|

गोरखा : हिउँदयाममा फ्याट्टफुट्ट चल्ने ग्रामीण कच्ची सडकमा जिपको दादागिरी वर्खायाम लागेसँगै सुरु भएको छ। रुट पर्मिट नभएका ती जिपहरू विनाअबरोध निर्धक्क जिल्लाको भच्चेक-भालुस्वाँरा सडक क्षेत्रमा गुड्छन्।

विशेष गरी १२ किलो क्षेत्रबाट जिपहरू ग्रामीण सडकका लागि छुट्ने गर्छन्। ती रुटमा हिउँदयाममा मात्र ठूला बसहरू चल्ने गर्छन्। ‘जेठ लाग्दैमा वस चल्न छोडेको’ चित्रे पोखरी जान लागेकी सुनमाया गुरुङले भनिन् ‘बस नचले पनि घर जानै पर्‍यो। आउँदा पनि यही जिपमा आएको, अब जाँदा पनि त्यसैमा जान लागेको। भाडा हजार भनेको छ। हजार नदिने भए ओर्लनुस्।अरु जान्छ भन्छ अनि हजार दियो गयो।’ १२ किलोदेखि भच्चेक सम्मको दूरी ४० किलोमिटर मात्रै छ। 

केही दिन यता परेको अबिरल वर्षापछि बाह्रकिलो बजारदेखि छुट्ने छोप्राक, चित्रेपोखरी, थालाजुङ, भच्चेक, चनौटो जौबारी लगायतका क्षेत्रमा जिपवालाहरूको मनोमानी बढेको हो। भच्चेक जानका लागि हिँडेका रामशरण अधिकारीले ती क्षेत्रमा चल्ने जीपमा चढ्ने वित्तिकै एक हजार रुपैयाँ भाडा तिर्नुपर्ने वाध्यता रहेको बताए। ‘चढ्ने वित्तिकै एक हजार तिर्नुपर्छ। नत्र जान पाइँदैन’ उनले भने, ‘१२ किलोमा प्रहरी, ट्राफिक कै अगाडि एक हजार भाडा तिर्दा देखे पनि नदेखेको जस्तो गर्छन्। यिनै ट्राफिकले भच्चेक जाने हो भने उता तल जिप छ जानु भनेर मान्छे समेत खोज्दिन्छन्।’ १२ किलोमा चोक भन्दा ५० मिटर तल खोँचमा जिपहरू पार्किङ गरेर राख्ने गरिएको छ।  

यातायात व्यवसायी संघ गोरखाले हिउँद याममा भच्चेक जानका लागि गोरखा बजारदेखि नै २६० रुपैयाँ भाडा लिने गर्छ। रातो नम्बर प्लेट रहेका जिपहरूले विना अनुमति प्रहरीकै अगाडि एउटा जिपमा १० जनासम्म यात्रु कोचेर ल्याउने लैजाने गरिरहेको छ। वर्खा लागेसँगै कच्ची सडकमा गुढ्ने सार्वजनिक बसहरू थन्किएपछि जिपहरूको मनोमानी बढेको हो।

यातायातको अन्य बिकल्प नभएपछि जोखिम माेलेरै भए पनि जिपमा यात्रा गर्न बाध्य भएका यात्रुले भाडादर भने साह्रै बढी भएको गुनासो गरेका छन्। ‘यस्तो बाटो छ। ५०० सम्म त ठिकै हाे। तर हजार/हजार भन्छ’ अधिकारीले भने। यसरी जिप व्यवसायीहरूले मनोमानी गर्दा पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नियमन निकायले वास्ता गरेको छैन। यता व्यसायीहरूले भने यात्रुलाई सुविधा दिन जोखिम मोलेरै भए पनि जिप चलाएको दाबी गरेका छन्।

आफ्नो लगानीलाई जोखिम राखेर सुविधा दिएको उनीहरूको दावी छ। हरेक दिन १२ किलोचोक भन्दा केही अगाडि झण्डै एक दर्जन जिपहरू यात्रुको प्रतीक्षामा बसिरहेका भेटिन्छन्। जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने यात्रु ठगिएको जानकारी पाए कारबाही गर्ने बताउँछन्।  
  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.