|

६९ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट, गुट र एकताका शृंखलाबाट गुज्रँदै आएको छ। वि. सं. २००६ मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीमा २०१९ सालको तेस्रो महाधिवेशनपछि नै दुई लाइनको संघर्ष भन्दै समूहगत विभाजनको शृंखला सुरु भयो। २०४६ सालसम्म आइपुग्दा एक दर्जन बढी कम्युनिस्ट पार्टीका रूपमा सक्रिय थिए। एउटा धार मार्क्सवादी–लेनिनवादी र मार्क्सवादी हुँदै २०४७ सालमा नेकपा एमालेका रूपमा विकसित भयो। अर्को धार मशाल, एकता केन्द्र हुँदै नेकपा माओवादी बन्यो। 

प्रजातन्त्र प्राप्तिसँगै एमाले संसदीय राजनीतिमा सहभागी भयो तर नेकपा माओवादी २०५२ सालदेखि सशस्त्र संघर्षमा होमियो। संसदीय खेल र सत्ता भागबण्डामा सामेल एमाले २०५४ सालमा विभाजित भयो र माले बन्यो। त्यो विभाजन लामो समयसम्म टिकेन र २०५८ सालमा एकता भयो। 

त्यसो त १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२/०६३ पछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि फुट सुरु भयो। 

संसदीय अभ्यासमा रहेका दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भयो। नाम नेपाल कम्युनिस्ट पार्टी नाम रह्यो।  टुटफुट, गुटमा विभाजित कम्युनिस्ट एकता कति दीर्घकालीन होला भनेर वाम विश्लेषक तथा नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालसँग थाहाखबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ।

पार्टी एकतापछि गठित नौ सदस्यीय सचिवालय, जो हाइकमान्ड भनिएको छ, तपाईंलगाएतका केही नेताहरू सुरुदेखि नै यसमा असन्तुष्ट हुनुहुन्थ्यो, अहिले सन्तुष्ट हुनभयो?

हा...हा... (लामो हाँसो), राजनीतिमा असन्तुष्ट हुने कुरा, नहुने कुराको खासै अर्थ हुँदैन। खासगरी हामीले त्यसको औचित्य के हो? त्यसले के गर्छ? भन्ने कुरा राखेका हौँ। त्यसमा रुष्टता, असन्तुष्टिको कुरा होइन। दोस्रो कुरा, यो पार्टी एकता गर्न हामीले व्यक्तिगत रूपमा भन्ने हो भने राजनीतिक, सैद्धान्तिक रूपमा आफ्नो तर्फबाट मैले योगदान गरेको छु। त्यसका आधारहरू तयार गर्नका लागि हिजोदेखि नै मैले योगदान गरेको हुँ। त्यस अर्थमा पार्टी एकता भएर अगाडि बढ्दा म रुष्ट हुने प्रश्न नै हुँदैन। कसैले किन हल्ला चलाएका छन्, मलाई थाहा छैन। 

यो नेपालको सन्दर्भमा, खासगरी कम्युनिस्ट आन्दोलनमा एक चीरप्रतीक्षित सपना हो। नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत होस् भन्ने चाहना थियो धेरैको, त्योचाहिँ भएको छ। त्यो निकै राम्रो भएको जस्तो लाग्छ मलाई।

तपाईंसँगैका उपमहासचिव विष्णु पौडेल हाइकमाण्डमा परे। महासचिवको जिम्मेवारी पाए। महमासचिव जो थिए, उनी अहिले छैनन्। उनीहरूभन्दा माथिका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवाराज ज्ञवालीहरू पनि पाखा लगाइए। अमृत बोहरा टिममै परेनन्, किन यस्तो भयो?

त्योचाहिँ अब पार्टी एकताको कुरा भयो। मैले भने नि धेरै राम्रो कुरा भयो। एकता प्रक्रियामा कतिपय कुराहरूमा कहीँ कतै हतारो, केही हुलमुल भएको जस्तो छ। त्यसो हुनाले म व्यक्तिहरूका बारेमा केही कुराहरू भन्न चाहन्नँ। जे भएको छ, त्यो असाध्यै राम्रो भएको छ तर जसरी भएको छ, त्यसमा हामीले करेक्सन गर्नुपर्छ। खासगरी हामीले सुरुमा सात जनालाई जिम्मा दियौँ, पछि त्यसभित्र दुई जना अध्यक्षलाई जिम्मा दिने परिस्थिति बन्न गयो। उहाँहरूले नै सबै कुराको निर्णय गर्दै जानुभयो। त्यसो गर्दा ठूलाठूला निर्णयहरू पनि उहाँहरू दुई जनाले गर्नुभयो। सात जनाका तर्फबाट निर्णय गर्ने जुन आवस्था सृजना भयो, त्यस दौरानमा केही कमजोरी भए, अब ती कमजोरी हटाउँदै जानुपर्छ।

पार्टी एकताको गृहकार्य भइरहँदा तपाईंले ‘दुई तान्त्रिकहरू टेन्ट टाँगेर बसेका छन्’ भन्ने अभिव्यक्ति दिनुभएको थियो, त्यो जिज्ञासा थियो कि असन्तुष्टि?

हा..हा..हा.. (पुनः लामो हाँसो), मैले नबुझेर सोधेको कुरा थिएन त्यो, बुझेर भनेको तथ्यको भनाइ थियो। 

कुनै समय केपी शर्मा ओलीले बयलगाडा चढेर अमेरिका जान सकिँदैन भनेजस्तै व्यंग्य थियो कि त्यो?

मैले भन्न खोजेको चाहिँ यति ठूलो महान् प्रक्रिया सुरु भइरहेको छ, चलिरहेको छ। एकताको प्रक्रिया चलिरहेको छ। दुई जना बस्छन् नेताहरू। आज अलिअलि मिलेजस्तो कुरा गर्छन्, भोलि मिलेन मिलेन जस्तो कुरा गर्छन्। अनि यिनको निजी सम्पति जस्तो, यिनले निर्णय गर्नेजस्तो गर्छन्। हजारौँ लाखौँ कार्यकर्ता बेखबर, यो लामो समय रहन हुँदैन भन्ने अर्थमा मैले भनेको हुँ त्यो कुरा।

पार्टी एकतापछि नेतृत्व चयन सहमतिको आधारमा भएको छ। आगामी महाधिवेशन पनि यही ढंगले र नेतृत्व चयन पनि त्यहीअनुसार हुने भनिएको छ। प्रजातान्त्रिक पद्धतिप्रति विश्वास र वकालत गर्ने तपाईं अहिले जस्तै केही नेताहरूलाई टिपेर महाधिवेशनमा टीका लगाइयो भने मान्नुहुन्छ?

यस्तो छ, सहमति भनेको त सहमति नै हो। फेरि पनि सहमति हो। लोकतान्त्रिक पद्धति छ, त्यो सहमति हो। हाम्रो यत्रो पार्टी छ। सबैलाई एक ठाउँमा ल्याउने भनेको विचारले हो। त्यो विचार विधिमा मूर्त हुन्छ। त्यो विधि भत्कियो भने हाम्रो संगठन चल्नै सक्दैन। त्यसले गर्दा त्यो विधिमा सहमति भनेको हो। व्यक्तिमा सहमतिको कुरै होइन। त्यसले गर्दा महाधिवेशनमा हामी चुनावमा गयौँ भने पनि सहमतिमा जान्छौँ, गएनौँ भने पनि सहमतिमा जान्छौँ। त्यो भनिएको हो। 

कसैले ठूलाठूला घटना घट्नुसम्मको नेतृत्व गर्छन्, घटना घट्ने बेला जस अरूले लैजाने परिस्थिति पनि बन्छ। त्यो आन्तरिक आन्दोलनभित्रको शक्ति सन्तुलनले निर्धारण गर्ने कुरा हो। नत्र भने यो कुरा त दुनियाँलाई थाहा छ कि वामदेव गौतम, झलनाथ खनालले वाम एकताको एजेण्डा निरन्तर उठाइरहनुभयो। यो कुरालाई त ओझेलमा पार्न सकिँदैन नि! 

अहिलेको सिण्डिकेटझैँ केही नेतालाई टिपेर ल्याइयो भने के गर्नुहुन्छ?

त्यसो भयो भनेचाहिँ फेरि दुर्भाग्य हुन्छ। यो मेरो प्रश्नै होइन, समग्र पार्टीको प्रश्न हुन्छ। मुलुकको राजनीतिको प्रश्न हुन्छ। यत्रो ठूलो पार्टीमा त्यहाँभित्र कसैलाई कसैले टीका लगाउने कल्पना गर्न सकिँदैन। किनभने यो एक दुई जनाले चलाएको पार्टी होइन, दुई जनाले बनाएको पनि होइन, चल्दा पनि चल्दैन, त्यसले गर्दा यो सम्भावनै छैन।

को आउँछ हाम्रो पार्टीमा टीका लगाइदिन? कोही मान्छे हुँदैन, जसले टीका लगाइदेओस्। एउटा विधि मान्ने हो। त्यो विधिअन्तर्गत कोही माथिल्लो पदमा होलान्, कोही तल्लो पदमा होलान्। त्यो विधिअन्तर्गत जाने हो। यदि त्यो विधि बिगारेर, त्यो विधि भाँडेर कोही जाने कुरा सोच्छ भने त्यो सम्भावनै छैन। हामीकहाँ टीका लगाइदिने, चुन्ने जस्तो कुरा हुनै सक्दैन, यसमा निश्चिन्त हुनुहोस्।

तपाईंले बेलाबेलामा पार्टी एकतामा झलनाथ खनाल र वामदेव गौतमको अहं भूमिका छ भन्नुहुन्छ तर आज तिनै खनाल रुष्ट छन्। किन बाइपास गरे ओलीले?

कसलाई कति न्याय वा अन्याय भयो भन्ने कुरा व्यक्तिगत रूपमा घटनाअनुसार धेरै कुरा अहिले नगरौँ। कहिलेकाहीँ त्यस्तो हुन्छ आन्दोलनमा। त्यही हो मान्छेले गर्ने योगदान भनेको। कसैले ठूलाठूला घटना घट्नुसम्मको नेतृत्व गर्छन्, घटना घट्ने बेला जस अरूले लैजाने परिस्थिति पनि बन्छ। त्यो आन्तरिक आन्दोलनभित्रको शक्ति सन्तुलनले निर्धारण गर्ने कुरा हो। नत्र भने यो कुरा त दुनियाँलाई थाहा छ कि वामदेव गौतम, झलनाथ खनालले वाम एकताको एजेण्डा निरन्तर उठाइरहनुभयो। यो कुरालाई त ओझेलमा पार्न सकिँदैन नि! 

अब झलनाथजी अहिले कहाँ रहनुभयो वा रहनुभएन, अर्काे कुरा हो। वामदेवजी कहाँ हुनुहुन्छ वा हुनुहुन्न भन्ने अर्काे कुरा हो। तर पार्टीको एकता र कम्युनिस्ट एकताका विषयमा निरन्तर आवाज उठाइरहने उहाँहरू नै हो। 

टुटफुट, गुटपछि एकताबाट बनेको नेकपा फेरि टुटफुट, गुटमै नजाला भन्न सकिन्छ र?

भोलि के हुन्छ भन्नेमा हामी नजाऔँ। इतिहास नै हेर्ने हो भने नेपालको इतिहासमा फुटभन्दा शक्तिशाली र दह्रो एकताको इतिहास बनेको छ। २०२३ सालपछि यति धेरै कम्युनिस्ट पार्टी बने। असाधारण दर्जनौँ पार्टीहरू बने। २०३० सालपछि फेरि एकताको सूत्र सुरु भयो। अहिले ठूलो उपलब्धि हासिल भएको छ तर पूरै सकिएको छैन। अहिले पनि कम्युनिस्ट पार्टी भनेर रहेका साथीहरू अरू हुनुहुन्छ। वैद्यजी हुनुहुन्छ, विप्लवजीहरू हुनुहुन्छ, मोहनविक्रमजी हुनुहन्छ अरू साथीहरू पनि हुनुहुन्छ। त्यही भएर कम्युनिस्ट पार्टीको एकता टुंगो लाग्यो भनेर उत्ताउलो कुरा हामी गर्दैनौँ तर त्यसको मूलभूत कुरा भनेको एकता प्रक्रिया हो, त्यो कुरा टुंगो लागेको छ।

बेलाबेलामा उपेन्द्र यादवको संघीय समाजवादी र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच पनि एकता हुनसक्ने चर्चा भइरहन्छ नि, केही छलफल र बहस भइरहेका छन् र?

मैले थाहा पाएअनुसार बाबुरामजी र उपेन्द्रजीसँग पार्टीमा औपाचारिक एकताको एजेण्डा कहिल्यै आएन। कसैले उच्चारणसमेत गरेनन्। बाहिर केही कोणबाट यस्तो कुरा सुनिएको हो। त्योचाहिँ एकता हुनेभन्दा नहुने अवस्थामा आएको कुरो हो।

अन्य कम्युनिस्ट पार्टीहरूसँग नि?

उहाँहरूसँग अहिले नै एकता हुन सक्दैन। उहाँहरूसँग पनि विमतिहरू अलिक धेरै छन्। वैद्यजी, विप्लवजी अलिक पर हुनुहुन्छ। त्यसले गर्दा सहकार्य होइन, उहाँहरूसँग एक खाले छलफल मात्रै गर्न सकिन्छ, अहिलेचाहिँ।  तिम्रो बाटो ठीक छैन, तिम्रो बाटो गलत हो भनेर मैले भन्ने, उहाँहरूले पनि तिमीहरूको बाटो ठीक छैन, तिमीहरूको बाटो गलत हो भनेर भन्ने। किन ठीक छ? किन गलत छ? भन्ने त्यो छलफलमै जानुपर्नेछ। त्यसले गर्दा अहिले नै सहकार्य हुने स्थिति छैन। 

एक समय एमालेभित्र तपाईंलाई माओवादीप्रति नरम र केपी ओलीलाई खरो नेताका रूपमा चिनिन्थ्यो, अहिले समय फेरिएको हो?

अहिले ओलीजी मेरो ठाउँमा आउनुभएको हो।

तपाईं उहाँको ठाउँमा जानुभएको त होइन?

हा..हा.. होइन, होइन। घटनाक्रममले त्यस्तो देखाउँदैन।

अन्त्यमा, जनताले राम्रो सडकमा हिँड्न नपाइरहेका बेला रेल र पानीजहाजको विषय कति सान्दर्भिक हो जस्तो लाग्छ?

मानवीय चिज कुनै पनि असान्दर्भिक हुँदैन। हामीले सक्दा रकेट नै पठाउँदा पनि हुन्छ, त्यो त सक्दैनौँ। हामीलाई रेल चाहिएको छ। त्यसमा शंकै छैन तर त्यो रेलभन्दा अगाडि भएका बाटो राम्रो बनाउने योजना हुनुपर्छ। अरू सबै कुरा यथावत् राखेर रेल मात्रैको कुरा गरेको होइन। हाम्रा अध्यक्षले पनि त्यसो गर्न खोज्नुभएको हो जस्तो लाग्दैन मलाई। मान्छेहरूले गलत बुझे कि जस्तो लाग्छ। रेल चाहिन्छ हामीलाई। रेल हाम्रो आवश्यकता भइसक्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.