पानीको अाहालमा बसेर काम गर्दै कर्मचारी

|

रौतहट : गौर अस्पतालको भवन हस्तान्तरण नहुँदै जीर्ण बनेको छ। गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका कारण अहिले माथिल्लो तल्लाको छतबाट पानी भित्र पसेर काेठामा अाहाल बनेको छ।

५० शय्याको तीनतले अत्याधुनिक अस्पताल भवन बनाउन सरकारले बजेट निकासा गरी टेण्डर आह्वान गरेको थियो। पाँच करोड तीन लाख चौरासी हजार ८९१ रुपैयाँ लागतमा सुविधासम्पन्न अस्पताल बनाउन २०६२ असार २९ गते युनाइटेड, पप्पु, जिएसको ज्वाइन्ट भेन्चरलाइ ठेक्का मार्फत निर्माण सुरु गराएको थियो। 

२०६४ साल असार मसान्तभित्र निर्माण सक्नु पर्ने भए पनि करिब सात वर्षपछि २०६९ असोज २१ गते तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले उद्घाटन गरेका थिए।पूर्ण रूपले तयार नभएको अस्पताल भवनको उद्घाटन नगर्न स्थानीय बासिन्दा तथा नागरिक समाजले दबाब दिएका थिए। तर कडा सुरक्षाबीच अस्पतालको उद्घाटन भएको थियो।

अहिले भवनको तेस्रो तलामा कुनै पनि काम हुन सकेको छैन। अस्पतालका केही फाँट रहेको तल्लामा पानीको अाहालमा बसेर काम गर्ने पर्ने कर्मचारीको बाध्यता छ। अस्पतालका कागजात असुरक्षित रहेको सो तल्लामा रहेको तथ्यांक फाँटका प्रमुख सत्यनारायण यादवले बताए। ‘पानी परेको बेला छत चुहिएर तल काम गर्न नसक्ने अवस्था हुन्छ’, फाँट प्रमुख यादवले भने, 'यहाँ बसेर काम गर्ने अवस्था छैन।  कार्यालयका कागजपत्रसमेत असुरक्षित छन्।’ 

अस्पतालका मेडिकल सुपरिटेन्डेट तथा कार्यालय प्रमुख डा. कृष्ण साहले भवन पुन निर्माणका लागि सम्बन्धित निकायलाई पत्रचार गरेको बताए। माथिल्लो छत पुनर्निर्माण गर्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगञ्जलाइ पत्रचार गरेको डा. कृष्ण साहले बताए। भवन नयाँ भए पनि गुणस्तरहीन भएका कारण जीर्ण देखिएको छ। यसको पुनर्निमार्ण हुनुपर्छ।’

भवन अस्पताललाई हस्तान्तरण भए नभएको समेत आफूलाई थाहा नभएको डा. साह बताउँछन्। उनले भने ‘भवन उद्घाटन भयो तर हस्तान्तरण भएको नभएको मलाइ थाहा छैन। यसबारे  ठेकेदारलाई पनि पत्रचार गरेको छु।’ भवन अस्पताललाइ हस्तान्तरण गरेको कागज आफूसँग नभएको बताउँदै डा. साहले भवन अस्पताललाइ हस्तान्तरण भएको भए प्रमाण ल्याउन निर्माण कम्पनीलाई पत्रचार गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.