|

काठमाडौं : उपाधिका भोका इंग्ल्यान्ड र क्रोयसिया यसपाली विश्व कपको फाइनलमा पुग्ने दोस्रो टोली बन्न बुधबार राति आमने–सामने हुँदैछन्। हुनत क्रोयसियाले स्वतन्त्र राष्ट्रको हैसियत पाएपछि पहिलो पटक सहभागिता जनाएको सन् १९९८ को विश्व कपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

त्यसपछि सो मुलुकले दोहराएर त्यही सफलता हासिल गर्न सकेन। इंग्ल्यान्डले अन्तिम पटक २८ वर्ष अगाडि सेमिफाइनलमा स्थान बनाएयता फेरी त्यही सफलता दोहराएको थिएन। त्यो पनि आधा शताब्दिभन्दा अझैअघि अर्थात सन् १९६६ मा मात्र एक पटक फाइनलको यात्रा तय गर्दा इंग्ल्यान्डले उपाधि नै जितेको थियो।

बुधबार इंग्ल्यान्ड र क्रोयसिया ९० मिनेटभित्रै जित निकाल्ने लक्ष्यसहित मैदानमा ओर्लने छन्। तर, नकआउट चरणममा डेनमार्क र आयोजक रुसलाई पेनाल्टिमा हराएको क्रोयसियाका खेलाडीहरुले ६ दिनको अन्तरालमा २४० मिनेट मैदानमा बिताइसकेका छन्। जसले प्रशिक्षक जाट्को डेलिकलाई केही चिन्तामा पनि पारेको हुनसक्छ, किनकी उनका खेलाडीहरुले पछिल्ला खेलमा चुस्तता नदेखाउने हुन् कि भन्ने भयले।

उता अन्तिम १६ मा कोलम्बियालाई पेनाल्टिमा हराएको इंग्ल्यान्डले अन्तिम ८ मा स्विडेनलाई निर्धारित समयमा नै हरायो। विश्व कप इतिहासमा इंग्ल्यान्डले पेनाल्टिमा जितेको पहिलो खेलसमेत त्यही थियो। यसअर्थमा हेर्ने हो भने इंग्ल्यान्डलाई अहिले फर्म रहेका खेलाडीहरुको मात्र होइन, भाग्यको पनि राम्रै साथ छ।
इमान्दारितापूर्वक भन्ने हो भने इंग्ल्यान्डका प्रशिक्षक गेरेथ साउथगेट र क्रोयसियाका प्रशिक्षक डेलिकले रुस आउनुअघि सेमिफाइनलसम्म स्थान बनाउने आशा समेत गरेका थिएनन्, होला। तर, अब उनीहरु उपाधिका तीन दावेदार मध्ये एक बनेका छन्। 

सेमिफाइनलसम्मको यात्रा तय गर्दा इंग्ल्यान्डको टोली निकै चुस्त देखिएको छ। यो विश्व कपको सर्वाधिक गोलकर्ता हेरी केनको अग्रतामा अगाडि बढ्ने आक्रामक पंक्ति होस् वा जोन स्टोन जस्ता रक्षापंक्तिका खेलाडी अनि निडर गोलरक्षक जोर्डान पिकफोर्ड, उनीहरु विपक्षी खेलाडीलाई नियन्त्रणमा राख्न सक्षम छन्। तर, क्रोयसियाको मिडफिल्ड पनि संसारका एकसेएक उत्कृष्ट खेलाडीले सजिएको छ। इंग्लिस प्रशिक्षक साउथगेट आपूm अहिले विपक्षीका हरेक खेलाडीको निगरानीमा रहेको खुलस्त बताउँछन्।

‘क्रोयसियामा निकै राम्रा खेलाडी छन्,’ उनी भन्छन् , ‘विशेषगरी मिडफिल्डमा खेल्ने खेलाडीहरु संसारकै उत्कृष्टमा पर्छन्,, हामी उनीहरुको खेल नियालि रहेका छौं। उनीहरु स्विडेन झैं बलिया टोली हुन् तर, हामी पनि कम छैनौं।’

मैदानमा क्रोयसियाको नेतृत्व रियल म्याड्रिडका आधारस्तम्भ मिडफिल्डर लुका मोड्रिकले सम्हालेका छन्। विश्व कपको मैदानमा पहिलो पटक भिड्न लागेका इंग्ल्यान्ड र क्रोयसिया नौला प्रतिद्वन्द्वि भने होइनन्। ठूला प्रतियोगितामध्ये अन्तिम पटक युरो २००४ मा आमने–सामने हुँदा ४–२ ले खेल इंग्ल्यान्डको पक्षमा गएको थियो। तर, त्यसको ४ वर्षपछि क्रोयसियाकै कारण इंग्ल्यान्ड युरो–२००८ मा छनोट हुन सकेन। तर, त्यसको दुई वर्षपछि नै क्रोयसियालाई रोक्दै इंग्ल्यान्ड सन् २०१० को विश्व कपमा छनोट मात्र भएन २ वर्ष अगाडिको पिडाको मिठो बदला पनि लियो। हालसम्म ती दुई टोली ७ पटक मैदानमा भिडेका छन्। जसमध्ये ४ पटक इंग्ल्यान्ड तथा २ पटक क्रोयसियाले बाजी मारेका छन्। एउटा खेल अनिर्णित टुंगिएको थियो।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक विराटकृष्ण श्रेष्ठ यसपालीको विश्व कप हेरेर मिठो आश्चर्यमा डुबेका छन्। अहिले विश्व कपका खेल हेर्दा उनी जितका लागि क्षमता र भाग्य दुवैको साथ चाहिने ठम्याइमा समेत पुगेका छन्। ‘अबको फुटबलको शैली बदलिएको छ, ११ एट्याक– ११ डिफेन्सको अवधारणा अघि आएको छ,’ उनी भन्छन्, ‘अहिले गोल गर्ने र गोलका लागि आधार तयार पार्ने क्षेत्र खेलाडीले भरिने गरेको छ। जसले गर्दा आत्मघाती गोलको संख्या समेत बढ्दो छ। हुनत सबैले गोल गर्न नदिने अनि आपूmले गोल गर्ने रणनीति नै बनाउँछन् नै।’

उनले मंगलबार राति खेलिएको खेलको उदारहण दिंदै भने, ‘फ्रान्स र बेल्जियम जस्ता आक्रमण रुचाउने टोलीले त डिफेन्समा ध्यान दिएर काउन्टरमा गोल गर्ने रणनीतिले खेले। यसले हेर्नेलाई फुटबलको वास्तविक स्वाद दिन सक्दैन। तर, हार्न को नै चाहन्छ र ?’

यद्यपि, उनको विचारमा बुधबार रातिको खेल ९० मिनेटभित्रै इंग्ल्यान्डको पक्षमा जानसक्छ। ‘हुनत क्रोयसिया पनि बलियो टोली हो तर, अहिले हेर्दा इंग्ल्यान्डको सम्भावना बलियो देखिन्छ। तर, यो विश्व कप कुनै भविष्यवाणी गर्न लायक भने छैन,’ हाँस्दै उनी भन्छन्।

‘हुनत क्रोयसियामा कम खेलाडी छैनन् तर अहिले इंग्ल्यान्डको टोली सबैक्षेत्रमा समान छ। क्रोयसिया मिडफिल्डमा केही बलियो देखिन्छ। क्रोयसियाको मिडफिल्डलाई रोक्नसके इंग्ल्यान्डले सहज जित हात पार्न सक्छ।’

यसपालीको विश्व कपले स्पष्टरुपमा युवा खेलाडीले भरिएको टोलीलाई सफलता दिलाइरहेको छ। यसअर्थमा इंग्ल्यान्ड केही हदसम्म क्रोयसियाभन्दा बलियो मान्नु पर्छ। इंग्ल्यान्डले अन्तिम पटक विश्व कपको सेमिफाइनलमा स्थान बनाउँदा अहिलेको टोलीका तीन–चौथाइ खेलाडी त जन्मिएका पनि थिएनन्। अहिले सेमिफाइनसम्म पुर्‍याउने खेलाडीमध्ये एक डेनी रोजको जन्महुनु एक दिन अगाडि मात्र ४ जुन १९९० मा क्यामरुनलाई हराउँदै इंग्ल्यान्डले अन्तिम पटक विश्व कपको सेमिफाइनलमा स्थान बनाएको थियो। यस्तै क्रोयसियाली टोलीका सबैभन्दा कान्छा खेलाडी डुज–कालेटा–कार मात्र १ वर्ष ९ महिनाको हुँदा सो टोलीले विश्व कपको सेमिफाइनल खेलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.