|
वीरगन्ज भन्सार कार्यालय परिषरमा क्लियरेन्सका लागि राखिएको अवस्थाका सवारी साधनहरू।

वीरगन्ज : सडक र पुलको अवस्था सुदृढ हुन नसके पनि जीर्ण सडक र पुलमा गुड्ने सवारीसाधनको आयातमा भने अझ बढोत्तरी भएको छ। गत आर्थिक वर्ष ०७३⁄७४ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा नेपालको प्रमुख भन्सार नाकाबाट भित्रिएका सवारी तथ्यांकले यस्तो देखाएको हो। 

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा वीरगन्ज भन्सारको बाटो हुँदै एक लाख ४५ हजार २४७ वटा नयाँ सवारी साधान तीनै जीर्ण पुल र सडकमा गुढ्ने गरी नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षमा भने ती सडक र पुलले भार वहन गर्नुपर्ने नयाँ सवारी आयातको संख्या एकलाख ३५ हजार ७१५ वटा मात्र थियो। यो भनेको समीक्षा अवधिको ११ महिनामा ९ हजार ५३२ वटाले बढी भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको हो।
 
चालु आर्थिक वर्षको ११ महिनामा नेपाल भित्रिएका नयाँ सवारीसाधनहरू मध्ये सबैभन्दा बढी एकलाख १७ हजार ६६ वटा त मोटरसाइकल मात्र भित्रिएका छन्। गत वर्षभन्दा चालु आर्थिक वर्षमा नेपाल भित्रिएका मोटरसाइकलको संख्या २ हजार ७२७ ले बढी हो। 

गत वर्ष भने वीरगन्ज भन्सारको बाटो भएर एक लाख १४ हजार ३३९ वटा मात्र मोटरसाइकल नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। त्यसै गरी जीपकार भ्यानहरू पनि यो आर्थिक वर्ष २ हजार २९३ ले बढी भित्रिएका छन्। डबल क्याव पिकअफ गाडी भने गतवर्ष भन्दा ४२५ वटा कम भित्रिएका छन्। यी बाहेक जीपकार, भ्यान, मोटरसाइकल, अन्य बस, ट्रक चेचिस, अटोरिक्सा, टेम्पो, ट्रक मिनीट्रक, सिंगल क्याव पिकअफ गाडी भने गतवर्ष भन्दा यो वर्ष बढी नै नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोख्रेलले बताए। 

तुलनात्मक रुपमा सबै भन्दा बढी ४ हजार ३९९ अटोरिक्सा र टेम्पो यस वर्ष बढी भित्रिएका छन्। यो भनेको गतवर्ष ४ हजार २९५ भित्रिएकामा यस वर्ष सो संख्या बढेर ८ हजार ६९४ पुगेको उनको भनाइ छ। 

मूल्यका आधारमा पनि यो आर्थिक वर्ष समीक्षा अवधिको तुलनामा तीन अर्ब ३७ करोड ५३ लाख ६८ हजार बढीका सवारी नेपाल भित्रिएको तथ्यांकले देखाएको छ। यो भनेको गत आर्थिक वर्षको ११ महिनामा आयात भएका सवारीको कुल लागत २९ अर्ब ७२ करोड ८९ लाख ५४ हजार भन्दा बढी अर्थात ३३ अर्ब १० करोड ४३ लाख २२ हजारको कुल लागत पुगेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.