|

भद्रपुर (झापा) : प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा तीन भारतीय, दुई नेपाली युवतीसहित सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई झापाको बिर्तामोड नगरपालिका–१ स्थित भ्यू पोइन्ट होटल एण्ड लजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सामाजिक मर्यादाविरुद्धका बिकृति फैलाउने कार्य भएको स्थानीयको गुनासोको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी टोलीले छापामा मार्दा उनीहरुलाई आइतबार बेलुका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीले होटलबाट नियन्त्रणमा लिएका भद्रपुर नगरपालिका–६ का २७ वर्षीय प्रनेश अधिकारी, भारत किसनगञ्ज बिहारका ३२ वर्षीय विनय दास, सोही ठाउँका २० वर्षीय अनवर राईन, २८ वर्षीय आशिक आलम, इलाम माईजोगमाई–४ का २४ वर्षीय प्रकाश बिक, पाँचथर रानीगाउ–६ की १९ बर्षीय सुष्मा लिम्बु र इलाम माई नगरपालिका–९ की २० वर्षीया रोशनी तामाङ रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए।

नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। झापाका होटलमा यौनजन्य गतिविधि बढेको भन्ने स्थानीयको गुनासो आधारमा प्रहरीले निगरानी बढाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.