'म शक्तिशाली बन्न चाहान्न, सरकार शक्तिशाली हुनुपर्छ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै उनले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न भ्रष्टाचार नियन्त्रणमा लिनुपर्ने बताएका थिए।

सुशासनबिना विकास सम्भव नभएको र विकासबिना समृद्धि नहुने भन्दै भ्रष्टाचार नियन्त्रण गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए। उनले संसद्का सबै सांसदको भावना भ्रष्टाचार नियन्त्रण र देशमा सशासन कायम हुनुपर्छ भन्ने रहेको आफूले पाएको बताए।

प्रधानमन्त्री कार्यालयमा धेरै अधिकार केन्द्रित गरिएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले ७६१ वटै सरकार र त्यसअन्तर्गतका सबै निकायलाई प्रभावकारीरुपमा सञ्चालन गरिने स्पष्ट पारे। राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उनको स्पष्टिकरण थियो।

प्रधानमन्त्री कार्यालयमा बजेट बढी भयो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत १८ वटा कार्यालय रहेको र सोही कार्यालयले ती रकम खर्च गर्ने भन्दै प्रधानमन्त्री कार्यालय मितव्ययितालाई विशेष ध्यान दिने बताए।

अपराध गर्नेले दण्ड पाउनुपर्ने, सदाचार नीतिअनुसार काम गर्ने र अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्दै उनले राम्रा काम गर्नेलाई सम्मान गर्ने र भ्रष्टाचारका विरुद्ध निर्मम हुने बताए। प्रधानमन्त्रीले भने, “अनुहार हेरेर काम गर्ने होइन, कानूनअनुसार काम हुन्छ, सरकार दबाब र प्रभावमा पर्दैन। औचित्यपूर्ण कार्य र सत्यमार्गमा हिँड्न सरकार दृढ छ।”

उनले ६० प्रतिशत जनसंख्या क्रियाशील र त्योमध्ये २५ प्रतिशत मुलुक बाहिर जाँदा पनि देशभित्रको साधन र स्रोत प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढ्ने बताए।

 

प्रधानमन्त्री ओलीले पानी जमेको ठाउँका खाल्टा पुर्ने कार्य यथाशीघ्र पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन दिए। उनले उत्पादक र उपभोक्ताका बीचमा बसेर अनुचित लाभ लिनेसँग होसियार हुनुपर्नेमा जोड दिँदै त्यस्ता बिचौलियालाई नियन्त्रणमा सरकार प्रभावकारी रुपमा अघि बढ्ने बताए।

राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउनुपर्छ भन्ने विषयमा आफू गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध कार्यलाई प्रभावकारीरुपमा अगाडि बढाइने स्पष्ट पारे। उनले आवश्यकताको संघीतामा हामी अगाडि बढेको भन्दै संघीयता कार्यान्वयनमा केही कमीकमजोरी भए सच्चाएर अगाडि बढ्ने बताए। प्रधानमन्त्री ओलीले भने, “संघीयतालाई आफ्नै मौलिक ढङ्गले अघि बढाउनुपर्छ।”

उन्नाइस वर्षदेखि हुलाकी राजमार्गको कुरा हुने गरेको उल्लेख गर्दै उनले हुलाकी राजमार्गलाई सरकारले आफैँ बनाउने र त्यसमा बजेट अभाव हुन नदिने बताए। प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय समन्वय गरेर काम गर्ने अगाडि बढ्ने भन्दै विगतको असमन्वयको अन्त्य हुने स्पष्ट पारेका थिए।

जनता आवास कार्यक्रमलाई नयाँ ढंगले एकीकृत वस्ती विकासका रुपमा अगाडि बढाइने भन्दै उनले विकासका अनुकूलता थप्न सकिने स्थानमा बस्ती विकास गरिने नीतिअन्तर्गत अगाडि बढ्ने बताए। प्रधानमन्त्री ओलीले आधुनिकीकरण र व्यावसायिकीकरण गरेर अगाडि बढेर सन्तुलित विकास गरिने बताए।

तुइनका स्थानमा झोलुङ्गे पुलले स्थानान्तरण गर्ने कार्यलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै उहाँले एउटा पनि तुइन रहने अवस्था नहुने बताए। प्रधानमन्त्रीले भने, “तुइनमुक्त देश हुन्छ, जहाँबाट जनताको दुःख विस्थापन हुन्छ, पछौटेपनको अन्त्य हुन्छ।” प्रधानमन्त्रीले पक्की पुल बन्न नसक्ने स्थानमा झोलुङ्गे पुल र झोलुङ्गे पुल बन्न नसक्ने स्थानमा केबलकार बनाउने स्पष्ट पारे।

उत्साहका साथ विनियोजन रकम, विभिन्न शीर्षकमा गम्भिरतापूर्वक छलफल गरिएकामा राष्ट्रियसभा र सांसदलाई धन्यवाद व्यक्त दिँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गर्न सबैको सहयोग हुने विश्वास व्यक्त गरे।

‘मलाई शक्तिशाली हुने इच्छा र चाहना छैन’

संघीयताको अधिकारमा कतै अतिक्रमण नभएको भन्दै प्रधानमन्त्री ओलीले आफूले कुनै पनि मन्त्रालय नराखेको तथा आफू र आफ्नो कार्यलयप्रति शंका नगर्न आग्रह गरे। शक्तिशाली हुने आफूलाई इच्छा तथा चाहना नभएको र आफू त्यसमा सहज रहेको उल्लेख गर्दै उनले सरकार भने शक्तिशाली चाहिने बताए।

गलत सामाजिक मान्यताका विरुद्धका अभियान लिएर आफू कर्णालीदेखि सिराहासम्म पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस स्थानका सांसदले पनि कुरीति तथा पछौटेपनालाई अन्त्य गर्ने गरी अभियान चाल्नुपर्ने बताए।

संविधान अपरिवर्तनीय नहुने भन्दै उनले आवश्यकताको आधारमा संविधान संशोधन हुने बताए। प्रधानमन्त्री ओलीले भने, “संविधानमा विभेद भए हटाइन्छ, तर संविधान संशोधन दोहोरी गाउने भाका होइन।” उनले नेपाली जनताको आवश्यकताअनुसार विकासका लागि संविधान संशोधन हुने बताए।

प्रधानमन्त्री ओलीले समतामुलक सामाजिक व्यवस्थाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाल यहाँ बसोवास गर्ने सम्पूर्ण जातजाति र भाषाभाषीको देश हो, केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन नसक्ने बताएर।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.