अपराध गरेर जागिर छाड्नेदेखि अवकाशपछि अपराधमा लाग्नेसम्म

|

काठमाडौं : ०७४ असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। हत्याका मुख्य सुटरको भूमिकामा थिए ३२ वर्षीया ‘बागमारे’ भनिने श्याम गुम्बे गुरुङ। स्थायी घर बाराको गढीमाई नगरपालिका-१ का गुम्बे यसअघि नेपाली सेनाका सिपाही थिए। नेपाल आर्मीको बर्दिया कालिबक्स गणबाट सेनाको जागिर छाडेर उनी अपराध दुनियाँमा लागेका हुन्। गौचनको हत्या गर्न दुई दिन अघिदेखि गुम्बेले उनको रेकी (गतिविधि याद गर्ने) गरेका थिए।

नयाँ बानेश्वरको एक पान पसलमा पान खाँदै गौचनको आऊजाउको रेकी गर्ने जिम्मा गुम्बेले पाएका थिए। दुईदिन रेकी गरेपछि तेस्रो दिन गुम्बेले गौचनलाई गोली हानी हत्या गरेका थिए।

गौचन हत्याकै अर्का सुटर थिए ‘काले भाइ’ भनिने अमर रानामगर गुम्बे र रानामगर नेपाल सेनाको जागिरमा हुँदादेखिका साथी हुन्। सेनाको जागिर छाडेर उनीहरू अपराधकर्ममा पनि सँगै लागेका थिए। उनीहरू हाल ज्यान मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।

त्यस्तै, ०७१ असार ११ गते कलंकीबाट पक्राउ परेका रमेश बाहुन भनिने सुजन पौडेल पनि नेपाली सेनाका सिपाही हुन्। सेनाको छाउनीस्थित रेन्जरगणका सिपाही रहेकै बेलादेखि उनी अापराधिक गतिविधिमा लागेका थिए। माओवादी युद्धका बेला सेनाको जागिर छाडेर उनी गुण्डा गर्दीमा लागेका थिए।

रामेछाप दुरागाउँ-७ का स्थायी बासिन्दा बाहुनले ललितपुरका अर्का डन भनेर चिनिने मीनकृष्ण महर्जनलाई ठेक्कापट्टाको कमिसन विवादमा ४ माघ ०७० मा धापाखेलमा गोली प्रहार गरेका थिए। गुण्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूलाई कमिसन नदिएपछि गोली हानेको बयान बाहुनले प्रहरीलाई दिएका थिए।

बाहुन हाल केन्द्रीय कारागार सुन्धारामा जेलजीवन भुक्तान गरिरहेका छन्। लागुऔषध, ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा कारागारमा रहेका उनी चल्तीका गुण्डा नाइके थिए। चार वर्षदेखि जेलजीवन भुक्तान गरिरहेका बाहुनको मुद्दा अझै अदालतमा विचाराधीन छ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन्। सेनामै कार्यरत रहेका समयदेखि अपराध गर्दै जागिर छाड्ने र कति सेवाबाट अवकाश प्राप्तपछि अपराध कर्ममा लागेका ६१ पूर्व नेपाली सेना हाल उपत्यकाको विभिन्न कारागारमा छन्।

यसमध्ये ५२ जना केन्द्रीय कारागार सुन्धारामा रहेको कारागार स्रोतको भनाइ छ। नौजना ललितपुरस्थित नख्खु कारागारमा रहेका छन्। विभिन्न अपराधमा संलग्न उनीहरू जेलजीवन भुक्तान गरिरहेका छन्। उपत्यकाका जेलमा रहेमध्ये सबैभन्दा बढी ज्यान मुद्दा र जबरजस्तीकरणी मुद्दाका अभियुक्तहरू रहेको कारागार स्रोतले बताएको छ। देशैभरको कारागारको तथ्यांक हेर्दा पूर्वनेपाली सेनामा कार्यरतहरूले गरेको अपराधको तथ्‍यांक भने बढ्ने देखिन्छ।

जागिर छाडेर अपराध दुनियाँमा किन रमाउछन् सेनाका जवान?

भन्छन् अनुशासनको खानी हो नेपाली सेना। तर, यी घटनाले सेनाको अनुशासनमाथि ठूलो प्रश्न चिह्‍न उठ्ने गरेको छ। प्रहरीका अनुसार सेनामा रहँदा सिकेको सीप केही सेनाका जवानले मिसयुज गर्ने गरेको देखिन्छ। ‘उनीहरूमा राष्ट्रसेवाभन्दा कसरी रातारात धनी बन्ने, धेरै पैसा कमाउने भन्ने लालशाले गर्दा अपराध दुनियाँमा फसेका देखिन्छन्,’ एक प्रहरी अधिकृतले भने।

हतियारको तालिम मिसयुज भएको हुन सक्छ : प्रवक्ता भण्डारी

सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार नेपाली सेनामा भर्ना हुँदा सबैको व्यवहारबारे अध्ययन गरिएको हुँदैन। उनी भन्छन्, 'भर्ना हुन्छन् भरपुर तालिम गर्छन्, अनुशासनमा बस्न सक्दैनन्। अनि जागिर छाडेर आपराधिक कर्ममा लाग्छन् त्यो उनीहरूकै अपराधिक मानसिकता हो' उनी थप्छन्, 'सेनाभित्र रहँदा हतियारबारे लिएका तालिम मिसयुज हुन सक्छ भनेर आफूहरूले धेरै काउन्सेलिङ गर्ने गरे कतिपय मानसको व्यवहारमा परिवर्तन हुन नसक्दा यस्तो हुने गरेको छ,' उनले भने।

सेनाको अधिकृत हुन उनीहरूको प्रवृत्तिबारेसमेत अध्ययन हुने गरेको प्रवक्ता भण्डारी बताउँछन्। तर, जवानहरूको भर्नामा भने कोही कसैको प्रवृत्तिबारे अध्ययन नगरिने हुनाले पनि यसको असर हुने गरेको उनको भनाइ छ। नेपाली सेनामा तालिम र अनुशासनबारे कडा नियम हुने तर सेवासुविधामा भने कमी हुने हुँदा सेनाको जागिर छाडेर आपराधिक गतिविधिमा संलग्न हुनेको संख्या बढ्दै गएको हुनसक्ने केही पूर्वसेनाका जवानहरूको धारणा छ। 

सेनामा चरम अनियमितता : पैसा लिएर औँला नभएका र गर्भवतीलाई भर्ना 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.