|

तनहुँ : पर्याप्त वर्षा नहुँदा असारको चौथो सातासम्म अधिकांश खेत बाँझै छन्। समयमा पर्याप्त वर्षा नहुँदा तनहुँका टारी खेतमा असार अन्तिम सातासम्म पनि रोपाइँ हुन सकेका छैनन्।  

असार महिनाको चौथो सातासम्म करिब सबै खेतमा रोपाइँ हुनुपर्नेमा समयमै पर्याप्त वर्षा नहुनु र आवश्यक जनशक्ति अभावले गर्दा ढिला भएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ। 

असार २५ गतेसम्म तनहुँमा ४०  प्रतिशत खेतमा मात्रै रोपाइँसकिएको छ। जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरे पनि आधा भाग समेत रोपाइँ हुन सकेको छैन।   

वर्षा भएपनि मुल फुट्ने गरि पर्याप्त वर्षा नहुँदा अधिकांश टारी खेतमा रोपाइँ हुन नसकेको कार्यालयकी योजना अधिकृत ज्योति क्षेत्रीले जानकारी दिइन्। क्षेत्रीका अनुसार नदी र खोलाको पानीले सिँचाइ भएको ठाउँको गैरी खेतका अधिकांश भू–भाग रोपाइँ भइसकेको र पानी प्रशस्त परेर मूल फुटेपछि हुने भागमा बाँझै रहेको छ। 

तनहुँमा सावित्री, रामधान, मकवानपुरे, सुख्खा २, सुख्खा ३ लगायत जातका धान कृषकले बढी रोेप्ने गरेको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ। तनहुँका भिमाद, आँबुखैरेनीको वारादी, रूपाकोट, कालीमाटी, ढोरफिर्दी, सेपाबगैंचा, चुँदीफाँट, साँगे, जामुने लगायतका फाँटहरुको गैरी खेतमा धान रोपाइँ भइरहेको छ। यो वर्ष जिल्लाको १२ हजार २५० हेक्टर खेतमा बर्खे धान खेती हुने कार्यालयको अनुमान छ। 

गत वर्ष १२ हजार २ सय ८५ हेक्टर जमिनमा वर्षे धान खेती गरिएको थियो। धान खेत प्लटिङ गर्ने क्रम र कामदारको अभावमा यो वर्ष घटेको योजना अधिकृत क्षेत्री बताइन्। जिल्लाको तनहुँसुर, सेपाबगैंचा, चुँदीफाँट, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँट लगायत धान खेतीका लागि उपयुक्त क्षेत्रका रूपमा लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.