|

जाजरकोट : भेरी नगरपालिका १ डौरीकाँडाका सुरेस रोकाय बिरामी परेपछि उपचारका लागि आइतबार जाजरकोट अस्पताल पुगे तर, स्वास्थ्यकर्मीको आन्दोलनका कारण उनले उपचार पाउन सकेनन्। उनी उपचार नपाएरै घर फर्कन बाध्य भए।

सुरेसजस्तै नलगाड ८ का शेरबहादुर खत्री पनि उपचार नपाउँदा निराश भएर घर फर्किए। यी केही प्रतिनिधी उदाहरण हुन्। उनीहरू जस्तै सयौँ बिरामी एक सातादेखि उपचार नपाएर फर्कने गरेका छन्। पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन्।

पाँच महिनादेखि तलव नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा कुनै चासो देखाएको छैन। हरेक महिना तलवभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलव नपाउँदा आन्दोलनमा उत्रिएको बताएका छन्। दुई साताअघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत आइतबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन्। स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ। उपचारको लागि अस्पताल आउने सयौँ बिरामी उपचार नपाएर फर्कन बाध्य छन्।

समयमा रकम निकासा नहुँदा जाजरकोट अस्पताल र भेरीनगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलवभत्ता पाउन नसकेका हुन्। यसअघि हरेक महिना तलवभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलव नपाएको बताएका छन्। भेरी नगरपालिलका मातहतका स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलवभत्ता नपाएको जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताए। ‘भोको पेटले कसरी काम गर्न सकिन्छ। आर्थिक वर्ष सकिन लाग्दा पनि तलव निकासाबारे कुनै टुंगो लाग्न सकेको छैन। हाम्रो कुरालाई कुनै पनि निकायले गम्भीरतापूर्वक लिन नसक्नु दुर्भाग्य हो,' उनले भने ‘तलव नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलव भत्ता पाउन नसकेका हुन्।

गत फागुनदेखि तलव नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी गंगा रेग्मीले बताइन्। उनका अनुसार मन्त्रालयबाटै रकम निकासा नभएको भन्दै नगरपालिकाले रकम नदिएपछि समस्या भएको हो। रात दिन नभनी चौविसै घण्टा विरामीको सेवामा खटिनु पर्ने स्वास्थ्यकर्मीलाई समयमा तलब नदिएर अन्याय गरेको उनको भनाइ छ।

भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले दिनहुँ विरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समयदेखि तलव नपाउँदा निराश भएको बताए। उनले स्थानीय तहमा गएपछि सेवासुविधा सहज होला भन्ने सोचेका स्वास्थ्यकर्मीले तलव नपाउँदा घरखर्च टार्नसमेत समस्या भएको बताए।

भेरीनगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलव दिन नसकिएको बताए। यसअघि निकासा भएको रकमले गत माघसम्ममा सकिएले त्यसपछि फेरि निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्वास्थ्य सेवा विभाग र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा माग गरे पनि हालसम्म निकासा भएको नभएको उनले बताए। अर्थ, स्वास्थ्य र संघीय मामिला मन्त्रालयबीच तालमेल नमिल्दा र कर्मचारीको तलव अन्य कार्यक्रममा खर्च हुँदा स्वास्थ्यकर्मीले लामो समयदेखि तलव पाउन नसकेका हुन्।

डा. केसीको आन्दोलनमा ऐक्यबद्धता

जुम्लामा आमरण अन्सनरत डा. गोविन्द्र केसीको आन्दोलनप्रति सर्मथन जनाउँदै जाजरकोटका स्वास्थ्यकर्मीले ऐक्यवद्धता जनाएका छन्। स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको सर्मथनमा जाजरकोटका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

'हामीले पाँच महिनादेखि तलव नपाएको विरोधमा दुई सातादेखि चरणबद्ध आन्दोलनमा छौँ। यो आन्दोलनसँगै डा.केसीको आन्दोलनमा पनि हाम्रो पुर्ण साथ र सर्मथन छ', जिल्ला अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले भने ‘तलब पाए पनि डा.केसीको माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ। हामी दुवै मागलाई सँगसँगै पूरा गराउन चाहन्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.