हुलाकमा चिठ्ठी-पत्र आदानप्रदानमा कमी

|

डडेल्धुरा : प्रदेश-७ का विभिन्न जिल्लामा कार्यरत हुलाक कार्मचारीहरूले सरकार हुलाक सेवाप्रति गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजित हुलाक सेवाको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक समीक्षात्मक क्षेत्रीय गोष्ठीमा सहभागि कार्यचारीहरूले यस्तो आरोप लगाएका हुन्।

जिल्ला हुलाक कार्यालय डडेल्धुरा निमित्त हुलाक अधिकृत नन्दराज भट्टले सरकारले हुलाक सेवाप्रति गम्भीर नबनेको आरोप लगाए। ‘सरकारले हुलाकलाई दुहुनो गाईजस्तै बनाएको छ। दूध दिने बेलासम्म मात्रै पाल्ने र दूध दिन छोडेपछि जसरी फालिराखेको छ। त्यसरी नै हामीलाई सरकारले दास्रो नजरले हेरिरहेको छ’ उनले भने, ‘सरकारले आजभन्दा सयौँ वर्ष अगाडि जनताका चिठ्ठी पत्र, बजारका समानदेखि स्कुलका कापीकलम बोक्ने अप्ठ्यारो काम हामीलाई दिइरहेको थियो।’

सरकारले हुलाकलाई प्रविधिमैत्री बनाइ इन्टरनेटसँग छोडी हुलाकलाई सशक्त बनाउने पर्ने उनको भनाइ छ। सरकारले हुलाक सेवालाई हेर्ने दृष्टीमा परिर्वतन गर्नु पर्नेमा उनको जोड छ।

विगत ३९ वर्षदेखि हुलाक क्षेत्रमा कार्यरत जिल्ला हुलाक कार्यालय बझाङका निमित्त हुलाक अधिकृत रणबहादुर कडायतले विगत र अहिलेको हुलाक सेवामा आकाश र जमिनको फरक रहेको बताएका छन्। नेपालमा तीव्र मात्रामा भएको इमेल, इन्टरनेट, फ्याक्स र फोन विस्तारले जनता माझ हुलाकको विश्वास घटाएको उनको भनाइ छ। राज्यले पनि हुलाकप्रति त्यति धेरै उत्तरदायी भूमिका ननिभाएको उनले आरोप लगाएका छन्।

निमित्त क्षेत्रीय हुलाक निर्देशक डोटीका निर्देशक जितेन्द्र विश्वकर्मा संघीय संरचनामा देश गएसँगै हुलाकले पनि त्यहीअनुसार अगाडि बढ्ने बताए। आफूहरू हुलाक सेवालाई पूर्ण प्रविधिमैत्री बनाउन गइरहेको उनले तर्क गरे।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हुलाकको कार्यलाई परिमार्जन गरी अघि बढ्नु पर्ने धारणा राखे। देशमा तीन तहका सरकार निर्माण भइसेको उल्लेख गर्दै जोशीले अब सरकारले हुलाकको सेवाका बारेमा सोच्नु पर्ने अवस्था आएको बताए।

हुलाकमा चिठ्ठी पत्र आयात–निर्यातमा कमी

प्रविधिको विकाससँगै नेपाल सरकारको हुलाक सेवा ओरालो लाग्दै गएको छ। केही वर्ष पहिले र अहिले हुलाकमार्फत चिठ्ठी आदान प्रदान गर्ने कार्य सुस्ताउँदै गएको छ।

प्रदेश ७ का जिल्ला हुलाक कार्यालयमा कुनै समय व्यक्तिगत चिठ्ठी आयात निर्यात निकै ठूलो संख्यामा हुने गरेकोमा अहिले सरकारी चिठीपत्र मात्रै आदान प्रदान हुन्छन् भन्दा पनि खासै फरक नपर्ला। व्यक्तिगत चिठ्ठीपत्रहरू महिनामा कहिलेकाँही गन्य मात्रामा मात्रै आउने गरेको यहाँका निमित्त हुलाक अधिकृतहरू बताउँछन्।

हुलाक सेवालाई हाल विकसित प्रविधिले बिस्थापित गरिदिएपछि हुलाक कार्यालयमार्फत हुने चिठ्ठीपत्रहरूको संख्या निकै ओरालो लागेको उनीहरूको भनाइ छ। पछिल्लो समयमा भएको प्रविधिको विकास र निजी क्षेत्रको सेवाले सरकारी हुलाक सेवा खस्किदै गएको उनीहरूको बुझाइ छ।

जिल्ला हुलाक कार्यालय बाजुराका निमित्त हुलाक अधिकृत जंगवीर सुनारले विगतमा व्यक्तिगत चिठ्ठी आयात–निर्यात निकै ठूलो संख्यामा हुने गरेकोमा अहिले सरकारी चिठीपत्र मात्रै आदान–प्रदान हुने बताएका छन्। ‘हुलाकमा व्यक्तिगत चिठ्ठीपत्रको कमी भएको छ।’ उनले भने, ‘तर सरकारी चिठ्ठीपत्र घटेको अवस्था भने छैन।’

सुदूरपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय डोटीले आयोजना गरेको हुलाक सेवाको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक समिक्षात्मक क्षेत्रीय गोष्ठीमा प्रदेश ७ का जिल्ला हुलाक कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो। नेपालमा हुलाक सेवा वि.सं. १९३५ बाट हुलाक घरको स्थापना भई सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.