|

तिमी लड या नलड म त लडिरहन्छु

तिमी हिँड या नहिँड म त हिँडिरहन्छु

देशलाई तोड्ने मान्छे बढ्यो, देशलाई फोड्ने मान्छे बढ्यो ।।

०७२ सालमा नेपालको संविधान जारी हुँदा २९ दलीय गठबन्धनले आन्दोलन गरी रहेको थियो। संविधानले आफूहरूको अधिकारलाई सुनिश्चित नगरेको भन्दै मधेसी, आदिवासी, पिछडिएको वर्गको प्रतिनिधित्व गर्ने पार्टीहरूले संविधानविरुद्ध आन्दोलन गरिरहेका थिए। त्यही क्रममा २०७३ जेठ २५ गतेदेखि खुला मञ्‍चमा गठबन्धनले ३९ दिनसम्म रिले अनशन गरेको थियो। अनशनमा गठबन्धनमा सहभागी नेता तथा कार्यकर्ताको उपस्थित रहन्थ्यो।

लामो समयसम्म रिले अनशन बस्दा नेता तथा कार्यकर्ता दिक्क हुन्थे। त्यही क्रममा नेता तथा कार्यकर्तालाई एउटा उत्साह दिन केही नयाँ सिर्जना गर्नुपर्छ भन्ने लाग्यो गठबन्धनमा आबद्ध तत्कालीन गठबन्धनमा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झालाई। त्यही क्रममा उनले तयार गरे माथि उल्लिखित गीत।

खुला मञ्‍चमा लामो समय अनशन बस्नुपर्दाको हैरानीले दिक्क भएका नेता तथा कार्यकर्तालाई युवा नेता झाले तयार पारेको राष्ट्रभक्ति गीत र उनको सुमधुर स्वरले त्यहाँ उपस्थित नेता कार्यकर्तालाई मन्त्र‍मुग्ध बनायो। उक्त गीतले कार्यकर्ता तहमा निकै उत्साह ल्यायो। झाले गीत प्रस्तुत गर्न थालेपछि रिले अनशनमा सहभागीको संख्या पनि बढ्न थाल्यो। झा यसलाई आफ्नो एउटा सफलता मान्छन्। ‘मैले गीत गाउँदा कार्यकर्तामा एउटा उत्साह आउँथ्यो’, भन्छन्,‘उनीहरू केशव कतिबेला आउने हो भन्दै कुरेर बस्थे।’

हुन त झाले यो मात्र गीत गाएका भने होइनन्। उनले एउटा एल्बम नै निकालिसकेका छन्। हिन्दी र मैथिलि गरी करिब एक दर्जन गीत गाइसकेका छन् झाले। तर, राजनीतिका कारण उनी नेपाली सांगीतिक क्षेत्रमा ओझेलमै छन्।

००००

आज अलमलिएँ थोरै, किन ढाट्नु पिएँ थोरै

च्यातिएको जिन्दगानी, बेहोसीले सिएँ थोरै

माथिका गजलका शेर धीरेन्द्र प्रेमर्शीले रचना गरेका हुन्। यो गजललाई संगीत भरेका छन्, सुरेन्द्र श्रेष्ठले। उक्त गजलको सुमधुर आवाज हो संसदमा तेस्रो दल बन्न सफल राष्ट्रिय जनता पार्टी नेपाल राजपाका महासचिव झाको। राजनीतिमा जति प्रभावशाली छन् उनी त्यति नै सांगीतक क्षेत्रमा प्रभाव जमाउन सक्ने स्वर छ उनको। माथि उल्लिखित गजल झाको ‘पिएँ थोरै’ एल्बममा समावेश भएको गजल हो।

उक्त गजलमा ०६९ सालमा निकालिएको गजल एल्बम हो। एल्बममा ६ गजल समावेश छन्। तर, एल्बमले झाले सोचेजस्तो प्रगति गर्न सकेन। त्यसको कारण हो, आफ्नो मुख्य पाटो राजनीति हुनु। त्यसबेला मधेस आन्दोलन थियो। भर्खरै उनी महासचिव भएको पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीको संगठन विस्तार पनि गर्नुपर्ने थियो। त्यसकारण उक्त एल्बमले सोचेजस्तो बजार लिन सकेन।

‘एल्बम निकाल्न त निकालियो तर इच्छा मात्र पूरा गरेजस्तो भयो’, झा भन्छन्,‘विमोचन पनि गरेँ। दुर्भाग्य नै भन्नुपर्छ राजनीतिमा सक्रिय भएका कारण त्यति धेरै प्रचार गर्न पाइएन। टिम पनि भएन।’ उक्त एल्बममा समावेश गरिएका गजलहरूको भिडियो पनि झा आफैँले खर्च गरेर बनाए। यसबेला गरिब ६ लाख खर्च भएको थियो उनको। ‘त्यो एल्बम बजारसम्म पुर्‍याउन सकिनँ। त्यसकारण सोचेजस्तो भएन’, उनले भने,‘भर्खरै पार्टी स्थापना भएको थियो। संगठन निर्माणको जिम्मेवारी थियो। त्यसको प्रेसरले त्यतातर्फ ध्यान दिनै सकिनँ। बजारसम्म ल्याउनै सकिनँ।’

तर, उनको स्वर भएका गीतहरू अहिले पनि टेलिभिजन र रेडियोहरूमा कहिलेकाहीँ सुन्न पाइन्छ। उनले नेपाली मात्र होइन भोजपुरी गीत पनि गाएका छन्। ‘खेलाडी बल्मा’ भोजपुरी चलचित्रमा पनि उनले आवाज दिएका छन्। उनले मैथिलीका तीन एल्बमको विभिन्न गीत गाएका छन्।

राजनीतिक जीवनको सुरुवातीमा उनमा ‘संगीतको भूत’ निकै थियो। त्यसबेला काठमाडौंमा हुने सांस्कृतिक कार्यक्रम प्रज्ञाप्रष्ठिान, नाचघरलगायतमा हुने कार्यक्रममा उनी गीत गाइहाल्थे। उनले पशुपतिमा हुने कीर्तनमा भजन पनि धेरै गाए। त्यससमय दर्शक र श्रोताबाट  पाएको प्रतिक्रियाले उनलाई निकै उत्साहित बनाउथ्यो रे। ‘तपाईंको आवाज राम्रो छ। संगीतमा लाग्नुपर्छ भनेर संगीतका मेरा गुरुहरूले पनि भन्नुहुन्थ्यो र साथीहरूले पनि यसै भन्ने गरेका थिए’, उनले भने,‘राम्रो संगीतकार, रचनाकारको साथ भयो भने म पनि राम्रो गर्न सक्छुजस्तो लाग्छ मलाई।’

तर, राजनीतिका कारण उनमा पछिल्लो समय र संगीतप्रतिको ध्यान कम हुँदै गएको छ। संगीतको माया त छँदै छ तर राजनीतिक धपेढीले संगीतप्रतिको ध्यान क्रमश भंग हुँदै गएको छ। ‘सधैँ संगीतमा लाग्न पाउने भए धेरै राम्रो गर्न सकिन्थ्यो होला। तर, राजनीतिले गर्दा खासै त्यतातर्फ ध्यान हुँदैन। फेरि टिम पनि राम्रो पाएको छैन।’

विद्यार्थी कालदेखि नै आन्दोलनमा भएका कारण पनि उनलाई अहिलेसम्म आन्दोलनले छाडेको छैन। संगीतिक यात्राको पहिलो खुड्किला टेक्दै गर्दा ०६२\६३ को जनआन्दोलन सुरु भयो। त्यसपछि भएका मधेश आन्दोलन, नयाँ पार्टी गठन र संविधान निर्माणपछिका आन्दोलनमा उनी सक्रिय रहे। त्यसपछि एक वर्षअघिबाट पार्टीको संगठन निर्माणको जिम्मेवारी छ। एक वर्षअघि ६ मधेसकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको महासचिवको जिम्मेवारीमा छन् उनी। अब पार्टीको महाधिवेशन नजिकिँदै गएकाले पनि महाधिवेशन नसकिएसम्म संगीतबारे सोच्नसमेत फुर्सद छैन उनीमा।

उनले एल्बम निकाले पनि आफूचाहिँ त्यति सन्तुष्ट छैनन्। भन्छन्,‘रहर त पूरा गरियो। तर, गीत गाउँदा जति मजा आउनुपर्ने हो त्यति आएको छैन। मैले राम्रो संगीतकार र गीतकार भेटेँ भने म योभन्दा धेरै राम्रो गर्न सक्छु।’

संगीतभन्दा समाजसेवामै केन्द्रित

उनी संगीतभन्दा पनि राजनीतिबाट समाजसेवामै बढी केन्द्रित छन्। उनलाई गयाकभन्दा पनि धेरैले राजनीतिकर्मी भनेरै चिन्छन्। यस अर्थमा उनी आफू गायकभन्दा पनि राजनीतिकर्मीकै रूपमा जनतामाझ चिनिन चाहन्छन्। ‘मलाई नजिकबाट चिन्ने साथीहरूले यो गीत पनि गाउछ भनेर चिन्छन्’, झा भन्छन्,‘ तर जनताले भने मलाई एउटा समाजसेवी र राजनीतिकर्मीको रूपमा मात्र चिन्छन्।’

भविष्यमा अझै एउटा राम्रो गीत गाउने उनको चाहना छ। ‘ मेरो इच्छा पनि भविष्यमा एउटा राम्रो गीत निकालौँ भन्ने हो’, उनले भने,‘एउटा राम्रो संगीतकार, गीतकार भेटेँ भनेँ म गाउन सक्छु।’ हरेक मानिसमा एउटा विशेषता हुन्छ। यही विशेषतामध्ये गायन आफ्नो विशेषता रहेको उनी बताउँछन्। ‘हरेक मानिसमा एउटा विशेषता हुन्छ। त्योमध्ये मेरो गायन हो’, भन्छन्,‘तर मेरो मुख्य कर्मचाहिँ समाजसेवा र राजनीति नै हो।’

सांगीतिक यात्राको सुरुवात

उनको गीत\संगीतप्रतिको रुचि दाङबाट सुरु भएको हो। उनी सानैदेखि विद्यालयमा हुने सांस्कृति कार्यक्रममा भाग लिने गर्थे। ०५५ सालताका उनी दाङमा प्रमाणपत्र तहको अध्ययन गर्दै थिए। त्यसबेला त्यहाँ पशुपतिनाथ संगीतकला प्रतिष्ठानको स्थापना भयो। त्यहीबेलादेखि उनले संगीतको कक्षा लिन सुरु गरे।

त्यसपछि उनी ०५७ सालमा उच्च शिक्षाका लागि काठमाडौं आए। काठमाडौंमा त्यसै विद्यालयको केन्द्रीय कार्यालय थियो। पशुपति मन्दिरछेउमै रहेको उक्त विद्यालयमा उनले फेरि कक्षा सुरु गरे।

त्यो संस्था चलाएका थिए कमल क्षत्रीले। उनी शास्त्रीय संगीतमा निकै नाम चलेका प्रशिक्षक हुन्। करिब एक वर्ष संगीत सकेपछि क्षत्री बिरामी परे। त्यो संस्थाको जिम्मेवारी नै झाको काँधमा आयो। उनले संस्था व्यवस्थापन गर्दै दुई वर्षको डिप्लोमा सके। करिब पाँच वर्ष संस्था चलाएपछि उनलाई समय दिन निकै समस्या पर्‍यो। राजनीतिमा रहेका उनले समय निकाल्न समस्या परेपछि राजनीतिमै सक्रिय भएर अघि बढे।

संगीतकै कारण राजनीतिमा सफलता

संगीत नसुन्ने र मन नपराउने सायदै होलान्। मान्छेले सुखमा होस् या दुखमा संगीत सुनेकै हुन्छ। संगीतप्रति समर्पित व्यक्ति निकै धैर्य हुन्छ। संगीतमा लागेका अधिकांश मान्छेको मन कोमल हुन्छ। केशव पनि यस्तै प्रकृतिका छन्। उनी निकै सहयोगी छन्। उनी यो सबै देन आफ्नो सांगीतिक साधनाको भएको बताउँछन्।

संगीतमा लागेका कोही पनि पूर्वाग्रही हुँदैनन्, सबैप्रति समान दृष्टिकोण राख्छन् भन्ने उनको बुझाइ छ। भन्छन्,‘संगीतमा लागेका मान्छे धैर्य हुन्छन्। उनीहरूले सबैलाई समान व्यवहारले हेर्ने गर्छन्।’

उनले संगीतमा सिकेका कुरालाई आफ्नो जीवनमा पनि लागू गर्ने गरेका छन्। ‘म त संगीतमा सिकेका ज्ञानलाई आफ्नो जीवनमा लागू गर्दै आएको छु’, भन्छन्,‘राजनीति जीवनमा जे जति सफलता आएको छ यो सबै संगीतको देन हो भन्ने लाग्छ मलाई।’ संगीत आध्यात्मसँग जोडिएको हुन्छ। त्यसकारण सबैलाई समान रूपले हेर्ने शक्ति झामा छ। उनलाई सामाजिक सेवा पनि यही संगीतले सिकाएको दाबी गर्छन्।

राजनीति र संगीत एकअर्काप्रति अन्तरसम्बन्धित हुने उनी बताउँछन्। भन्छन्,‘ राजनीति र संगीत एकअर्काप्रति अन्तरसम्बन्धित हुन्छ। कम्युनिस्ट पार्टीहरू यति सफल र चर्चित गीत\संगीतले  नै भएका हुन्। यसलाई हामीले पनि अब अनुशरण गर्नुपर्छ।’

संगीतमा निकै ठूलो शक्ति हुने उनको बुझाइ छ। ‘संगीतमा यस्तो ठूलो शक्ति हुन्छ। ढुंगाजस्तो मन पनि संगीतले नै पगालिदिन्छ’, उनले भने। संगीतले मानिसलाई अनुसाशित र एकअर्काप्रति सम्मान गर्न सक्ने बनाउने उनको बुझाइ छ। भन्छन्,‘संगीत तयार गर्दा विभिन्न वाद्यवादन चाहिन्छ। हार्मोनियम, गिटार, बाँसुरी सारंगी आदि। संगीत हरेक प्रकारको बाजाको समिश्रणबाट बन्छ। हाम्रो समाज पनि विविधतायुक्त छ। संगीतले हाम्रो समाजलाई एकअर्काप्रति घुलनशीलता सिकाउछ।’

आफू संगीतमा डुब्दै गर्दाको अनुभव नै छुट्टै हुने उनी बताउँछन्। संगीतमा डुब्दै  गर्दाको अनुभव नै बेग्लै हुन्छ’, उनले भने,‘यो सांसरिक मायाभन्दा माथि रहेजस्तो। आनन्दको अनुभूति, तनावमुक्त यस्तै, यस्तै...’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.