|

विराटनगर : प्रदेश-१ को नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाकै सांसदको फरक–फरक प्रतिक्रिया छ। विपक्षी दलका सांसदले राजधानीको विषय र नामको विषयमा प्रस्ताव आएपछि मात्रै प्रतिक्रिया दिने बतारहँदा सत्तापक्षका सांसद भने खुलस्त राजधानी र नाम यो हुनुपर्छ र यो हुनुहुँदैन भन्न थालेका छन्।

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद अम्बिर बाबु गुरुङको धारणा प्रदेशको नाम र राजधानीको विषयमा प्रष्ट छ। उनको धारणा प्रदेश-१ को राजधानी विराटनगरलाई कायम गर्नुपर्छ र प्रदेशको नाम सगरमाथा राख्नुपर्छ। ‘ऐतिहासिकता, पूर्वाधार र सामर्थ्यको हिसावले राजधानी विराटनगर हुनुपर्छ,’ गुरुङले भने, ‘प्रदेशको नाम सगरमाथाभन्दा अर्को उत्तम विकल्प छैन।’

गुरुङको धारणामा केही सांसदको भने फरक मत छ। नेकपाबाट निर्वाचित धनकुटाका सांसद इन्द्रमणी पराजुलीले हावापानी र सबैलाई पायक पर्ने ठाउँ धनकुटालाई राजधानी बनाउनु पर्ने धारणा छ। ‘विराटनगर सेन्टरमा पनि छैन, हावा पानी र वातावरण पनि राम्रो छैन, वर्षा लागेसँगै यहाँ डुबान सुरु भइसक्यो,’ पराजुलीले भने, ‘यस्तो अवस्थामा कसरी विराटनगर राजधानी हुन्छ, यहाँ भन्दा जनतालाई पायक पर्ने र राम्रो स्थान धनकुटा हो, धनकुटालाई नै राजधानी बनाउनु पर्छ।’

नामको विषयमा पनि सांसदहरूको धारणा फरक–फरक छ। नेकपाबाट निर्वाचित झापाका सांसद गोपाल बुढाथोकी सगरमाथा नाम राख्नुपर्ने बताउँछन्। नेकपाका सांसद टंक आङ्बुहाङ र कूलप्रसाद साम्बा भने पहिचानका आधारमा नाम राख्नुपर्नेमा जोड दिन्छन्। ‘प्रदेशको नाम सगरमाथा राख्नुपर्छ,’ बुढाथोकीले भने। ‘पहिचानका आधारमा नाम राख्नु उपर्युक्त हुन्छ,’ साम्बाले भने, ‘प्रदेशको नाम मिश्रीत राख्नु पर्छ, पहिचानका आधारमा नाम राख्दा किरात–सगरमाथा उपर्युक्त हुन्छ, राजधानी निर्विकल्प विराटनगर हो।’

यस्तै सांसद टंक आङ्बुहाङले पनि राजधानीको विषयमा बोल्न नचाहे पनि नाम भने किरात कोसी, किरात सगरमाथा राख्दा उपर्युक्त हुने बताउँछन्। ‘प्रदेशको नामको विषयलाई लिएर फेरिफेरि लडाइँ झगडा हुने अवस्था ल्याउनु हुँदैन, बन्द हड्तालको बाटो दिनु पनि हुँदैन,’ आङ्बोहाङले भने, ‘सबैको कुरा सुनेर चित्त बुझाउन सकिएन भने प्रदेशमा समृद्धि ल्याउन असम्भव छ, त्यसो हुँदा सबैलाई मिल्ने नाम भनेको किरात कोसी वा किरात सगरमाथा हो।’

संघीय लिम्बूवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेको धारणा भने अझ फरक छ। पहिचानको आधारमा नाम राख्नुपर्ने र राजधानी विजयपुरलाई तोक्नु पर्ने उनी बताउँछिन्। कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले राजधानी पूर्वाधारयुक्त सहरलाई बनाउनु पर्ने बताए पनि नामको विषयमा सर्वसम्मत निर्णय हुनुपर्ने सुझाउछन्।

सांसदहरूले प्रदेश-१ को नाम किरात, लिम्बूवान, खम्बूवान, कोसी वा सगरमाथा मध्येबाटै एक हुनुपर्ने सुझाव दिँदै आएका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रदेशको नाम सगरमाथा वा कोसी नै उपर्युक्त हुने बताएका थिए। यद्यपि सबै सांसदको आवाज मुखारित हुनेगरी सर्वसम्मतिमै नाम र राजधानीको टुंगो लाग्ने प्रदेश सरकारले बताउँदै आएको छ। प्रदेशवासी पनि प्रदेशको नाम र राजधानी कहाँ बन्छ भन्ने विषयलाई चासोका साथ हेरिरहेका छन्।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने नाम र राजधानीको टुंगो साउन महिनाभित्रै लगाउने बताएका छन्। ‘नाम र राजधानीको विषयमा अनौपचारिक हिसावले धेरै विषय आइरहेको छ, ती नै विषयका आधारमा हामी नाम र राजधानीको टुंगो लगाउँछौं,’ राईले भने, ‘साउनको अन्तिमसम्ममा दुवै विषयको टुंगो लाग्छ।’ मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार इटहरी, धनकुटालाई राजधानी नै नबनाए पनि केही कार्यालयहरू भने त्यहाँ पनि राख्न सकिने गरी कुराकानी भइरहेको छ। विराटनगरलाई स्थायी राजधानी तोक्दा इटहरीमा प्रदेशसभा र धनकुटामा प्रदेश प्रमुखको कार्यालय दिनेगरी छलफल भइरहेको उक्त स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.