|

काठमाडौं : अनेकौं आलोचनाको जवाफ दिंदै फिफा विश्व कप–२०१८ को मंगलबार हुने पहिलो सेमिफाइनलमा सन् १९९८ को विजेता फ्रान्सले बेल्जियमको सामना गर्दैछ। यो विश्व कप सुरु हुनुअघि नै ति दुवै टोलीलाई सम्भावित विजेताका रुपमा हेरिएको थियो नै। तर, प्रतियोगिताको पहिलो चरणमा त्यति प्रभावशाली खेल पस्कन नसकेपनि दुवै टोली समूह विजेता बनेर अघिल्लो चरणमा प्रवेश गरेका थिए।

समूह चरणमा फ्रान्सले त्यति कठिन प्रतिद्वन्द्विको सामना गर्न नपरेपनि बेल्जियमसँग समूह चरणमै अर्को सेमिफाइनलमा खेल्न लागेको इंग्ल्यान्डलाई हराएको ताजा अनुभव छ। नक आउट चरणमा एसियाली र दक्षिण अमेरिकी टोलीलाई पाखा लगाउँदै सन् १९८६ पछि बेल्जियम पहिलो पटक सेमिफाइनलमा पुगेको हो। विश्व कपमा सो टोलीले हालसम्म हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि त्यही नै छ। नकआउट चरणमा एसियाको एक्लो प्रतिनिधि जापानलाई हराउन बेल्जियमले कडै संघर्ष गर्नु परेको थियो।

२ गोलले पछि परिसकेको अवस्थामा आपूmलाई सम्हाल्न सकेकै कारण बेल्जियम क्वार्टरफाइनलमा पुग्ने भाग्यमानी बन्न सक्यो। २ गोलको अग्रतापछि जापानले सम्हालिएर खेल्न सकेको भए विश्व कप–२०१८ को पटकथा अर्कै लेखिन्थ्यो। तर, जापानको दूर्भाग्यका कारण बेल्जियमले क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिललाई प्रतिद्वन्द्विको रुपमा भेट्टायो।

ब्राजिललाई पन्छाएर सेमिफाइनलसम्म पुग्न्ु बेल्जियमका लागि सजिलो थिएन। तर, ब्राजिलले आत्मघातीको स्वरुपमा दिएको पहिलो गोलको उपहार नै बल्जियमलाई सेमिफाइनलसम्म डोराउन पर्याप्त रह्यो। एक गोलले अगाडि बढेपछि बेल्जियमले बनाएको कसिलो रक्षापंक्तिलाई भेद्न नसक्दा ब्राजिलको सपना क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन। तर, बेल्जियम नयाँ इतिहास कोर्ने बाटोमा लम्कियो। मंगलबार राति फ्रान्सलाई हराउन सकेको खण्डमा बेल्जियम उपाधिको मुखमा मात्र पुग्दैन। विश्व कपले फेरी एक पटक नयाँ विजेता पनि पाउने सम्भावना पनि बढ्नेछ।

यो विश्व कपको सर्वाधिक रोकमान्चक खेलमा फ्रान्सले अर्जेन्टिनालाई पाखा लगाएको थियो। वास्तविक फाइनल बनेको अन्तिम १६ को त्यो एक खेलमा मात्र ७ गोल भयो। जसमा फ्रान्सले ४ र अर्जेन्टिनाले ३ गोल हानेका थिए। अर्जेन्टिनी टोली यसपाली मात्र लियोनल मेसीको भरोसामा रुस आएको थियो। घाइते गोलरक्षक सर्जियो रोमेरोको अनुपस्थिति समेत अर्जेन्टिनाको चोटलाई बल्झाउने कारण बन्यो। सन् २००९ मा अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेपछि ९० पटक मुलुकको प्रतिनिधित्व गरिसकेका रोमेरोको अनुपस्थिति यो विश्व कपमा अर्जेन्टिनालाई डुबाउने पहिलो कारण बनेको थियो। सम्भवत उनको उपस्थिति रहेको भए यो विश्व कपको माहौल बेग्लै हुनसक्थ्यो।

उपाधिको दावेदार नै मानिएको अर्को दक्षिण अमेरिकी टोली उरुग्वेलाई हराउँदै फ्रान्सले सेमिफाइनलको यात्रा तय ग¥यो। अर्जेन्टिनाविरुद्ध फ्रान्सले जुन मन जित्ने खेल पस्केको थियो, उरुग्वेविरुद्ध त्यही खेल देखाउन सकेन। तरपनि, सेमिफाइनलको सुखद यात्रामा उरुग्वे फ्रान्सको छेकेवार बन्न सकेन।

हुनत फ्रान्स र बेल्जियम दुवैलाई प्रतियोगिताअघि उपाधिको दावेदार मानिएपनि उनीहरुले पाखा लगाएका टोली झन् बलिया दावेदार मानिएका थिए। तर, सेन्टपिटर्सबर्गमा हुने पहिलो सेमिफाइनलमा उच्चस्तरका फुटबलरहरुको कौसल भने हेर्न पाइनेछ। फ्रान्सका सुपरस्टार पाउल पोग्बा, एन्टोनियो ग्रिजमेन र एम्बापे अनि बेल्जियमका सुपरस्टार इडन हजार्ड, केभिन डे ब्रुयन र रोमेलु लुकाकुले टोलीलाई जिताउन कुनै कसर बाँकी राख्ने छैनन्। वास्तव सो सेमिफाइनल विश्व फुटबलमा आधिपत्य जमाएका खेलाडीबीचको भिडन्त हुनेछ। जसले फुटबलको रोमान्चकतालाई बढाउने नै छ।

क्वार्टरफाइनअघि सेट हुन नसकेका ती टोलीहरु अहिले पुर्ण तयारी अवस्थामा छन्। ‘अब हामीसँग कसले खेल्दै छ भन्ने सोचको विषय होइन,’ फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्प भन्छन्, ‘हाम्रा कुनै खेलाडी घाइते छैनन्, हामी आफ्नो उत्कृष्ट टोली मैदानमा उतार्ने छौं। हामी सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेका थियौं। अब फाइनलमा पुग्ने पहिलो टोली बन्न चाहन्छौं।’

यो विश्व कप फ्रान्सका लागि युरो–२०१६ को फाइनलमा व्यहोरेको हारलाई बिर्सने आधार पनि बन्न सक्छ। त्यसबेला पोर्चुगलसँग हार व्यहोरेको फ्रान्सले अहिले सेमिफाइनलमा पनि बलियै प्रतिद्वन्द्वि भेटेको छ।

‘हामीले यो विश्व कपमा राम्रा टोलीहरुलाई हराएका छौं, अब पनि लगातार दुई खेल जित्छौं र उपाधि चुम्छौं,’ बेल्जियमका लुकाकुको दावी छ।
फ्रान्सलाई सन् १९९८ मा विश्व विजेता बनाउने टोलीका महत्वपूर्ण सदस्य थियरी हेनरी अहिले बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजका ब्रम्हास्त्र हुन्। बेल्जियमका सहायक प्रशिक्षक हेनरीले टोलीको प्राविधिक पक्ष हेरिरहेका छन्। हेनरीको सहयोगमा मार्टिनेजले फ्रान्सविरुद्ध रणनीति तय गर्नेछन्। अहिलेसम्मको खेलमा फ्रान्सको रक्षापंक्ति जति बलियो देखिएको छ, बेल्जियम भने त्यो पाटोमा चुकेको छ।

मंगलबारको खेलमा हेर्न लायक गोल त हुन्छन् तर, रक्षापंक्तिकै कमजोरीका कारण बेल्जियम फाइनल प्रवेस गर्नबाट चुक्न सक्छ। तर, क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध झैं भाग्यको साथ पाउने हो भने बेल्जियम उपाधिको अगाडि उभिने छ। यद्यपि, भाग्यलाई छाडेर खेलका आधारमा भन्ने फाइनलमा पुग्ने सम्भावना बेल्जियमभन्दा फ्रान्सको अधिक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.