|

सल्यान : जिल्लामा दर्जन बढी विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आइरहेको पाइएको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका भित्रका दुई दर्जनभन्दा बढी विद्यालय दरबन्दीविहीन भएपछि कार्यालय सहयोगीले विद्यालयमा पढाउँदै आएका हुन्। 

बन्गाड कुपिण्डे नगरपालिकामा ५५ विद्यालय सञ्चालनमा छन्। बन्गाडकुपिण्डे- ४ देउलीको वाल लिला आधारभूत विद्यालयमा सरकारी दरबन्दीका एकजना पनि शिक्षक छैनन्। विद्यालयमा ८० बढी विद्यार्थी छन्। तर शिक्षक नभएपछि कार्यालय सहयोगीको भरमा पठन पाठन सञ्चालन गर्दै आइरहेको छ। बाँमेस्थित भगवती आधारभूत विद्यालयको पनि अवस्था उस्तै छ। निजी स्रोतकी  शिक्षिका गंगा शर्माले कक्षा ५ सम्म पठनपाठन गराउँदै आइरहेकी छन्। ‘८० विद्यार्थीलाई म एक्लैले पठनपाठन गराउँदै आएकी छु,’ उनले भनिन्, ‘शिक्षक अभावकै कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको छ।’ 

१५० विद्यार्थी अध्ययनरत ध्रुवतारा आधारभूत विद्यालयमा पनि १० वर्षदेखि सरकारी दरबन्दी शिक्षकको संख्या शून्य छ । एक निजी स्रोतका शिक्षकले पठनपाठनको सबै जिम्मेवारी सम्हालेका छन्। सरकारले पिसिएफ अनुदानको रकम कटौती गरेपछि पठनपाठन अन्याेलमा परेको अभिभावकको भनाइ छ। विद्यालय स्थापना भएको अाठवर्ष बिते पनि सरकारले दरबन्दी नदिएको सरस्वती आधारभूत विद्यालय सुनौलीका प्रधानाध्यापक सुरेन्द्र खडकाले बताए।

उनले सबै कक्षाको पठनपाठनसँगै गराउनुपर्ने बाध्यता रहेको सुनाए। ‘विद्यार्थीबाट भर्ना तथा परीक्षा शुल्क केही उठाउन नपाएपछि विद्यालयको खर्च धान्न समस्या भएको छ,’ उनले भने, ‘कुनै महिना पारिश्रमिकबिनै काम गर्नुपर्ने बाध्यता छ।’

बाललीला आधारभूत विद्यालयकी कार्यालय सहयोगी राधिका विकले पठनपाठनको जिम्मा समेतआफ्नो काँधमा आएको बताइन्। ‘निजी स्रोतका दुई शिक्षकले तलब नपाएको भन्दै छाडेपछि मैले नै पठन पाठन सञ्चालन गरिरहेकी छु,’ उनले भनिन्, ‘शिक्षक नहुँदा विद्यार्थीलाई सँगै राखेर पढाउनुपर्ने बाध्यता छ।’ निजीबाट भर्ना गरेका शिक्षकले समयमै तलब नपाउँदा विद्यालय छोड्ने गरेको उनको भनाइ छ। अस्थायी अनुमतिको भरमा सञ्चालित विद्यालय मर्ज गर्नुपर्ने अवस्था आएको उनको भनाइ  छ। 

बन्गाडकुपिण्डे नगरपालिकाको ‘शिक्षक विधेयक’ कार्यपालिका वैठकले पास नगर्दा शिक्षक भर्ना गर्न नसकिएको नगरप्रमुख गोबिन्द पुनले बताए । उनले विद्यालय अनुगमन गरेर आवश्यकताअनुसार शिक्षक दरबन्दी पूर्ति गरिने बताए । उनले नगरपालिकाले विद्यालय मर्जको नीतिसमेत लिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.