|

इनरुवा : धान रोपाइँ गर्ने मौसम सुरु भए पनि नहर र खेतमा पानी अभाव हुँदा सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई चिन्ताले सताएको छ। जिल्लाको विभिन्न नदी खोलामा बाढी आए पनि रोपाइँ गर्ने खेतमा पानी अभाव हुँदा यादवलाई चिन्ताले सताएको हो। उनीजस्तै जिल्लाका किसानहरूको समस्या एउटै छ। 

असार बित्न लागे भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ। जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी, देवानगञ्ज गाउँ, हरिनगरसहितका आधा दर्जन गाउँपालिकामा धान रोपाइँ गर्न समस्या भएको स्थानीय सीताराम यादवले बताए। 

जिल्लाका नदीखोलामा केही दिनयता बाढी आएको भए पनि रोपाइँ गर्न समस्या भएको गुनासो कृषकको छ। जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको दाबी गरे पनि नहर मर्मत नभएको, मर्मत भए पनि पानी नपुगेको र केही ठाउँमा नहर नै बगेकाले धान रोपाइँ गर्न समस्या भएको स्थानीय किसान वीरेन्द्र मेहताले बताए। जिल्लामा ५३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। 

समयमा धान रोपाइँ गर्ने खेतमा पानी नभएका कारण अब विकल्पका रूपमा भूमिगत पम्पसेट लगाएर भए पनि धान रोपाइँ गर्ने सोचमा रहेको कृषकहरू बताउँछन्। एकातर्फ मजदुर अर्कोतर्फ मल अभावको सामना गर्दै आएका कृषकले रोपाइँको समयमा धान रोप्ने खेतमा पानी नहुँदा झन तनाव बढेको बताएका छन्। 

धान रोपाइँ गर्ने बेलामा नहर भएको ठाउँमा समयमै पानी छोड्न उनीहरूले माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.