हावापानी र वातावरणको अनुभूति गर्न सकिन्छ। सोहीअनुसार जमिनको उपयोग र उत्पादन पनि हुने गरेको छ। यहाँ रुद्राक्षको राम्रो सम्भावना छ।

    खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडा भोजपुर जिल्लाको साविक कुलुङ गाविस– ४ काम्लेटारमा २०१४ चैत २७ मा जन्मिएका हुन्। प्राथमिक तहको शिक्षा गाउँकै श्री सिंहमालिका प्राथमिक विद्यालय र माध्यमिक शिक्षा श्री वीरेन्द्र माध्यमिक विद्यालय कुलुङबाट लिएका थिए। 

    २०३० सालमा एसएलसी उत्तीर्ण गरी २०३१ भदौदेखि शिक्षण पेशामा आबद्ध भए। उनले अध्ययनकै क्रममा २०३५ देखि २०३७ सम्म महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट दुई वर्षे पूर्वव्यावसायिक शिक्षा लिँदै त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको शिक्षा प्राप्त गरेका हुन्। २०३१ भदौदेखि २०५४ मंसिरसम्म शिक्षण पेसामा रहेर २०५४ पुसदेखि शिक्षण पेसाबाट उनले अवकाश लिएका हुन्। २०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका खतिवडा संखुवासभा जिल्लाको तत्कालीन नेकपा माले पार्टीको जिल्ला संगठन कमिटीमा अाबद्ध भएका थिए।

    त्यस्तै, नेकपा एमालेको गाउँ, जिल्ला कमिटी सदस्यसमेत भए उनी। संखुवासभाको विकास निर्माणको काममा संलग्न हुने क्रममा लेगुवा–तुम्लिङटार सडक निर्माणको नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै अन्य सामाजिक समिति, संघसंस्थाहरूमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ। कामकै सिलसिलामा २०५१ सालदेखि खाँदबारीको मंगलादेवीथानमा स्थायी बसोबास गर्दै आएका छन् खतिवडा।

    उनै नगर प्रमुख मुरारीप्रसाद खतिवडासँग थाहाखबरकर्मी भविन कार्कीले गरेको कुराकानी प्रस्तुत छ।

    चुनावताका गरिएका घोषणा वा प्रतिबद्धता के कति पूरा भए?

    निर्वाचनका बेला गरिएका घोषणा पूरा गर्न प्रयत्न भइरहेको छ। नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार भएका कारण पार्टीले अघि सारेका प्रतिबद्धताहरू मेरा पनि प्रतिबद्धता हुन्। तिनीहरूलाई संस्थागत रूपमा पूरा गर्न प्रयत्न जारी रहनेछ। 

    यो एक वर्षको अवधिमा कामको थालनी मात्र भएको छ। सानातिना कामका योजनाहरू मात्र पूरा भएका छन्। अधिकांश बाँकी छन्। 

    एक वर्षको अवधिमा त निकै काम पूरा हुनसक्थे नि, किन पूरा गर्न सकिएनन्?

    हाम्रा प्रतिबद्धताहरू एकै वर्षमा पूरा हुने होइनन्। सानातिना प्रतिबद्धताहरू पूरा हुने क्रममा छन्। वहुवर्षीय खालका योजनाहरू बाँकी छन्। कतिपय प्रतिबद्धताहरू ऐन कानुन बन्न बाँकी रहेका कारण पनि पूरा भएका छैनन्। कतिपय प्रतिबद्धता जनशक्ति अभावका कारण बाँकी छन्। 

    यो संक्रमणकालीन अवस्थामा चाहेजस्तो र सोचेजस्तो काम हुन सकिरहेको छैन। जनताका आकांक्षा पनि असीमित छन्। स्रोत र साधनको अभाव छ। तथापि, यसलाई पूरा गर्न अथक प्रयत्न भइरहेको छ। 

    खाँदबारी नगरपालिकामा के कस्ता समस्याहरू छन्?

    यस नगरपालिकाका समस्याहरू विभिन्न खालका छन्। पहिलो त आवश्यक कर्मचारीको अभाव छ। यस कारण वडाबाटै हुनुपर्ने सेवा प्रवाह हुनसकेको छैन। वडा कार्यालयका लागि भवन छैनन्। विषयगत शाखाहरूलाई भवनको अभाव छ। आन्तरिक रूपमा पनि केही समस्याहरू छन्। केही पुराना भुक्तानीका लागि दायित्वहरू छन्। तर विधिसम्मत दायित्व नसरेका कारण विधि बनाएर फछ्र्यौट गर्न समय लागेको छ। ऐन, नियम, कार्यविधि निर्माण भइसकेका छैनन्। निरन्तर प्रक्रियामा छन्।

    नगरभित्रका समस्या कसरी समाधान गर्न सकिन्छ? केके छन् समाधानका योजनाहरू?

    सबै समस्याको समाधान संघीय र प्रदेश सरकारको सहयोगमा गर्न सकिन्छ। दीर्घकालीन गुरुयोजना निर्माण गरेर समस्याको सम्बोधन गर्ने प्रयत्न हुनेछ। कर्मचारी अभावलाई पूर्ति गर्न प्रयत्न भइरहेको छ। कार्यालयभित्र पनि केही आन्तरिक समस्याहरू छन्। तिनीहरूको समाधान पनि उत्तिकै आवश्यक भएकाले त्यसलाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ। वडा कार्यालयहरूको व्यवस्थापन र सञ्चालन सबैभन्दा बढी संवेदनशील विषय भएको छ। तत्कालै सेवा प्रवाह गर्न पहल भइरहेको छ।

    स्थानीय तह सञ्चालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

    स्थानीय तहको सञ्चालनमा नीतिगत र व्यावहारिक समस्या रहेका छन्। नेपालको संविधानले व्यवस्था गरेका अधिकारहरूको कार्यान्वयनका लागि ऐन निर्माण भइसकेका छैनन्। विज्ञहरूको अभाव छ। कतिपय ऐनहरू संघ र प्रदेश सरकारद्वारा निर्माण हुनुपर्नेछ। ऐन कार्यान्वयनका लागि नियमावली तयार हुनुपर्छ। त्यसका आधारमा कार्यविधि निर्माण हुनुपर्छ। त्यसपछि मात्र काम विधिपूर्वक अघि बढ्न सक्छ। हामी अहिले त्यही निर्माण प्रक्रियामा छौँ।

    ती समस्यालाई समाधान गर्न संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तह आफैँले केके गर्नुपर्छ जस्तो लाग्छ? 

    बजार क्षेत्रको ढलको उचित व्यवस्थापन गर्न योजना संचालन गर्ने, धार्मिक पर्यटनलाई व्यवस्थित गर्ने र मनकामनालाई योजनावद्घ विकास गर्ने, एउटा व्यवस्थित सभाहलको निर्माण, कृषि बजार र कोल्ड स्टोर निर्माण, संचार क्षेत्रको विकास र विस्तारका लागि मिडिया र मिडियाकर्मीहरूसँग कार्यक्रम साझेदारी गरिनेछ।

    माथिका समस्या समाधान गर्न पहिलो विषय प्रदेश र संघीय सरकारले विज्ञहरूको व्यवस्था मिलाइदिएर ऐन नियमहरूको निर्माण गर्नुपर्छ। दोस्रो, त्यसको कार्यान्वयनमा आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन हुनुपर्छ। तेस्रो, स्रोत साधनको अभाव भएका स्थानीय तहहरूलाई आवश्यक मात्रामा स्रोतको व्यवस्थापन गरिदिनुपर्छ। चौथो, सीप र प्रविधि हस्तान्तरण हुनुपर्छ। पाँचौँ, निष्पक्ष र इमान्दारीका साथ अत्यन्त सुविचारित ढंगले स्थानीय तहले तिनलाई कार्यान्वयनमा लैजानुपर्छ। 

    तपाईंका अबका  विशेष योजना के छन्? ती योजना पूरा गर्ने आधार केके हुन्?

    पाँच वर्षे कार्यकालमध्ये एक वर्ष बितिसकेको छ। अबका चार वर्षभित्र पूरा गर्ने कामका योजनाहरूमा सबै वडा कार्यालयहरूको समुचित व्यवस्थापन गरी वडाबाटै सेवा प्रवाह सुचारु गर्ने, नगरपालिकाको कार्यालयबाट सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्नेछन्। 

    यसरी नै नगरको एकीकृत शहरी विकास गुरुयोजना तयार पारी व्यवस्थित शहर निर्माण गर्ने, नगरका सबै टोलबस्तीसम्म विद्युत् आपूर्ति गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, पर्यटनको गुरुयोजना तयार पारी पर्यटकीय नगर निर्माण गर्ने योजना छन्।

    नगरले लगानी गरी निर्माण भएका सडकहरूको लगत कट्टा गरी बाह्रै महिना सञ्चालन हुनेगरी स्तरोन्नति गर्ने, करको दायरालाई फराकिलो पारी सबै क्षेत्रलाई करको दायरामा ल्याई आयस्रोत वृद्धि गर्ने, उद्योग स्थापनामा सहयोग गरेर रोजगारीको सिर्जना गर्ने, कृषिका पकेट क्षेत्र निर्धारण गरी किसानलाई आत्मनिर्भर बनाउन लगानी गर्ने, कृषि पर्यटनको विकास गर्ने, लिफ्ट सिँचाइमार्फत् सिँचाइ सुविधा वृद्धि गर्ने, उन्नत पशुपालनमार्फत् दूध र मासुमा आत्मनिर्भर बनाउन सहयोग गर्नेलगायतका योजना अघि सार्ने सोचमा छौँ। 

    फोहोर मैला व्यवस्थापन गर्ने र कम्पोष्ट मल निर्माणमा सहयोग गरी रसायनिक मलको प्रयोग नियन्त्रण गर्ने, सूचना र प्रविधिको विकास र व्यवस्थापन गरी प्रविधियुक्त नगर निर्माण गर्ने, प्राविधिक शिक्षालाई प्राथमिकता दिई आवश्यक प्राविधिक जनशक्ति तयार गर्ने, स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँच हुनेगरी व्यवस्था गर्ने र औजार उपकरणको उचित व्यवस्थापन गरी स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्ने पनि योजना छ। 

    सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाई नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रत्येक वडामा वडा प्रहरी कार्यालयको स्थापना गर्ने, खेल क्षेत्रको व्यवस्थित विकासका लागि एउटा रंगशाला र एउटा कभर्ड हलको अनिवार्य व्यवस्था गर्ने, जग्गा विकास (ल्याण्ड पुलिङ) कार्यक्रमअन्तर्गत तुम्लिङटारमा नमुना बस्ती विकास गर्ने, बजार क्षेत्रको ढलको उचित व्यवस्थापन गर्न योजना सञ्चालन गर्ने, धार्मिक पर्यटनलाई व्यवस्थित गर्ने र मनकामनालाई योजनाबद्ध विकास गर्ने, एउटा व्यवस्थित सभाहलको निर्माण, कृषि बजार र कोल्ड स्टोर निर्माण, सञ्चार क्षेत्रको विकास र विस्तारका लागि मिडिया र मिडियाकर्मीहरूसँग कार्यक्रम साझेदारी गरिनेछ।

    यस्तै योजनाहरूको कार्यान्वयनमा प्राथमिकता दिनसके आगामी चार वर्षभित्र नगरको मुहार फेर्न सकिन्छ भन्ने आत्मविश्वास लिइएको छ। यसका लागि सबै नगरबासीहरूले साथ सहयोग गर्नु आवश्यक छ। विशेष गरेर व्यापारी, व्यवसायी, उद्योगपति, अन्य रोजगारीमा रहनुभएका सम्पूर्ण महानुभावहरूसँग योजनाहरूको सफल कार्यान्वयनमा नगरपालिकाले साझेदारीको अपिल गरेको छ। निजी क्षेत्रहरूसँगको साझेदारी नगर विकासको हाम्रो मुख्य आधार हुनेछ। 

भविन कार्की

कार्की थाहाखबरका संखुवासभा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]