|

लहान  : सिरहाको मिर्चैया नगरपालिका–३ वीरपुर गाउँमा भएको पूजामा बजाइएको डिजे बन्द गरेको रिसइबीमा गाउँमा आएका जन्ती पक्षसँग झडप भएको छ। झडपमा  गाउँले चेलीको विवाहमा खटिएकासहित पाँच जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको गाउँलेहरुले पत्रकार सम्मेलन गरेर बताए। 

के हो घटना ?

मिर्चैया नगरपालिका–३ वीरपुर गाउँका श्रीराम यादवकी छोरी सञ्जन यादवसँग विवाहका लागि असार ११ मा गोलबजार नगरपालिका–८ चोहर्वाका सुरेश यादवका छोरा संजीव यादव जन्तीसहित राति ११ बजेतिर दुलहीको घरतिर जाँदै थिए। गाउँको प्रवेश विन्दुमै जय भनिने स्थानीय ओमप्रकाश यादवको घर छेउमा जीवछ यादव, पप्पु यादव, सते यादवलगायतले ‘जन्ती जान दिंदैनौ, राति आउने हो’ भन्दै रोकेपछि झडप भएको थियो।

स्थानी यअशेश्वर यादवका अनुसार झडपको क्रममा जन्ती पक्षका प्रायको भागाभागपछि बाँकी रहेका जन्ती, दुलहाका अभिभावक र दुलहा मध्यरातमा दुलहीको घर पुगे। झडपको क्रममा दुलही पक्षका शम्भु यादव, पवन यादव, विमल साह, अमित यादव, कासिन्द्र यादव घाइते भएपछि तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। त्यस्तै, जन्ती राेक्ने समूहका जयप्रकाश यादव र दिपेन्द्र यादवलाई पनि अस्पताल पुर्‍याएर उपचार गरिएको गाउँलेहरुको भनाइ छ। 

अस्पतालबाट नै पक्राउ

मध्यरातमा भएको झडपको क्रममा घाइते भएकामध्ये अशोक, समझ, जयप्रकाश र दिपेन्द्रलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले अस्पतालबाट नै पक्राउ गरेको गाउँलेहरुको भनाइ छ। त्यसको भोलिपल्ट असार १२ गते दुवै पक्षका गाउँलेहरु इलाका प्रहरीमा भेला भएपछि सते यादव र प्रभु यादवलाई राजनीतिक दवावमा छोडिए पनि दुलही पक्षका पवन, शम्भु, कासिन्द्र, अमित र विमलसहित पाँच जनालाई सार्वजनिक मुद्दा चलाइएको गाउँले चिरञ्जीवी यादवले बताए।

डिजे बन्द गराएको रिसइबी

गत वैशाखमा गाउँका सरोज यादवको घरमा भएको पूजामा ठूलो अावाजमा डिजे बजाएपछि प्रहरीले हस्तक्षेप गर्दै डिजेका सम्पूर्ण सामान नियन्त्रणमा लिएको थियो। त्यस लगत्तै राजनीतिक दबाबको आधारमा प्रहरीले नियन्त्रणमा लिएका सामान फिर्ता मात्र गराएको गाउँलेहरुको भनाइ छ। त्यही रिसइबी साँध्न गाउँमा आएको जन्तीलाई रोकेर झडप निम्त्याएको गाउँलेहरु बताउँछन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रमुखको रुपमा भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहले रिपोर्टिङ्को आधारमा घटनाको विषयमा आफूले सामान्य कुरा मात्र थाहा पाएको जानकारी दिए। उक्त घटनाको विषयमा प्रहरी निरीक्षक कैलाश चौधरी भन्छन्, ‘गाउँमा आएका जन्ती रोकेर हुलहुज्जत गर्नेहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएका हौं, मंगलबार जिल्ला प्रशासनमा पेश गरिएका उनीहरु जनही १०/१० हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.