|

थाइल्याण्डको उत्तरी इलाकामा करिब दुई हप्तादेखि थुनिएर रहेका १२ बालक र एक जना प्रशिक्षकमध्ये चार बालकलाई आइतबार सकुशल उद्धार गरिएको छ।

लामो समयसम्म गुफामा फसेका बालकहरूलाई नजिकैको शिविरमा लगिएको र उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा सम्लग्न समूहका एक सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए।

यद्यपि थाइल्याण्डको सरकारले दिएको जानकारीमा दुई बालकको सकुशल उद्धार गरिसकिएको र दुई अन्यलाई छिट्टै बाहिर ल्याइने बताइएको छ।

थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरूका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार पनि बिहानैबाट सुरु भएको थियो। उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए।

उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ। उनीहरूलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजनभित्र पठाउने ‘चिम्नी’ बनाइएको छ।  गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धारकार्यमा सम्लग्न एक सदस्यले बताए।

गुफामा फसेका बालकहरु ११ देखि १६ बर्षसम्मका रहेका छन् भने उनीहरूका प्रशिक्षक २५ वर्षका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.