|

काठमाडौं : डा. जागेश्वर गौतम बरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन्। तीन हजारभन्दा बढी महिलालाई मृत्युको मुखबाट बचाउन सफल डा. गौतम हरेक दिन १२ घन्टाभन्दा बढी समय बिरामीसँगै हुन्छन्। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख समेत रहेका डा. गौतमले बिरामीबाहेक अस्पतालको प्रशासकीय काममा समेत समय दिनु पर्ने हुन्छ। जसले गर्दा उनको दैनिकी व्यस्त हुन्छ।

व्यस्तताबीच उनले कसरी अाफ्ना लागि समय दिएका छन्? स्वास्थ्यलाई कसरी ख्याल गर्दै अाएका छन्? यसबारे डा. गौतमसँग थाहाखबरले गरेको कुराकानी प्रस्तुत छ।

ब्रेकफास्टमा स्याउ र कर्नफ्लेक्स

म हरेक दिन ६ बजे उठ्छु। र, ७ बजेसम्म नुवाइधुवाइ गरिसक्छु। त्यसपछि ब्रेकफास्ट लिन्छु। ब्रेकफास्टमा एउटा स्याउ कहिल्यै कहिल्यै टुट्दैन। यसका साथै चिनीसहितको एक गिलास दूधमा कन्फ्लेक्स मिलाएर खान्छु। करिब साढे ७ बजे घरबाट निस्किएर सिधै ओम अस्पताल पुग्छु। अस्पतालमा पुग्ने बित्तिकै अप्रेसन गर्नु पर्ने रहेछ भने अप्रेसन गर्छु। नभए अोपीडीमा बिरामी हेर्छु। करिब पौने ९ बजे ओम अस्पतालबाट सिधै थापाथली अस्पताल पुग्छु।

व्यायाम कहिल्यै गर्दिनँ

मैले आजसम्म व्यायाम तथा योगा गरेको छैन। पहिले–पहिले मन्त्रालय हुँदा समय भएमा मर्निङ वाक जाने गर्थें। तर, अहिले समय अभावले गर्दा जान भ्याउँदिन। बिहानदेखि नै अस्पतालमा तलमाथि गर्दा नै मेरो व्यायाम हुन्छ। बिरामीको हिस्ट्री लिने र चेकअप गर्ने ठाउँ फरक–फरक ठाउँमा भएकाले अस्पतालमै दिनमा तीन/चार किलोमिटर हिँड्छु। यस्तै, अप्रेसन गर्दा धेरै समय उभिनु पर्ने हुन्छ। जसले गर्दा मलाई आवश्यक पर्ने व्यायाम त्यसैले पुग्छ भन्ने लाग्छ।

अस्पतालमै बिहानको खाना

बिहान करिब साढे ७ बजे घरबाट निस्किएपछि खाना खानैको लागि घर जादिन। मैले घरमा बिहानको खाना नखाएको २५ वर्ष भइसक्यो।  बिहानको खाना सधैं अस्पतालको क्यान्टिनमा खाना खान्छु। मलाई दालभात तरकारी मन पर्छ। तर, एक दुई पिस मासु, हरियो सागसब्जी र दही  टुट्दैन। बिदाको दिन घर बस्दा बाहेक दिउँसोको खाजा कहिल्यै खाँदिन। पछिल्लो समय ओपिडी धेरै नबस्ने भए पनि अप्रेसन र अफिसियल काममा समय बित्छ।

दिनभर अस्पतालको प्रशासनिक काम र अप्रेसनमा बिताएर बेलुका चार /पाँच बजे फेरि ओम अस्पताल पुग्छु। त्यहाँ पुग्ने बित्तिकै एक कप चिया खान्छु। बिरामी हेर्न तथा अप्रेसन गर्न लाग्छु। यति गर्दागर्दै बेलुकाको आठ /नौ बजे हुन्छ। बाहिर मिटिङ तथा कार्यक्रममा नगएको दिन राति आठ /नौ बजेपछि घर पुग्छु।

घर पुग्ने बित्तिकै फलफूल

बिहान घरबाट ब्रेकफास्ट लिएर साढे ७ मा निस्किएपछि एकै पटक रात आठ /नौ बजे घर पुग्छु। घर पुग्न बित्तिकै सबैभन्दा पहिले सिजनअनुसारको फलफूल खान्छु। प्राय: स्याउ, केरा, आँप खाँदै आधा घण्टा जति अाराम गर्छु। त्यसपछि टिभी हेर्छु। टिभिमा प्राय: समाचार हेर्ने गर्छु।

आधा घण्टा जति टिभी हेरेपछि करिब ९ बजे खाना खान्छु। बिहानको खाना घरमा नखाने हुनाले बेलुकाको खाना परिवारसँगै खान मन पर्छ। बेलुकाको खानामा दूध कहिल्यै टुट्दैन। सानैदेखि दूधभात खाएर हुर्किएकाले होला मलाई दूधभात मन पर्छ।

पढाइलाई दुई घण्टा

बेलुका खाना खाएपछि करिब दुई घण्टा पढाइलाई दिन्छु। पढ्नुको अलवा युट्युबमा अप्रेसनसम्बन्धी भिडियोहरु हेर्ने गर्छु। भोलि अलि गम्भीर केसको अप्रेसन गर्नु छ भने त्यसक लागि जानाकारी लिन पनि त्यस्ता भिडियो हेर्न गर्छु। पहिले–पहिले फेसबुक अलि धेरै चलाउँथे। तर, पछिल्लो समय कम हेर्ने गर्छु। राति साढे १२ बजे सुत्छु।

देश घुम्ने रहर

उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। त्यसैले वर्षमा एक पटक १५/ २० दिन काठमाडाैं उपत्यकाबाहिर घुम्न जाने गर्छु। मलाई देशबाहिर भन्दा देशभित्रैका ठाउँ घुम्न मन पर्छ। प्राय: पोखरा, बुटवल जान मन पर्छ। यस्तै, वर्षमा एक दुई पटक केही कार्यक्रममा भाग लिन विदेश जाने मौका मिल्छ। यसरी विदेश जाँदा समय मिलाएर केही रमाइला ठाउँहरू हेर्न जाने गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.