बिरामी रिफर गर्दा ५० हजार जरिवाना

|

विराटनगर : विराटनगरको हस्पिटल चौकमा रहे को संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिले डाक्टरको काबुमा नरहेको बिरामीलाई पनि आम्दानीको लोभमा जबर्जस्ती उपचार गराउन लगाउने गरेको खुलेको छ। अस्पतालमा कार्यरत डाक्टर आलोक रायलाई एक बिरामीलाई उपचार गर्न नसक्ने भन्दै विपी प्रतिष्ठानमा रिफर गर्दा ५० हजार आम्दानी घाटा गराएको भन्दै अवकासको पत्र मात्रै थमाइएन ५० हजार जरिवाना तिर्न पत्र पनि काटिएको रहस्य बाहिर आएको हो।

अस्पतालमा कार्यरत मेडिकल अफिसर डा.आलोकलाई हस्पिटलका नयाँ आएका व्यवस्थापकले मर्यादा विपरित उपचार गराउन दवाव दिएका हुन्। ‘यस हस्पिटलमा नयाँ व्यवस्थापन समिति आएको १० दिन भयो,’ डा. रायले भने, ‘यहाँ कार्यरत चिकित्सकलाई बिरामीको गैरकानुनी तरिकाले दवाव दिएर उपचार गराउन लगाउँछन्।’

डा. रायका अनुसार गम्भीर केशमा आएका एक जना विरामीलाई रिफर गरी अन्यन्त्र  हस्पिटल पठाउँदा ५० हजार रुपैयाँ जरिवाना दिएर हस्पिटलबाट आफूलाई अवकास दिइएको बताए। ‘असार १९ गते बेलुका ११ बजे हस्पिटलमा ४७ वर्षीया रुरु माया मुगनको कलेजो बिग्रिएर किड्नीमा असर गरेको थियो,’ उनले भने ‘यसको उपचार धरानमा मात्र हुन्छ। यहाँ उपचार सम्भव नभएपछि रिफर गर्दा ५० हजार रुपैयाँ जरिवना गरी अस्पताल व्यवस्थापनले २० असारमा जागिरबाट हटाएको पत्र मेरो हातमा थमाइ दियाे,’ उनले भने।

हस्पिटलका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले डा. रायलाई हटाएको पत्रमा उक्त विरामीबाट अस्पताललाई करिब ५० हजार रुपैयाँ आम्दानी हुने भएकाले सो बराबरको जरिवाना लिइएको उल्लेख छ। चिकित्सक रायले उक्त हस्पिटलले कुनै स्पष्टीकरण माग नगरी सिधैँ जरिवाना गरी जागिरबाट निकालेको भन्दै आवश्यक सहयोग माग्दै असार २१ गते नेपाल चिकित्सव संघ कोशी अञ्चल विराटनगरमा निवेदन दिएको छ। ‘हस्पिटलले झुटा आरोप लगाएर बिना कुनै स्पष्टीकरण नसोधी सिधैँ जागिरबाट हटाएर मानसिक तनाव दिइएकाले क्षतिपूर्ति दिलाइ पाऊँ,’ उनले लेखेको पत्रमा उल्लेख छ। 

नेपाल चिकित्सव संघ कोशी अञ्चाल शाखा विराटनगरका अध्यक्ष डा. फरवर्ड सिलवाले भने हस्पिटल व्यवस्थापकले गम्भीर लापरबाही गरेको स्वीकार सकेको बताए। ‘छलफलमा हस्पिटल व्यवस्थापनले गल्ती स्वीकार गरेकाे छ,’ उनले भने, ‘अब चिकित्सवलाई स-सम्मान काममा पुनः वहालीको लागि पहल भइरहेको छ।’
यता अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले भने पत्र सार्वजनिक भएको विषयमा आन्तरिक छानविन गरिने बताए।

‘हामीले पत्र बनाएर राखेका छौं। डाक्टर साहेवलाई कुनै पत्र दिएका छैनौं। तर कसरी पत्र सार्वजनिक भयो। म अचम्म परेको छु,’ कर्णले भने, ‘हामीले आम्दानी वापत ५० हजार जरिवाना गराउने पत्र बनाएका छैनौं।’पत्रमा भने ५० हजार आम्दानी हुनबाट रोकेको भन्दै जरिवाना लिइने उल्लेख गरिएको छ। कर्णले बिरामीलाई रिफर गर्दा प्रक्रिया नपुगेको कारण डाक्टरलाई पत्र भने दिन लागिएको बताए।



 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.