|

विराटनगर : प्रदेश-१ सरकारले साउन महिनाभित्रै प्रदेशको नाम र राजधानीको विषय टुंगो लाग्ने बताइरहेका बेला पार्टीका शीर्ष नेताले सहमतिमा जोड दिएका छन्।

प्रदेशसभा गठन भएको ६ महिनाभित्र प्रदेशको नाम र राजधानीको टुंगो लगाउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले तयारी गरिरहेको छ। उक्त तयारीको विषयमा प्रतिक्रिया दिँदै नेकपाका नेता भीम आचार्यले प्रदेशको नाम र राजधानीको विषय छलफलबाट टुंगो लाग्ने बताए। ‘प्रदेशको नाम सगरमाथा राख्ने अधिकांश सांसदको धारणा बुझेको छु,’ आचार्यले भने, ‘राजधानीको विषय केही विवादित जस्तो देखिएपनि अन्तिमसम्ममा सहमतिमा टुंगो लाग्छ भन्ने विश्वास छ।’

यस्तै नेकपाकै नेता सावित्री काफ्लेले पार्टीभित्र प्रदेशको निर्णय गर्ने कार्यदलकै टुंगो लगाउने विषयमा छलफल केन्द्रीत भएको कारण अन्य विषयमा छलफल गर्न नपाएको बताइन। उनले पार्टी कमिटिको टुंगो लागेसँगै दुर्इ/चार दिनपछि कार्यदलको बैठक बसेर राजधानी र नामको विषयमा छलफल गर्ने बताइन्। ‘कार्यदलको टुंगो लगाउने विषय नै हाम्रो पार्टीका लागि अहिले महत्वपूर्ण भएको छ,’ काफ्लेले भनिन्, ‘कार्यदलको टुंगो लगाएर २/४ दिनभित्र बैठक बस्छौं र छलफल गर्छौं।’ काफ्लेले पार्टीले आधिकारिक निर्णय नगरेसम्म व्यक्तिगत धारणा व्यक्त गर्न नहुने बताइन्।

नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले सबै विषय सहमतिका साथ गर्नुपर्नेमा जोड दिए। ‘प्रदेश सरकारले पनि सहमतिकै आधारमा यि विषयको टुंगो लगाउन खोजे जस्तो देखिएको छ,’ कोइरालाले भने, ‘हामी पनि अनौपचारिक रुपमा सांसदहरू र जनताको राय लिने काम भइरहेको छ, १/२ दिनमा संसदीय दलको बैठक बसेर निर्णयमा पुग्छौं।’

कोइरालाले प्रदेशको नाम सबैको चित्त बुझ्ने किसिमको हुनुपर्ने र राजधानी पनि सबैलाई पायक पर्ने हिसावले तोक्नुपर्ने बताए। ‘हामी छलफल नगरी यही हुनुपर्छ भन्न सक्दैनौं,’ कांग्रेसको धारणा के हो भन्ने प्रश्नमा कोइरालाले भने, ‘अहिले व्यक्तिगत धारणा भन्ने भन्दा पनि पार्टीको औपचारिक धारणा सरकारले प्रस्ताव ल्याएपछि सार्वजनिक गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.