|

रुकुम : शुक्रबार उदघाटन हुने भनिएको रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशन तथा साधारण सभा अन्योलमा परेको छ। संघको विभिन्न आय-व्ययका विषयमा कार्य समितिबीच नै विवाद भइ अविधेशन उद्घाटन नभएर अन्योलमा परेको हो। 

दुईवर्ष अघि सम्पन्न प्रथम मध्यपश्चिम रुकुम महोत्सव २०७३ को आय-व्यय सार्वजनिक गर्न व्यवसायीले समेत हिसाव किताव देखाउन दवाव दिएपछि अधिवेशन उद्घाटन नै हुन नपाएर अन्योलमा भएको हो। व्यवसायी टेकबहादुर पुनको नेतृत्वमा रहेको रुकुम उद्योग बाणिज्य संघको विगत ३ वर्ष यताको आम्दानी तथा खर्चको कुनै लेखाजोखा नभएको पाइएपछि कार्यसमितिका पदाधिकारी र अन्य सदस्यबीच विगत केही समयदेखि नै विवाद थियो। 

विवाद यति बेला सतहमा आएको छ व्यवसायी रुपमाल बिष्टले रुकुम उद्योग वाणिज्य संघको नेतृत्व भ्रष्टाचारको जालोमा रहेको भन्दै हिसावकिताव पारदर्शी नभएसम्म निर्वाचन हुन नसक्ने बताए। ‘तीन वर्षमा झण्डै ४० लाख जति संस्थागत आम्दानी गरेको र २० लाख खर्च भएको प्रारम्भिक आँकलन गरिएको छ।’ उनले भने, ‘तर, आम्दानी र खर्चको कुनै आधिकारिक कागजात नहुँदा बाँकी २० लाख कहाँ छ र खर्च भएको २० लाख कसरी, के कामका लागि, कहाँ खर्च भयो भन्ने अलमल रहेको छ।’

अध्यक्ष पुन र कोषध्यक्ष राजन पुनबीच विवाद हुँदा आय-व्यय सार्वजनिक हुन नसकेको सदस्य बसन्त खड्काको दावी छ। ‘संस्थाभित्रै विवाद भयो। दुई हजार भन्दा बढी रकम अध्यक्षले आफ्नो ढंगले चलाउन नपाउने व्यवस्था भए पनि यो नियम कार्यान्वयन भएन। अहिले यो अवस्था आयो’ उनले भने, ‘तर सबै कुरा मिलाउने गरी छलफल अगाडि बढेको छ। सम्भवत चाँडै यसको समाधान निस्केर कार्यक्रम अगाडि बढ्छ।’ 

२०७३ फाल्गुण १२ गतेदेखि २२ गतेसम्म रुकुम सदरमुकाम मुसीकोटमा पहिलोपल्ट आयोजना गरिएको महोत्सवको पनि खर्च र आम्दनी कुनै पनि कुरा अहिलेसम्म सर्वजनिक नभएको भन्दै पटक-पटक उद्योग वाणिज्य संघको आलोचना हुने गरेको थियो।

अधिवेशन उदघाटनका क्रममा उपस्थित अन्य व्यवसायीले यसको हर-हिसाव सार्वजनिक गर्न माग गरेपछि पनि यति बेला यो पनि विवाद थपिएको छ। व्यवसायीका स्टल, प्रायोजक र टिकट बिक्री लगायतबाटै लगभग ५२ लाख अम्दानी भएको अनुमान गरिए पनि यसको पनि यति बेलासम्म कुनै आधिकारिक कागजात भने भेटिएको छैन।  

महोत्सवको सचिवाललयले आम्दानी भन्दा ८ लाख बढी अर्थात कुल ६० लाख खर्च भएको बताएको छ। तर कहाँ, कसरी खर्च भयो भन्ने बारेका कागजात सबै गायव गरिएकाले हिसाव गोलमाल देखिएको स्रोतले बताएको छ। 

रुकुम उद्योग वाणिज्य संघका वर्तमान महासचिव नवराज गिरी र कोषध्यक्ष राजन पुनले छुट्टाछुट्टै प्यानल बनाएर अगामी कार्यसमितिमा अध्यक्षका लागि दावीसहित चुनावी मैदान आएका थिए। उता रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनले आइतबार एक विज्ञप्ति जारी गर्दै साधारणसभा तथा अधिवेशन हुन नसकेकोमा दुख व्यक्त गर्दै छिटै सर्वपक्षीय छलफलमार्फत समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन्।

निर्वाचनको विषयमा देखिएको विवाद र संवादहीनताको अन्त्य गरी छिटै संघको निर्वाचन हुने भन्दै आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै व्यापारीलाई अनुरोध गरेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.