|

वीरगन्ज :आयात प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउन कस्सिएको मुलुकको एउटा नाकाबाट मात्र गएको ११ महिनामा झण्डै दुई खर्ब रकम बाहिरिएको छ। मुलुकभित्र आयात गरेर ल्याइएका सामानहरू मध्ये ‘टप १५ आइटम जिरो' बाट मात्र यत्रो रकम बाहिरिएको हो। 

चालु आर्थिक वर्षको साउनदेखि जेठ सम्ममा वीरगन्ज नाकाबाट मात्र एक खर्ब ८६ अर्ब ४५ करोड चार लाख ५० हजार रकम प्रमुख आयात भएका १५ मालवस्तुबाट मात्र बाहिरिएको छ। निर्यात भने उतिनै मालवस्तुको तुलनामा छ अर्ब २६ करोड ५० लाख ९९ हजारको मात्र भएको देखिन्छ। यो भनेको आयात र निर्यात भएका प्रमुख १५/१५ वटा मालवस्तुको तुलनामा एक खर्ब ८० अर्ब १८ करोड ५३ लाख ५१ हजारले बढी हो। 

उक्त रकमबाट आयात भई नेपाल भित्रिएका प्रमुख १५ मालवस्तुमा हाइस्पिड डिजेल, लोडर स्काभेटर, एप पी ग्यास, पेट्रोल, औषधि एलोपेथिक, भटमासको तेल कच्चा, मोटरसाइकल, जीप, कार, भ्यान, एमएस विलेट, एचआरसीट, सिमेन्ट क्लिंकर, ए टी एफ, पत्थर कोइला, बस, ट्रक चेसिस र अन्य औद्योगिक मेसिनरी सामान रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

नेपालतर्फबाट भने जुस, जाम, स्पोर्ट सुज (सेन्थेटिक सुज) अन्य रेसाको कपडा, दन्तमन्जन, उनी गलैचा, कार्पेट, पिना, जीवजन्तुको दाना (फिड सप्ली) जमोठ कपडा, बत्तीसा त्रिफला, बवाज तथा च्यावनप्रास, आयुर्वेदिक औषधि, तयारी कपडा, राँगा भैंसीको तयारी छाला र जि आइ पाइप रहेको वीरगन्ज भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ। 

आयात भएका उक्त सामानहरूबाट आर्थिक वर्ष २०७३⁄०७४ मा ४३ अर्ब ७३ करोड २९ लाख पाँच हजारले कम रकम मुलुकबाट बाहिरिएको थियो। यो भनेको टप १५ मालवस्तुमा कुल एक खर्च ४२ अर्ब ७१ करोड ७५ लाख ४५ हजार मात्र हो। तर समीक्षा अवधिमा भने अझ बढेको देखिन्छ। यता निर्यात भएका उति नै मालवस्तुको तुलनात्मक विवरणमा भने गतवर्षको ११ महिनामा भन्दा चालु अर्थिक वर्षको ११ महिनामा चार अर्ब २२ करोड ६८ लाख ५५ हजारले कमै निर्यात भएको छ। समीक्षा अवधिको सोही समयमा गत वर्ष १० अर्ब ४९ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरको सामान वीरगन्ज भन्सार नाकाबाट बाहिर निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोख्रेलले बताए। 

आयात निर्यातको तुलनात्मक विवरणमा पनि समीक्ष अवधिमा टप १५/१५ आइटममा नेपालले एक खर्ब ३२ अर्ब २२ करोड ५५ लाख ९१ हजारको मात्र व्यापार घाटा व्याेहोरेको थियो। तर यो वर्ष भने यति आइटममा नै व्यापार घाटा बढेर एक खर्च ८० अर्ब १८ करोड ५३ लाख ५१ हजार पुगेको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.