|

इलाम : व्यवसायिक पशुपालनमा अब्बल इलाममा वार्षिक रूपमा ८५ करोड रुपैयाँ बढीको दुग्धजन्य उत्पादन हुने गरेको छ। इलाममा चिज, घ्यू, छुर्पी, ललीपप र पनिर गरी वार्षिक १७ लाख १३ हजार ५०० किलो दूधजन्य परिकार सरदर ५०० रूपैयाँको दरले वार्षिक रूपमा ८५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको दूधजन्य परिकारको कारोबार हुने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जिल्लामा गत आवको तुलनामा चालु आवको ११ महिनाको अवधिमा १.८ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ। गाई, भैँसी र चौँरीको गरी एक लाख २३ हजार ७४० मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ।

यो गत आवको तुलनामा दुर्इ हजार १७८ मेट्रिक टनले बढी हो। गत आवमा एक लाख २१ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएको थियो। व्यवसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको पाएको छ।

आव ०७१/०७२ मा एक लाख २१ हजार ५४३, आव ०७०/७१ मा एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। पशुपालन व्यवसायमा किसानको संख्या बढ्नुका साथै कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार र उन्नत जातका घाँस खेतीले दूध उत्पादनमा वृद्धि भएको पशुसेवा कार्यालयका प्राविधिक डिगबहादुर कार्कीले जानकारी दिए। 

इलाममा उत्पादित दूधबाट किसानले गतवर्ष चार अर्ब ७० करोड ६१ लाख रूपैयाँ आर्जन गर्न सफल भएका थिए। यहाँ उत्पादित दूध दैनिक ३६ हजार लिटर विराटनगरस्थित दुग्ध वितरण संस्थानमा निर्यात हुँदै आएको कार्कीले जानकारी दिए। निजी स्तरबाट दैनिक २० हजार लिटर दूध इटहरी निर्यात हुने गरेको छ। इलाममा दूधको मूल्य सरदर ३८ देखि ४० रुपैंयाँ प्रतिलिटरले बिक्री हुने गरेको छ।

जिल्लाका ५५ हजार बढी किसानले व्यावसायिक गाईपालन गर्दै आएका छन्। त्यसका लागि टिओसेन्टी, जै, सुडान, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत जातका घाँस लगाइएको छ। दुग्ध विकास संस्थान विराटनगरले दूध संकलनका लागि इलाम नगरपालिकाको बिब्ल्याँटे र पुवाखोला, देउमाइ नगरपालिकाको शान्तिडाँडा, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र फिक्कल तथा रोङ गाउँपालिकाको कुट्टीडाँडामा दुग्ध चिस्यान केन्द्र स्थापना गरेको छ।

विभिन्न दुग्ध सहकारीमार्फत ती केन्द्रहरूमा दूध संकलन भएर विराटनगर निकासी गरिन्छ। यातायातको पहुँच नपुगेको ठाउँमा भने स्थानिय स्तरमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले उत्पादित दूध खपत गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.