|

जाजरकोट : छेडागाड नगरपालिका–३ अन्दरकोटकी २५ वर्षीया गीता सुनार केही समयअघि नयाँ मान्छेसँग बोल्न पनि डराउँथिन्। चुलोचौको र मेलापातमै सीमित उनी आर्थिक रूपमा श्रीमानको भरमा थिइन्। तर, अहिले उनको अवस्था फेरिएको छ। दुई महिने सिलाइकटाइ तालिम लिएसँगै निःशुल्क सिलाई मेसिन पाएपछि उनमा आत्मविश्वास बढेको छ।

सिलाइकटाइ सिकेसँगै उनी सबैसँग निर्धक्क भएर कुरा गर्न सक्ने भएकी छिन्। ‘सीप सिकेपछि आत्मविश्वास बढ्दो रहेछ,’ उनले भनिन्, ‘केही दिनमै सिलाइकटाइ व्यवसाय सुरु गर्ने सोचमा छु।’

यसअघि दिनभरि गफ गरेर त्यत्तिकै समय बित्ने गरेको उनले बताइन्। तर, सीप सिकेसँगै उनको दैनिकी मात्र होइन जीवनमा नै परिवर्तन अएको छ। ‘श्रीमानकै कमाइमा पुरै परिवार निर्भर हुनु पथ्र्यो तर अहिले मैले पनि कमाउन थालेकी छु,’ उनले सुनाइन्, ‘गफ गरेर बित्ने समयमा सिलाइकटाइ गर्छु, दुईचार पैसा आम्दानी समेत गर्न थालेकी छु।’

सोही गाउँकी २७ वर्षीया कमला शर्माको पनि दैनिकी फेरिएका छ। सिलाइकटाइ तालिम र निःशुल्क सिलाइ मेसिन पाएपछि उनमा आत्मविश्वास जागेको छ। केही गरौं भन्ने जाँगर थपिएको छ। उनले भनिन्, ‘म केही दिनमै सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हुन चाहन्छु।’

गीता र कमलाजस्तै अन्दरकोटका २० जना महिलाले सिलाइकटाइ तालिम लिएका छन्। सीप सिक्ने अवसर पाएकोमा आफूहरु उत्साहित भएको उनीहरू बताउँछन्। घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान र एभरेष्ट क्लब दैलखको सहजीकरणमा लघु उद्यम विकास कार्यक्रमअन्तर्गत उक्त तालिम दिइएको हो। 

तालिममा सहभागीहरूलाइ निःशुल्क सिलाइ मेसिन, कैंची र कही थान कपडा समेत दिइएको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत इन्दिरा भुषालले जानकारी दिइन्। आर्थिक रूपमा पछि परेका समुदायका मानिसहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने लघु उद्यम कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। अन्दरकोटका महिलाहरू तालिम लिएपछि उत्साहित भएको भुषालले बताइन्। उनले भनिन्, ‘थोरै सहयोगले उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा लिएका छांै।’

यस गाउँका प्रायः पुरुषहरू मजदुरीका लागि भारत जाने गरेका छन्। भौगोलिक रूपमा विकट यहाँका नागरिक आर्थिक रूपमा कमजोर छन्। यस्ता क्षेत्रमा महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गरेको पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिपजंग शाहले बताए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.