|

जनकपुरधाम : प्रदेश-२ सरकारले छलफलको लागि प्रदेशसभामा टेबल गरेको प्रहरी ऐनको दलित समुदायले विरोध प्रदर्शन गरेका छन्। प्रहरी ऐनमा सरकारले गरेको आरक्षणप्रति असन्तुष्टि जनाउँदै दलित अगुवाले बुधबार प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेको हो।

दलित अधिकार परिषद्ले ‘समानुपातिक र समावेशिताको नारा दिँदै आएको मधेश केन्द्रित दलहरू सत्तामा पुगेपछि स्वार्थमा लिप्त हुँदै गएको आरोप लगाउँदै परिषद्का प्रवक्ता भोला पासमानले भने,  ‘प्रदेश सरकारले ल्याएको प्रहरी ऐन दलितमैत्री भएन, संघीयता जगमा स्थापित प्रदेश-२ को सरकारले दलितमाथि यतिसम्म विभेद गर्छ, भने हामीले सोचेका थिएनौँ, प्रदेश सरकारले दलितहरूको अधिकार कटौती गरे हामी ८ वटै जिल्ला ठप्प पार्छौँ।’

देश तथा मधेशमा भएको हरेक अधिकार प्राप्तिको आन्दोलनमा दलित समुदायको सहभागिता उल्लेख्य रहे पनि सरकार समावेशी सिद्धान्त नारामा मात्र सीमित राखेको आरोप लगाउँदै प्रदेश-२ मा ६.६१ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातीलाई १५ प्रतिशत तर १७.२९ प्रतिशत जनसंख्या रहेको दलितलाई जम्मा ७ प्रतिशत आरक्षण मात्र दिनु विभेदको नमूना भएको बताए।

प्रदेश सभा भवन घेराउ क्रममा परिषदका संयोजक राजाराम पासवानले मधेशवादी दलले समानुपातिक तथा समावेशीताको नारा घन्काएर सरकारमा पुगेका मधेश केन्द्रित दलहरू ठूला दलहरूभन्दा धेरै बेइमान भएको आरोप लगाए। संयोजक पासवानले सरकारले गठन गरेको नीति आयोगदेखि प्रहरी ऐन दलित विरोधी रहेको भन्दै यथाशीघ्र सुधार नगरिए सरकारविरुद्ध कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए।

यसैगरी दलित आयोगमा सदस्यको योग्यता दलितको हकमा स्नात्तक गरेको र कार्य अनुभवमा गैर सरकारी र सरकारी संस्थामा काम गरेको हुनुपर्ने व्यवस्था गर्नसमेत माग गरेको छ। प्रदेशसभा घेराउ क्रममा संघीय समाजवादी फोरम नेपाल निकट राष्ट्रियसभा सदस्य रामपृत पासवानलाई प्रहरीले हातपात गरेको भन्दै उनीहरूले प्रहरी प्रशासनविरुद्ध समेत नारावाजी गरेका थिए।

दलित अगुवाहरूले प्रदेशसभा भवन अगाडि नाराबाजी गरिरहदा प्रदेशका आन्तरिक तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रहरी ऐनमा भएको त्रुटी सच्याउन पुनः समितिमा पठाइसकेकोले दलितको माग पूरा हुने विश्वस्त पारेका थिए। उनले भने, ‘जनसंख्याको आधारमा सामनुपातिक समावेशी नीति र सिद्धान्तको आधारमा प्रत्येक मधेशी, दलित, मुस्लिमलगायतको माग पूरा हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.