|

काठमाडौं : नायक दिलीप रायमाझीलाई सफल नायकको रूपमा लिइन्छ। उनले अभिनय गरेका धेरै फिल्महरू सफल पनि छन्। उनी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा राम्रो नृत्य गर्ने नायकको रूपमा पनि चिनिन्छन्।

दिलीप सानै उमेरदेखि नाच्न रुचाउँथे। कतै गीत बजेको सुन्नै हुँदैनथ्यो, दौडेर नाच्न पुग्थे। विद्यालयमा पनि सरस्वती पूजा, अभिभावक दिवस वा अन्य कार्यक्रमहरू उनका लागि विशेष बन्थे। किनकि, उनी त्यहाँ नाच्न पाउँथे। आफ्नो प्रस्तुति दिन पाउँथे। नाच्न पाउने हरेक कार्यक्रमहरू उनलाई विशेष लाग्थे।

कक्षा १० सम्मको पढाइ सकेपछि उनलाई नृत्य सिक्न मन लाग्यो। पुतलीसडकमा रहेको डान्स इन्ष्टिच्युटमा उनी नृत्य सिक्न भर्ना भए। त्यहाँ राजु शाहले नृत्य सिकाउँथे। उनी त्यहाँ सिक्दै गए। नृत्य सिकिरहँदा उनलाई फिल्ममा नाच्ने रहर पलाउँदै गयो।

उनका नृत्य गुरु राजु शाहले ‘सडक’ फिल्ममा नृत्य निर्देशन गर्दै रहेछन्। दिलीप अनि उनको टिमलाई राजुले कोरसमा नाच्न लगे। फिल्ममा नाच्न पाउने भएपछि खुसीको सीमा थिएन दिलीपमा। तर, विडम्बना! उनले नाच्दा उनको अनुहार देखिँदैनथ्यो। उनले कोरसमा नाच्दा पनि पछाडि फर्किएर नाच्नुपर्ने भयो। तर, पनि उनी खुसी नै थिए। ‘आखिर फिल्ममा त नाचियो नि’, उनले भने।

अब उनलाई फिल्ममा अनुहार देखाएर नाच्ने मन लाग्यो। धेरै फिल्ममा कोरस नाचिसकेका उनलाई त्यो शोख पूरा गर्न झन्डै एक वर्ष लाग्यो। भन्छन्, ‘लगभग एक वर्षपछि फिल्म ‘परिभाषा’मा काम गर्दा अनुहार देखाएर नाच्ने अवसर पाएँ।'

०५२ सालतिर उनले एउटा ‘एनटिभी नाइट’मा नाच्ने अवसर पाए। त्यहाँ दिएको प्रस्तुतिबाट धेरै नेपालीले उनलाई चिने पनि। लगत्तै उनले 'मोसन पिक्चर्स अवार्ड'मा नाच्ने अवसर पाए। जहाँ फिल्म क्षेत्रका हस्तीहरू उपस्थित थिए। उनले त्यहाँ दिएको प्रस्तुतिबाट उपस्थित सबै प्रभावित भए।

वरिष्ठ निर्देशकहरू तुलसी घिमिरे, यादव खरेल, शिव रेग्मी, नारायण पुरी पनि उनको नृत्यको फ्यान भए। उनीहरूले दिलीपलाई फिल्ममा खेलाउन चाहे। तर, दिलीपले त्यो कुरा पत्तै पाएनन्। उनले त्यहाँ प्रस्तुति दिए अनि आफ्नो बाटो लागे। त्यसबेला फोन थिएन। दिलीपसँग सिधा सम्पर्क गर्न कसैले सकेनन्।

निर्देशकहरूले आफूलाई खोजिरहेको दिलीपले थाहा पाए। उनलाई फिल्ममा खेलाउन जोसुकै निर्देशक पनि तयार थिए। त्यसबेला दिलीपलाई तुलसी घिमिरे मनपर्थ्यो। उनैलाई भेट्न गए। फिल्म खेल्ने पक्का भयो। निर्देशक घिमिरेले उनका लागि भनेर ‘दर्पणछाया’को कथा लेख्न थाले। तर, दर्पणछाया छायांकन नहुँदै ‘भानुभक्त’मा काम गरे। यस फिल्मलाई यादव खरेलले निर्देशन गरेका थिए।

फिल्मको छायांकनमा जाँदाको रमाइलो किस्सा छ उनीसँग। पहिलो दिन सुटिङमा जाँदा निकै दु:ख पाएका थिए। चारैतिरबाट लाइट दिइएको थियो, बीचमा थिए दिलीप। त्यो लाइटको असरले दिलीप फिल्म नगर्ने सोचमा समेत पुगिसकेका थिए। उनी सम्झिन्छन्, 'त्यो लाइटले मेरो आँखाको चेकअप नै गर्नुपर्‍यो। अनि लागेको थियो कि फिल्म नै छोडिदिऊँ।'

'भानुभक्त'पछि उनले लगातार 'दर्पणछाया', 'दोमन', 'आफ्नो मान्छे', 'लक्ष्मणरेखा', 'जिन्दगानी', 'नातेदार'लगायत नौवटा फिल्ममा अभिनय गरिसकेका थिए। तर, उनको एउटा पनि फिल्म रिलिज भएको थिएन। उनको पहिलो फिल्मका रूपमा 'भनुभक्त' रिलिज भयो। भनुभक्तले व्यावसायिक सफलता हासिल गर्न सकेन।

केही समयपछि उनी अभिनित फिल्म 'दर्पणछाया' प्रदर्शनमा आयो। 'दर्पणछाया' निकै सफल भइदियो। त्यसयता उनले फिल्म क्षेत्रमा फर्किएर पछाडि हेर्नु परेन। उनी भन्छन्, 'मैले एक दिनमा सातवटा फिल्ममा समेत काम गरेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.